काठमाडौं। बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बाहिरिँदा शेरबहादुर देउवालाई स्वागत गर्न केही सयको संख्यामा कांग्रेस नेता कार्यकर्ता पुगेका थिए।
झन्डै ५ महिनापछि नेपाल फर्किएका देउवालाई स्वागत गर्न पुराना प्राय सबै कांग्रेस नेताहरु पुगे। खुमबहादुर खड्का, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, मोहेन बस्नेतलगायत नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए। देउवालाई रोड सो गराइयो। केही बेरमा देउवाले जंगिदै भने : ज्ञानेन्द्रले त सकेनन् अरु कसैले सक्छ ?

नेताहरुले देउवालाई संस्थापन इतर पक्षले चुनिखेलमा खोलेको पार्टी कार्यालय पुर्याएका थिए जहाँ उनलाई पार्टी सभापती नेम प्लेट लेखिएको कोठाभित्र छिराएको थियो। त्यति मात्र होइन देउवा बसेको टेबलमा सभापती शेरबहादुर देउवा भएको नेम प्लेट पनि लेखियो।
उपचारका लागि श्रीमतीसहित सुटुक्क थाइल्यान्ड हिँडेका देउवालाई फर्कँदा जुन स्वागत गरियो र जसरी सभापतीको कुर्सीमा लगेर राखियो यसले नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ स्तरमा देखिएको छ। र यसका संकेत केही समययता देखिन थालेका थिए।
अब पार्टी नेतृत्व हस्तान्तरण गर्छु भनेर बसेका देउवाको सक्रियता किन एकाएक बढ्यो अझ भनौँ संस्थापन इतर पक्षले फेरी पनि किन उनको नेतृत्व आवश्यक महसुस गर्यो, यसले आागमी दिनमा अर्थ राख्ने छ। देउवा जेनजी आन्दोलनपछि सार्वजनिकरुपमा पहिलोपटक यसरी चर्को रुपमा प्रस्तुत भएका छन्। मानौँ, उनी नयाँ शक्ति जम्मा गरेर आएका छन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने आफ्नै फैसला सर्वोच्च अदालतले पुनरावलोकन गर्ने निर्णय गरेपछि देउवा पक्ष उत्साही देखिन्छ। यसअघि थापा पक्षले विशेष महाधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको थियो। त्यसविरुद्ध तत्कालिन सभापती, कार्यबहाक सभापती निर्वाचन आयोग र अदालत पुगेका थिए।
तर आयोग र अदालत दुवैले थापा नेतृत्वलाई आधिकारिकता दिएपछि देउवा पक्ष जिल्लिएको थियो। चुनावमा थापा नेतृत्वले देउवा पक्षीय नेतालाई समेत टिकट दिएर समेटेर लैजाने प्रयाश गरेका थिए। पार्टीको नमिठो पराजयमा देउवा पक्षले पनि भूमिका खेलेको बुझाई थापा नेतृत्वको छ। यतिबेला फैसला पुनरावलोकनको आदेशपछि देउवा पक्ष थापा समूहले गरेको विशेष महाधिवेशन अवैध ठहर हुने विश्वास लिइरहेको छ।
यसअघि पार्टीको नयाँ नेतृत्वका लागि आकांक्षि देखिएका देउवा पक्षका पूर्णबहादुर खड्का र उनको समूह यतिबेला देउवालाई अगाडि सार्न खोजिरहेको देखिन्छ।


