काठमाडौं: के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री आज पठाउँदै छ।

यस पहिलो चरणको राहत अभियान अन्तर्गत ३० लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो पहिलो चरणको सहयोग पठाउन लागिएको ग्रुपले जनाएको छ।
गहुँको पिठो र खाने तेल, बिस्कुट, चिउरा, दालमोठ र विभिन्न मसलाहरू पठाउन लागिएको हो। वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ।
संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ।


