काठमाडौं । आचार्य श्रीनिवासले आफूलाई ‘विवादित’ व्यक्तिका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन्। अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई निरन्तर अपमानित गर्ने काम भइरहेको उनको गुनासो छ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै आचार्य श्रीनिवासले आफूलाई विवादित भन्नुको आधार स्पष्ट पार्न चुनौती दिए। उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीतिमा रहेकाहरूलाई सुध्रिन आग्रहसमेत गरे।

‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस्,’ उनले भने। जेनजी शहिद स्मृती कार्यक्रममा उनलाई अतिथी बनाएर राखिएपछि चर्को आलोचना भएको थियो।
आचार्य श्रीनिवासले आफू धर्मका नाममा रकम उठाउने नभई सहयोग गर्ने गुरु भएको दाबी गरे। आफूले कसैलाई ठगेको वा गलत काम गरेको प्रमाण भए देखाउन चुनौती दिँदै उनले अदालतबाट सफाइ पाइसकेको विषयलाई लिएर आफूलाई विवादित बनाइरहनुको औचित्य नभएको बताए।
‘ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि विवादित पनि भन्रे ? मैले कसको के बिगारिदिएँ ?’ उनले प्रश्न गरे।
जेनजी परिवारको आग्रहमा आफू कार्यक्रममा सहभागी भएको दाबी गर्दै उनले कार्यक्रम व्यवस्थापनमा समेत सहयोग गरेको बताए। उनका अनुसार टेन्ट, पन्डाल र साउन्ड सिस्टमलगायत व्यवस्थापनमा आफूहरूले करिब ६ देखि ७ लाख रुपैयाँ खर्च गरेका थिए।
‘हामीलाई सरकारले होइन, जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको हो,’ उनले भने, ‘मलाई जन्म दिने आमाको कसम, मलाई विवादित भनिरहे म भाषण मात्रै हैन, शासनमा पनि आउने छु।’
आचार्य श्रीनिवासले आफू भिक्षा मागेर हिँड्ने साधु नभएको उल्लेख गर्दै आश्रममा गाईपालनबाट हुने आम्दानीमार्फत विद्यार्थीलाई पढाउने गरेको बताए।
‘म भिक्षा मागेर, भीख मागेर हिँड्ने गुरु होइन । म इलम गरेर, मेहनत गरेर गाईको गौशालामा गाईको गोबर सोरेर गाईको दूध बिक्री गरेर डेरीमा मेरो आश्रममा विद्यार्थीहरू पढाउने गुरु हुँ,’ उनले भने।
आफूलाई निधारमा तिलक लगाउने, धार्मिक पहिरन लगाउने र राजसंस्थाको समर्थन गर्ने भएकै कारण विरोध गरिएको आरोप पनि उनले लगाए। आफूले राजालाई अभिभावक मान्ने भए पनि नेपालको नागरिकका रूपमा आफ्नो धारणा राख्ने अधिकार रहेको उनको भनाइ थियो।
‘म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने गुरु हुँ। म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो,’ उनले भने।


