काठमाडौं — सरकारले ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेसँगै नेपाली पूँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ। अर्थ मन्त्रालयले ल्याएको २१ बुँदे कार्ययोजनाले बजारमा तरलता विस्तार, लगानी वृद्धि तथा पूँजी बजारको पुनरुत्थानलाई प्राथमिकता दिएको छ।

बाढीपहिरो लगायतका प्राकृतिक विपत्तिका कारण अर्थतन्त्र र जलविद्युत क्षेत्रमा परेको असरलाई सम्बोधन गर्दै बजारलाई चलायमान बनाउने उद्देश्यले कार्ययोजना ल्याइएको हो। कार्ययोजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ।
सोमबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ९.१९ अंक, फ्लोट इन्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१३ अंकले वृद्धि भएका छन्।
बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा यस दिन ३४७ स्टकको ७८ हजार ८६९ पटकको कारोबारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस क्रममा २ करोड ३ लाख ८७ हजार कित्ता शेयर कारोबार भएको हो।
धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४।९६ प्रतिशतले बढेको छ। त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत र मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य ९।५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबारमा आएको एभरेष्ट बैंकको अपरिवर्तनीय ऋणपत्रको मूल्य भने सर्वाधिक ५।५५ प्रतिशतले घटेको छ।
कारोबार रकममा रिलायन्स स्पिनिङ्ग अगाडि
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
सबै उपसमूहमा हरियाली
यस दिन नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। निर्जीवन बीमा उपसमूह सर्वाधिक २.८२ प्रतिशतले बढेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहका परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।


