काठमाडौं — कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपालले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी डबल बी प्लस (इस)’ रेटिङलाई बढाएर ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ कायम गरेको हो।
केयर रेटिङ्स नेपालको मापदण्डअनुसार ‘केयर-एनपी ट्रिपल बी माइनस (इस)’ रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न संस्थासँग मध्यम स्तरको सुरक्षा रहेको र संस्थाले मध्यम स्तरको क्रेडिट जोखिम वहन गर्ने जनाउँछ।
बैंकका अनुसार पूँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा आएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन, मुनाफामा सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको हो।

रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप मजबुत हुने बैंकको अपेक्षा छ। यसले बैंकको वित्तीय सबलता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ।
त्यस्तै, स्तरोन्नतिपछि प्रतिस्पर्धी लागतमा स्रोत परिचालन, संस्थागत निक्षेप विस्तार तथा व्यावसायिक साझेदारी बढाउन थप सहज हुने बैंकको विश्वास छ।
बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री र दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै दीर्घकालीन संस्थागत सुदृढीकरण तथा व्यवसाय विस्तारमा जोड दिइरहेको जनाएको छ।
केयर रेटिङ्स नेपालको वेबसाइटमा रेटिङसम्बन्धी विस्तृत परिभाषा तथा विवरण उपलब्ध रहेको बैंकले जनाएको छ।




