काठमाडौं- साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार २० अंकभन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ११.९६ अंकले बढेर २ हजार ५७८.७३ बिन्दुमा पुगेको हो।
बजार परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७५ अंकले उकालो लागेका छन्।
तर, नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ।

मंगलबार ३५९ वटा स्टकको ४१ हजार ६०७ पटक कारोबार हुँदा ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन्।
कारोबारमा आएका कम्पनीमध्ये त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा भने घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
मंगलबार १३ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचक घटेको छ। यससँगै अघिल्लो दिनको गिरावटपछि मंगलबार बजारमा सामान्य सुधार देखिएको हो।




