काठमाडौंं : कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघका करिब ६० जना भन्दा बढी महिला चिकित्सकहरूमा वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापन सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चिकित्सक संघको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षकहरुले प्रस्तुतीकरण, अन्तरक्रिया तथा व्यावहारिक सहजीकरण मार्फत सहभागी महिला चिकित्सकहरूलाई वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरेका थिए । डा. सुजिता हिराचनले चिकित्सकहरूका लागि वित्तीय व्यवस्थापन, बजेट निर्धारण तथा कर व्यवस्थापनको आवश्यकता र महत्व बारे प्रकाश पारिन्।

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विषयमा अनुपमा सङग्रौला तथा बैंकको तर्फबाट डिजिटल अपरेशन विभागका प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्य कान्त न्यौपानेले सहजीकरण गरे । उनिहरुले सहभागी चिकित्सकहरूलाई व्यक्तिगत वित्तीय योजना, बजेट निर्माण, बचत, लगानी, कर व्यवस्थापन तथा दीर्घकालीन वित्तीय सुरक्षालगायतका विषयमा व्यावहारिक जानकारी दिए।
कार्यक्रमका अध्यक्ष तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले चिकित्सकहरूले आफ्नो पेशासँगै वित्तीय व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।
उनले चिकित्सकहरूको व्यावसायिक जीवनसँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय ज्ञान र व्यवस्थित वित्तीय योजना महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रम संयोजक डा. निशा आचार्यले महिला चिकित्सकहरूका लागि वित्तीय साक्षरता महत्वपूर्ण र आवश्यक विषय भएकाले यस्ता कार्यक्रमले आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन्।
महिला चिकित्सकहरूको व्यावसायिक विकाससँगै उनीहरूको आर्थिक सशक्तीकरण र वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूलाई आफ्नो आम्दानीको उचित व्यवस्थापन, भविष्यका लागि वित्तीय योजना निर्माण तथा आर्थिक निर्णय लिन थप सक्षम बनाउने बैंकले विश्वास लिएको छ ।
बैंकले वित्तीय पहुँच वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि नेपाल सरकारले लिएको लक्ष्यको प्राप्तिका निम्ति विभिन्न कार्यक्रमहरु आगामी दिनमा सञ्चालन गर्ने प्रतिबद्धता समेत बैंकले जनाएको छ ।




