काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका विल बोसिस्टोले कीर्तिमानी ६ विकेट लिएपछि मंगलबार कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ।
त्रिवि क्रिकेट मैदानमा बोसिस्टोले ६ विकेट लिएपछि पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्स १६.३ ओभरमा एक सय ३ रनमा अलआउट भएको थियो। पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको पोखराविरुद्ध बोसिस्टोले चार ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए।

जारी प्रतियोगितामा कनै पनि बलरले एकै खेलमा यति धेरै विकेट लिएका थिएनन्। पोखरा एभेन्जर्सका आन्द्रेस गौसले २५, रेमन रैफरले २०, दिनेश खरेलले २६ तथा कप्तान कुशल भुर्तेल र विपिन खत्रीले १०/१० रन बनाए।
कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। गुल्सन झाले ३७ बलमा ४ छक्का र तीन चौकासहित नटआउट ४९ रन जोडे। विकेटकिपर चाडविक वाल्टनले पनि ४२ रन बनाए।
यो जितपछि कर्णाली ५ खेलबाट ६ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। चार खेल खेलेका पोखरा र विराटनगर किङ्सको समान २/२ अंक छ। ४ खेलबाट जनकपुर बोल्ट्सको ८, सुदुर पश्चिम रोयल्सको ६ र ५ खेल खेलेको चितवन राइनोजको ६ अंक रहेको छ।



