काठमाडौं। पोखराको सुदर्शन सहकारीको बचत अपचलन गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती, सांसद तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध झन्डै ३० करोड रुपैयाँ बिगो माग गर्दै मुद्धा दायर भएका छन्।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की पुर्याइएका लामिछानेविरुद्ध सहकारी ठगी र शम्पत्ती शुद्धिकरण अभियोगमा झन्डै ३० करोड रुपैयाँ बिगो मागेर आइतबार कास्की जिल्ला अदालतमा मुद्धा दायर भएको छ। सहकारी ठगीतर्फ एक अर्ब ५१ करोड ४० १९ हजार एक सय ९४ तीन पैसा कुल बिगोमध्ये रवि लामिछानेको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ रहेको दावी गरिएको छ।

यस्तै सम्पत्ती शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो दावी गरिएको छ। त्यति मात्र हैन, रवि र उनकी श्रीमतीको नाममा रहेको दुईवटा जग्गा र बैंक बचत समेत जफत हुनुपर्ने माग गरिएको छ।
सम्पत्ती शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग दायर भएपछि रवि लामिछाने संघीय सांसदबाट निलम्बनमा परेका छन्। सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम उनी निलम्बन भएका हुन्। कम्तिमा यो मुद्धाको किनारा अर्थात फैसला नहुँदासम्म उनी निलम्बन हुनेछन्। त्यति मात्र होइन यो मुद्धामा रवि पत्नीलाई सम्पत्ती जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
रवि र निकिताको नाममा रहेका दुई ठाउँका जग्गा जफत गर्न माग गरिएको छ। प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार रवि र निकिताको बैक बचत करिब ७ लाख ७५ हजार रुपैयाँ मात्र छ। सम्पत्ती शुद्धिकरण मुद्धामा रविविरुद्ध बिगोको दोब्बर अर्थात झन्डै ५६ करोड रुपैयाँ जरिवाना मागिएको छ।
रविविरुद्ध सम्पत्ती शुद्धिकरणको बिगो तयार गर्दा चारवटा डाटालाई आधार मानिएको छ। सुदर्शन बचत तथा रिण सहकारी संस्थाबाट जिबी राईको बैक खातामा जम्मा भई उक्त खाताबाट रवि लामिछानेको खातामा जम्मा भएको ७५ लाख, सुर्यदर्शन बचत तथा रिण सहकारी संस्थाबाट रवि लामिछानेको नाममा पेश्की आएर गोर्खा मिडियामा जम्मा भएको ५० लाख रुपैयाँ, उक्त सहकारीबाट रवि लामिछानेको नाममा गोर्खा मिडियालाई चेकमार्फत भुक्तान भएको ५० लाख रुपैयाँ र गोर्खा मिडियामा रवि लामिछाने रहँदा उक्त सहकारीबाट आएको २६ करोड १४ लाख ४४ हजार ७ सय ५ रुपैयाँलाई बिगोको रुपमा दावी गरिएको छ।
रवि गोरखा मिडियामा रहँदा उनी र पत्नी निकिताको बैंक खातामा २८ करोड ९१ लाख 36 हजार ९ सय ६८ रुपैयाँ जम्मा भएको र २९ करोड ७ लाख ८४ हजार ४ सय ६१ रुपैयाँ १५ पैसा भुक्तान भएको दावी गरिएको छ।

