काठमाडौ– सर्वेन्द्र खनाल सहभागी पछिल्ला कार्यक्रमहरु त्यहाँ उनले बोल्ने विषयहरु सुन्दा सर्वेन्द्रले आफुलाई सामाजिक अभियन्ताका रुपमा अगाडि सारिरहेको अनुमान लगाउन सकिन्थ्यो। दुई वर्षअघि औपचारिक रुपमा एमाले प्रवेश गरेका नेपाल पुलिसका पूर्व प्रमुख अनि सेलिब्रेटी अफिसर खनाल त्यसरी बोलिरहेका थिएनन् जसरी एउटा जिम्मेवार पार्टीको जिम्मेवार नेता बोल्छ।
बरु उनी अहिलेका कथित सामाजिक अभियन्ताहरु जसरी जल्दो बल्दो विषयमा आफ्ना कुराहरु राखि हाल्न इच्छुक देखिन थालेका थिए। पछिल्लो समय युट्युबमा यत्रतत्र भेटिने उनका भाषणहरुबाट त्यसलाई सजिलै बुझ्न सकिन्थ्यो।
यहीबीचमा सर्वेन्द्रले आइतबार बिहानै आफु कुनै पार्टीमा आबद्ध नरहेको खुलासा सामाजिक सन्जालमार्फत गरिदिए। नेपाल प्रहरीको पूर्व आईजिपि भएको र विभिन्न घटनाक्रमबीच एमाले भित्रिएका कारण सर्वेन्द्रको उक्त घोषणा राष्ट्रिय मिडियाहरुमा प्रमुख हेडलाइन बने।
कुनै समय देशको शान्ती सुरक्षाको नेतृत्व गरेका र त्यसअघि प्रहरीभित्र सेलिब्रेटी छवी बनाएका खनाल अहिले सत्ताको नेतृत्व गरिररहेको एमालेलाई बाई बाई गरेर किन राजनीतिको चौबाटोमा पुगे ?२०७९ असोज ६ गते केपी शर्मा ओलीले पार्टी कार्यलयमा एक कार्यक्रमबीच सर्वेन्द्रलाई औपचारिक रुपमा एमाले भित्र्याएका थिए। सर्वेन्द्र खनालको पार्टी प्रवेश त्यतिबेला हुँदै थियो जतिबेला ठिक दुई महिनापछि प्रतिनिधि सभा निर्वाचन हुँदै थियो।
चुनावमा टिकट पाउने आशमा सर्वेन्द्रले एमाले प्रवेश गरेको सन्देश दिँदै थिए भनेर अनुमान लगाउन गाह्रो थिएन। त्यो सम्भावना किन थियो भन्नेबारे केही बेरमा चर्चा गरौँला। एमाले भित्रिएका सर्वेन्द्रलाई पार्टी अध्यक्ष ओलीले यति धेरै पत्याए की काठमाडौं क्षेत्र नम्बर ६ को टिकट दिए जहाँ नेपाली कांग्रेसका भीमसेन दास प्रधान लड्दै थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएका शिशिर खनालको चर्चा त्यति धेरै थिएन। अघिल्लोपटक यो ठाउमा माओवादी र एमालेको गठबन्धन उमेद्धवार झक्कुप्रसाद सुवेदीलाई भीमसेनले करिब एक हजार मतान्तरले हराएका थिए। यसपटक भीमसेनलाई माओवादीको समर्थन थियो।
सर्वेन्द्रले चुनाव जित्नु र प्रहरी नेतृत्व गर्नु अलग रहेछ भन्ने तब बुझे जब रास्वपाका खनाल झन्डै ६ हजार मतान्तरले सांसद निर्वाचित भए। देशको एक ठुलो पार्टीमा प्रवेश गरेलगत्तै संसद र्छिन टिकट पाएका खनाललाई नमिठो झड्का लाग्यो। तर उनले संसद प्रवेश गर्ने दोस्रो मौका पाए।
तनहुबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपती बनेपछि त्यस ठाउमा भएको उपनिर्वाचनमा एमालेले सर्वेन्द्रलाई टिकट दियो। तनहु सर्वेन्द्रको गृह जिल्ला भएकाले एमालेले उनीमाथी फेरी एकपटक विश्वास ग¥यो। तर रास्वपा प्रवेश गरेर टिकट पाएका डा स्वर्णिम वाग्लेसग खनालले लज्जास्पद हार ब्यहोरे। वाग्लेले झन्डै ३५ हजार मत पाउदा खनालको भागमा करिब साढे ८ हजार मात्र मत खस्यो।
त्यसयता केही समय गुपचुप बसेका सर्वेन्द्र पछि सामाजिक अभियन्ताका रुपमा प्रस्तुत हुन थाले। कतिसम्म भने अपराधका भइरहेका अनुसन्धानमा उनी यस्तो र उस्तो हुनुपर्ने भनेर बोल्न थाले। त्यसरी अगाडि आउने थालेपछि सवेैन्द्र युट्युबरहरुको घेराभित्र देखिनेक्रम बढ्न थालेको थियो। कुनै ठुलो विषय उठ्यो की सर्वेन्द्रले त्यसमा आफ्ना विचार व्यक्त गरेका भिडियोहरु सामाजिक सन्जालहरुमा छ्यापछ्याप्ती हुन थालेका थिए। पछिल्लो समय सहकारी ठगिका विषयमा सरकारविरुद्ध उनका उत्तेजक अभिव्यक्तीहरु सुुनिने गरेका थिए।
आईजिपी भइसकेको र सेलिब्रेटी छवी बनाएका खनाल जसरी सार्वजनिक रुपमा प्रस्तुत भइरहेका थिए त्यसले जो कोहीलाई पनि अचम्मित पार्नु स्वभाविक थियो। ३० वर्ष प्रहरी सेवामा रहेर, संगठनको नेतृत्वसम्म पुगेका उनी दुईवटा निर्वाचनमा पराजित भएपछि के चाहिरहेका थिए, सार्वजनिक रुपमा देखिइरहन चाहने इच्छा थियो वा भोलीको दिन सोचेर गरिरहेका थिए भन्ने अहिले नै छुट्याउन गाह्रो छ।
यहा तपाईहरुले बुझ्नुपर्ने के छ भने खनालले एमालेबाट दुईपटक प्रतिनिधि सभा चुनाव लड्ने टिकट पाएपनि पार्टीको जिम्मेवारीमा देखिएका थिएनन्। तनहुमा पनि पराजित भएपछि उनी बेग्लै बाटोमा देखिएका थिए। सर्वेन्द्र खनालजस्तो व्यक्तीले छाडेको भन्दै एमालेको आलोचना भइरहेको छ। एमाले नेताहरु भने खनाल पार्टीको साधारण सदस्यसमेत नभएको बताइरहेका छन्।
अब जाउँ एमालेमा सर्वेन्द्र खनाल कहिले देखि थिए भनेर। नेपाल प्रहरीमा एउटा भनाई चर्चामा छ सरकार जस्को, पार्टी उसकै किनभने सरकारसँग मिलेर प्रहरीले काम गर्नुपर्छ। यता सरुवा र बढुवा राजनीतिक नेतृत्वले गर्ने भएकाले सामान्य दर्जादेखिका प्रहरीले शक्ति केन्द्रसँग सम्पर्क र सम्बन्ध राख्ने गरेको पनि टिप्पणी सुनिने गर्छ।

संयोग नै मानौँ, जति बेला सर्वेन्द्र खनाल एसएसपीबाट डीआईजीमा एक नम्बरमा रहेर बढुवा भए , त्यो बढुवाको ९ महिनामै आईजिपी बन्ने भएकाले डीआईजीमा पहिलो नम्बरमा को बढुवा हुन्छ भनेर चासोपूर्वक हेरिएको थियो।
रमेश खरेललाई पछाडि धकेल्दै सर्वेन्द्र खनाल पहिलो नम्बरमा डीआईजी बने। पछि खरेललाई नै सरकारले आईजिपी नियुक्त गर्यो। आफुलाई अन्याय भएको भन्दै रमेश खरेलले राजिनामा दिए। यस्तै घटनामा तत्कालिन डीआईजी नवराज सिलवालले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए।
संगठनभित्र एमालेनिकट भनेर चिनिएका नवराज सिलवालले पछि मुद्धा हारेपछि राजिनामा दिए। एमालेले उनलाई पार्टी प्रवेश मात्र गराएन, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सांसद निर्वाचित पनि भए।
यता प्रहरीको सरुवा बढुवामा हस्तक्षेप गरेको भन्दै सँधै शक्ति केन्द्रविरुद्ध खह्रो उत्रने गरेका रमेश खरेल राजिनामापछि अन्य कुनै पार्टी प्रवेश गरेनन्। भष्ट्रचारविरुद्ध एउटा नाम लिएर अभियान सुरु गरे। आईजिपीबाट अवकाश भएपछि एमाले नजिक भएर खुल्न थालेका सर्वेन्द्रलाई त्यसयता पटकपटक विवादले पछ्याइरह्यो। कैले सांसदको राजनीतिक अपहरणमा एमालेलाई सघाएको आरोप खेपे भने कहिले सुन तस्करसँग साँटगाठ रहेको भनेर मिडियाका हेडलाइन बने।
संयोग नै मान्नुपर्छ, सर्वेन्द्रले गत प्रतिनिधि सभामा निर्वाचन लडिरहेका बेला उनका आईजिपी प्रतिस्पर्धी रमेश खरेल पनि काठमाडौंको चुनावी मैदानमा थिए। तर दुवै पराजित भए।
नवराज सिलवालले पनि यसपटक हारे। उपनिर्वाचनमा सर्वेन्द्र खनाल मात्र होइन, बारामा रमेश खरेल पनि उठेका थिए। तर खरेलको हविगत पनि खनालकै जस्तै भयो। सवेन्द्र खनालले आइतबारको स्टाटसमा एमालेको नाम नलिई आफु कुनैपनि राजनीतिक दलमा आबद्ध नरहेको उल्लेख गरेका छन्। जसमा एमाले समर्थकहरुले उनको आलोचना गरेको देखिन्छ र त्यसविरुद्ध खनाल प्रतिवादमा पनि उत्रिएका छन्।

