आप्रवासी विरोधीका रुपमा चिनिएका डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाको ४७ औँ कार्यकारी प्रमुखका रुपमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकी नितिहरुमा व्यापक हेरफेर हुने सकेत बाहिर आएका छन्। तीमध्ये सबैभन्दा बढी चर्चामा छ आप्रवासी सम्बन्धी ट्रम्पले लागु गर्न लागेको नयाँ नीति।
यही कारण यतिबेला अमेरिकामा रहेका एक करोड ३० लाख बढी अवैध आप्रवासी र अमेरिका प्रवेश गर्न मेक्सिकन सिमामा कुरिरहेका लाखौँ मानिसको निद् हराम भएको छ। गार्जियन, रोयटर्सजस्ता विश्व चर्चित सन्चार माध्यमले अमेरिकामा आप्रवासीहरु किन संकटमा पर्दैछन् भनेर समाचारहरु प्रकाशित गरिरहेका छन्।

सुरु गरौँ सिबिपी वन फोन एप बन्द गरिएको विषयबाट। अमेरिकामा बसिरहेका अवैध आप्रवासी र अमेरिका प्रवेश गर्न सिमावर्ती मेक्सिकन बोर्डरमा कुरिरहेकालाई अमेरिकी इमिग्रेसनसँग सम्पर्क गर्ने सुत्र थियो सिबिपी वन फोन एप। यही अनलाइन एपबाट उनिहरु प्रवेश अनुमती र बसोबास अनुमतीका लागि इमिग्रेसन अफिसरहरुसँग सम्पर्क राख्थे। ट्रम्पले राष्ट्रपतीको जिम्मेवारी सम्हालेलगत्तै यो सेवा बन्द गरेका छन्।
गार्जियनका अनुसार सिबिपी वन फोन एप बन्द भएपछि यसले तत्कालका लागि कम्तिमा करिब ३ लाख मानिसहरु प्रभावित भएका छन्।
३० हजार भन्दा बढी अमेरिकी इमिग्रेसनसँग अपोइनमेन्ट लिएर बसेका थिए भने २ लाख ७० हजार जना अपोइनमेन्टका लागि अप्लाई गर्न खोजिरहेका थिए। तीमध्ये अधिकांश मेक्सिको बोर्डरमा महिनौँदेखि बसिरहेका थिए। स्थल मार्गबाट अमेरिका प्रवेश गर्न प्रयोग हुने गरेको मेक्सिकोसँग सिमा जोडिएको दक्षिणी बोर्डरमा ठुलो संख्यामा ट्रम्पले सुरक्षाकर्मीहरु परिचालन गरेका छन्।
अमेरिकामा रहेका अवैध आप्रवासीहरुमध्ये त्यहाँ वैध रुपमा पुगेर ओभर स्टे भएर बस्नेहरु छन् भने अर्कातर्फ अवैधरुपमा प्रवेश गरेर बस्नेहरु पनि छन्। त्यसरी अवैध रुपमा प्रवेश गर्नेहरु दक्षिण सिमा अर्थात मेक्सिकोबाट छिर्ने गरेका छन्।
छिर्दाछिर्दै पक्राउ पर्नेहरुसहित सिमामा पुगेकाहरुले अमेरिका छिर्न असाइलम र रिफ्युजीका लागि सिबिपी वन फोन एपबाट अपोनमेन्ट लिने गरेका थिए। ट्रम्प दक्षिण बोर्डरबाट एक जनालाई पनि प्रवेश गर्न नदिने र अवैध रुपमा बसिरहेकाहरुलाई आफ्नै देश फर्काउने योजनामा छन्।
सेन्टर फर माइग्रेसन स्टडिज अर्थात सीएमएसका सन् २०२३ को जुलाईसम्म अनडकुमेन्टेड अर्थात अवैधरुपमा बसिरहेका मानिसहरुको संख्या एक करोड १७ लाख थियो।
या त इलिगलरुपमा प्रवेश गरेकाहरु हुन् या लिगल रुपमा पुगेर ओभर स्टेसहित अन्य अध्यागमन सम्बन्धी कानुन तोडेर इलिग बनेका हुन्।
सन् २०२३ को जुलाईको तथ्यांकअनुसार अमेरिकामा अनडकुमेन्टेड मानिसहरुको संख्या एक करोड १७ लाख थियो। सन् २०२२ को तुलनामा करिब ८ लाख संख्या बढेको सीएमएसको रिपोर्ट छ। अमेरिकी कम्युनिटी सर्भे र करेन्ट पपुलेसन सर्भेका आधारमा सीएमएसले उक्त रिपोर्ट प्रकाशित गरेको देखिन्छ।
रोयटर्सका अनुसार हाल अमेरिकामा अवैध आप्रवासीको संख्या एक करोड ३० देखि एक करोड ४० लाखसमम् हुन सक्छ।
सन् २०२० को जुलाईसम्म अमेरिकामा अनडकुमेन्टेड मानिसहरु एक करोड एक लाखको हाराहारीमा थिए। सेन्टर फर माइग्रेसन स्टडिजले सन् २०२३ को जुलाईसम्मको तथ्यांकलाई आधार मानेर तयार गरेको रिपोर्टअनुसार अमेरिकामा इलिगल बस्ने आप्रवासीहरुमा सबैभन्दा बढी मेक्सिकनहरु छन्। उनिहरु ४६ लाखको हाराहारीमा छन्। दक्षिण अमेरिकीहरु १२ लाख, मध्य अमेरिकीहरु २८ लाख र अन्य महादेशबाट आउनेहरु ३१ लाख रहेका छन्।
अमेरिकाको सरकारी एजेन्सी यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन-सीबिपीलाई उदृत गर्दै यूएसए फ्याक्ट्सको रिपोर्टमा सन् २०१९ अक्टोबरदेखि देखि २०२४ जुन को बीचमा करिब एक करोड ११ लाख जना मानिसहर सिमामा आएर अमेरिका प्रवेश गर्न कुरेर बसेको वा प्रवेश गर्न खोज्दाखोज्दै पक्राउ गरेको उल्लेख भएको देखिन्छ।
यसमा अवैध रुपमा अमेरिका छिर्न सफलहरुको तथ्यांक भने समावेश छैन। यूएस कस्टम्स एन्ड बोर्ड प्रोटेक्सनकाअनुसार सन् २०२३ को डिसेम्बरमा मात्र ३ लाख ७० जना मानिसहरु बोर्डमा आएर अमेरिका प्रवेश गर्ने प्रतिक्षामा बसेका र प्रवेश गर्न खोज्दा पक्राउ परेका थिए। त्यसको मतलब त्यो महिना दैनिक १२ हजार जना अमेरिकाको सिमामा पुगिरहेका थिए।
अमेरिकामा कति मानिसहरु अवैध रुपमा प्रवेश गरे भन्ने यकिन तथ्यांक छैन। तर यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सनले सन् २०१८ देखि सन् २०२० बीचमा अमेरिका छिर्न खोज्ने हरेक सयजनामध्ये ७८ जनालाई बाटोमै नियन्त्रणमा लिएको अनुमानित तथ्यांक बताएको यूएसए फ्याक्ट्सको सामग्रीमा उल्लेख छ।
अमेरिकाको बोर्डमा पुगेर अमेरिका प्रवेश गर्न खोज्नेक्रममा नियन्त्रणमा लिइएका वा सिमामा पुगेर प्रवेश गर्न निवेदन दिनेमध्ये पछिल्लो तीन वर्षमा २८ लाख मेक्सिकनहरु छन्।
यतिबेला अमेरिकामा रहेका आप्रवासीहरु निराश हुने अर्को कारण हो जन्मका आधारमा नागरिकता पाउने सवैधानिक व्यवस्थाविरुद्ध ट्रम्पले ल्याएको अध्यादेश जसले कानुनी रुपमा अमेरिका बसिरहेका आप्रवासीहरुलाई पनि बेचैन बनाइरहेको छ। त्यसो त उनले यसअघि पनि अमेरिकामा रहेका आप्रवासीहरुलाई आफ्नो देश फर्कन सन्देश छाड्दै आएका थिए।
अमेरिकी संविधानको चौधौ संसोधनले अमेरिकामा जन्मिएको आधारमा त्यहाँको नागरिक हुने व्यवस्था गरेको थियो। यही कानुनी व्यवस्थालाई टेकेर अमेरिकाको भिजा भएका आप्रवासीहरु बच्चा जन्माउनकै लागि भएपनि त्यहाँ पुग्ने गरेको हामीले विभिन्न समाचार र रिपोर्टहरुमा पढ्दै आएका थियौँ।
तर ४७ औँ राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले अमेरिकामा एक सय ५० वर्षदेखि रहेको यो संवैधानिक व्यवस्थासँग बाझिने गरी अध्यादेश ल्याएका छन्। ट्रम्पको नीति छ-अब अमेरिकामा जन्मिएकै आधारमा मात्र कोही पनि अमेरिकी नागरिक हुने छैन। ट्रम्पले बच्चा जन्माउनकै लागि विदेशी महिलाहरु अमेरिका आउने गरेको टिप्पणी गर्दै आएका थिए।
रोयटर्सका अनुसार ट्रम्पले ल्याएको अध्यादेशले कस्ता आप्रवासीका सन्तानले नागरिकता नपाउने भन्नेबारे स्पष्ट व्यवस्था गरेको छ। आमा अमेरिकामा गैह्र कानुनी रुपमा रहेको र बुबा अमेरिकी नागरिक नरहेको वा पीआर नभएको भएमा जन्मका आधारमा उनिहरुका सन्तानले नागरिकता पाउने छैनन्। यस्तै आमा विधार्थी वा टुरिस्टजस्ता अस्थायी भिजामा आएको र बुबा अमेरिकी नागरिक नभएको वा पीआर नभएको अवस्थामा पनि उनिहरुका सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्। ट्रम्पको यो अध्यादेशविरुद्ध अदालतमा मुद्धा परिसकेको छ।
डेक्रोक्रेटिक सांसदहरुको बाहुल्य रहेको १८ वटा राज्य र डिस्ट्रिक अफ कोलम्बियाले ट्रम्प प्रशासनले ल्याएको जन्मजात नागरिकताविरुद्धको अध्यादेशलाई लिएर मासाचुसेट्सस्थित फेडेरल कोर्टमा मुद्धा हालेका छन्। उक्त अध्यादेश कार्यान्वयन रोक्न उनिहरुको माग छ। यदी अदालतले निवेदकको पक्षमा आदेश गरेमा ट्रम्पले आफ्नो नीतिलाई कार्यान्वयनमा ल्याउन संविधान नै संसोधन गर्नुपर्ने छ। अमेरिकाको दुवै सदनको २ तिहाईले ट्रम्पको पक्षमा मत हाल्नुपर्ने हुन्छ। साथै राज्य सभाका ३ चौथाई बहुमतले पनि पारित गर्नुपर्ने रोयटर्सले उल्लेख गरेको छ। त्यसका लागि केही वर्षसम्म पनि समय लाग्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। अमेरिकामा सन् १९९२ देखि संविधान संसोधन भएको छैन। रोयटर्सका अनुसार ट्रम्पले ल्याएको अध्यादेश संविधानसँग नबाझिने अवस्था पनि रहेको कानुन विद्हरु ब्याख्या गरिरहेका छन्।

