काठमाडौ : अखिल नेपाल फुटबल संघ–एन्फाले सिनियर राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोसलाई नियुक्त गरेको छ। स्रोतका अनुसार एन्फाले एक वर्षका लागि रोसलाई नियुक्त गरेको हो।
एन्फाले नेपाली टोलीको प्रमुख प्रशिक्षक बन्न विशेष गरी दुईवटा न्युनतम मापदन्ड तोकेको थियो। पहिलो प्रो लाइसेन्स कोच हुनुपर्ने र दोस्रो व्यावशायीक फुटबलमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने।
४ सय ५ जना आवेदकमध्ये अस्ट्रेलियन रोसले बाजी मारेका हु्न्। रोस कुनै समय लाइन्सम्यान थिए, स्कुल टिचर थिए र बस ड्राइभर पनि। तर उनै रोस सहायक प्रशिक्षक हुदा जर्मन महिला फुटबल क्लब फ्रान्कफर्टले सन् २०१५ मा महिलातर्फको युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो।
सन् २०२२ मा दक्षिण कोरिया महिलातर्फ एसियन कपको फाइनल पुग्दा रोस त्यसको टोलीको सहायक प्रशिक्षक थिए। सन् २०२३ मा दक्षिण कोरिया रोसलाई नै सहायक प्रशिक्षक बनाएर अस्ट्रेलियामा महिला विश्वकप खेल्न पुगेको थियो। त्यहा दक्षिण कोरिया नकआउट चरणसम्म पुगेको थियो।
यो त भयो रोसले व्यावशायीक फुटबलमा हात पारेका सफलताको सारांश। सन् २०२३ को विश्वकपअघि अस्ट्रेलियाको फ्रन्टपेज फुटबल डट नेटले रोससग कुरा गरेर उनको प्रोफाइल छापेको भेटिन्छ जसमा उनको विगतलाई केलाईएको छ।
रोस अस्ट्रेलियाको न्युकासलमा जन्मिएका हुन्। एमेच्योर फुटबल खेल्दै थिए उनको मन रेफ्री गर्नेतर्फ तानियो। १३ वर्षको उमेरमा उनको ध्यान मोडियो। विस्तारै उनी नेसनल सोकर लिगमाा लाइन्सम्यान बनेँ। पछि उनी रेफ्री गर्न रमाएनन् र फेरी खेल्न थाले।
तर घुडाको चोट लागेपछि उनी फेरी मोडिनुपर्ने अवस्था आइपर्यो। त्यतिबेला उनी शिक्षक बन्ने विषय लिएर विश्वविधालय पढ्दै थिए। सन् २००० मा डिप्लोमा पुरा गरेपछि उनी फुलटाइम वाला शिक्षक बने। त्यही बेला उनले पार्ट टाइम फुटबल कोच पनि बन्न थालेका थिए। साना केटाकेटीलाई फुटबल सिकाउथे।
उनी विस्तारै शिक्षणभन्दा कोचिङमा बढी रमाउन थाले। सन् २०११ मा श्रीमतीलाई समेत शिक्षण पेशा छाड्न लगाएर, आफुसग भएको कारलगायत सम्पत्ती समेत बेचेर रोस प्रशिक्षक बन्न सपना पुरा गर्न जर्मनी पुग्छन्। त्यहा स्थानीय क्लबहरुलाई आफुले जानेको काम बताउछन् र कुनैपनि क्लब उनलाई भित्रयाउन तयार हुदैनन्।

रोसले फ्रन्टपेज फुटबल डट नेटलाई बताएअनुसार सन् २०१३ सम्म उनी फुटबलमा थिएनन्। फ्रान्कफर्टमा उनी स्कुल बस चलाउथे। त्यही स्कुलमा उनकी श्रीमती काम पनि गर्थिन। पछि उनलाई फ्रान्कफर्ट महिला फुटबल क्लबले भिडियो एनालिस्टका रुपमा राख्यो तर तलब नदिने गरी। त्यहिबेला उनले फ्रान्कफर्टको यू–२० र यू–१७ टोली पनि हेरेका थिए।
दुवैलाई उनले आ–आफ्नो डिभिजन लिगको उपाधि दिलाए। सन् २०१५ मा फ्रान्कफर्ट महिला टोलीको उनलाई सहायक प्रशिक्षक बनाइयो। त्यहिबेला फ्रान्कफर्टले युरोपियन च्याम्पियन्स लिग जित्यो। त्यसपछि उनी फ्रान्कफर्टको प्रमुख प्रशिक्षक नैं बनेर झन्डै २ वर्ष काम गरेका थिए। सन् २०१९ देखि उनी दक्षिण कोरियाको सहायक प्रशिक्षक बनेका थिए।
पछिल्लो समय उनी यूएईको युनाइटेड एफसीको सहायक प्रशिक्षक थिए।
अब कुरा गर्रौ नेपाली टोली उनीबाट के चाहन्छ भन्नेबारे। नेपालले अब खेल्ने दुई ठुला प्रतियोगिता हु्न साफ च्याम्पियनससिप र एसिया कप छनोट। नेपालीसहित भियतनाम, लाओस र मलेसिया रहेको एसिया कप छनोट समूहबाट एक टोली अगाडि बढ्ने छ। नेपालले बढी आशा गरेको प्रतियोगिता चाही साफ च्याम्पियनसिप हो जुन हालसम्म जित्न सकेको छैन।


