काठमाडौं- नेपालीहरु गरिब छन् ? कम्तिमा नेपाली खेलकुदलाई उनिहरुले गरिररहेको समर्थन र पछ्याइरहेको भिडलाई हेर्नु हुन्छ भने तपाई भन्न सक्नु हुन्छ- नेपालीहरु गरिब छैनन्।
चाहे मैत्रिपूर्ण खेल नै किन नहोस्, उनिहरु जति पनि पैसा तिर्न तयार भएर खेल हेर्न जान्छन् भन्ने हालै दशरथ रंगशालामा देखिएको दृश्यबाट स्पष्ट हुन्छ। महिलाका राष्ट्रिय टोलीका प्रतिस्पर्धा अनि मैत्रिपूर्ण खेल, दृश्यहरुले भन्छन् नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुस्, दर्शकको बाढि उर्लिन्छ। मैले यहाँ महिलाका प्रतिस्पर्धा भनेर महिला खेलकुदलाई अन्डर स्टिमेट गर्न खोजेको होइन। हामीले विदेशमा भएका महिला टिम गेम्सहरुमा दर्शकको उपस्थिती हेर्यौँ भने नेपालमा देखिने दृश्यले हरेकपटक विदेशीलाई लोभ्याउँछ।

बुधबार सम्पन्न चार देश सहभागी आमन्त्रण महिला फुटबलको फाइनलमा साढे १५ हजार दर्शक खेल हेर्न दशरथ रंगशाला पुगेका थिए।
म्यानमार र नेपालबीच भएको फाइनलका लागि अखिल नेपाल फुटबल संघ-एन्फाले एक हजार र २ हजार टिकटदर तोकेको थियो। त्यो टिकटदर हचुवाका भरमा एन्फाले तोकेको थियो। उसलाई विश्वास थियो- हामीले जति पैसाको टिकटदर तोकेपनि हारालुछ हुन्छ।
हुन पनि खेल सुरु हुनुभन्दा ठिक अगाडीसम्म दशरथ रंगशालाबाहिर टिकट पाइन्छ की भनेर रन्थनिरहेका दर्शकको भिड पनि ठुलै थियो। जब की एन्फाले त्यसको केही घण्टा अघी नै टिकट सबै विक्री भइसकेको जानकारी सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको थियो।
नेपाली खेलकुदमा एक हजार र दुई हजार टिकटदर सम्भवत् अहिलेसम्मकै महँगो हो। त्यसमा पनि अन अफिसियल खेल र महिलाको प्रतियोगितामा एन्फाले जसरी यो मुल्य तोकेको थियो र जसरी दर्शक ओहिरिए, यसले सन्देश दिइरहेको छ की नेपालमा नेपालसँग खेल्न बलिया टोलीहरु बोलाउनुस्, हामी जति पनि पैसा तिरेर खेल हेर्न आउँछौँ।
आफु समान र आफुभन्दा बलिया टोलीमाथी नेपालले जित हात पारेको हेर्न घरेलु दर्शक हरेकपटक आँतुर देखिन्छन्। वरियतामा म्यानमार निकै बलियो भएकैले पनि उसलाई हराएर नेपालले जितोस् भन्ने दर्शकको कामना थियो। विगतमा १२ पटक फाइनल हारेको र अहिलेसम्म उपाधि नजितेकाले यसपटक नेपाली महिला फुटबल टोलीले इतिहास रचेको हेर्न उनिहरु चाहन्थे।
तर विगतमा जस्तै यसपटक पनि दर्शक निराश भएर फर्किए। निराश यसमानेमा की नेपालले फाइनल हार्यो। तर ढुक्क हुनुस्– फेरी यस्तै स्तरको प्रतियोगिता गर्नुस्, नेपालमा दर्शकको उस्तै बाढि उर्लिन्छ।
हामीले पाएको जानकारी अनुसार म्यानमार र नेपालबीचको खेलमा टिकटबाट मात्र एक करोड ३० लाख रुपैयाँ उठेको छ। फेरी भनेँ- एक करोड ३० लाख रुपैयाँ। यो रकमले भन्छ- नेपालमा खेलकुदको सम्भावना कति छ भनेर। तर यही रकमबारे चर्चा भइरहँदा नेपाली खेलकुद समर्थकलाई अर्को दुखको खबर छ।
एसिया कप फुटबलको तेस्रो चरणको छनोटअन्तर्गत नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल त्यहाँ नहुने भएको छ र मलेसियामा सारिएको छ। दशरथ रंगशालाले प्रतियोगिताका खेल आयोजना गर्न मापदन्ड पुरा नगरेकाले त्यहाँ हुन नसक्ने एसियाली फुटबल महासंघ-एएफसीले एन्फालाई जानकारी गराएको थियो। त्यसपछि अब मार्च २५ तारिखमा हुने खेल मलेसियामा आयोजना हुँदै छ।
एन्फाका अनुसार मलेसियाले यो खेललाई होम खेलका रुपमा नेपालसँग प्रतिस्पर्धा गर्ने छ। मलेसियासँग नोभेम्बर १८ तारिखमा हुने खेल नेपालले घरेलु मैदानमा खेल्न प्रयाश गर्ने एन्फाले जनाएको छ। एसिया कप छनोटको तेस्रो चरणमा नेपालले मलेसियासँगै, लाओस् र भियतनामसँग पनि खेल्ने छ। तीनवटै टोलीसँग होम एन्ड अवे प्रणालीअनुसार आफ्नो मैदान र विपक्षीको मैदानमा गएर खेल्नु पर्ने हो। नेपालले अक्टोबरदेखि यो छनोट प्रतियोगिताका खेलहरु घरेलु मैदानमा खेल्ने तालिका छ।
नेपालले मैदानका कारण घरेलु मैदानमा खेल्न नपाउने भएको यो पहिलोपटक होइन। विश्वकप छनोटका खेलहरु भने दशरथ रंगशाला अयोग्य रहेको भन्दै नेपालले विदेशमै खेल्नु परेको थियो। होम एन्ड अवे फर्म्याटमा खेलाउनुको अर्थ हरेक टोलीले आफ्नो मैदानमा पनि खेल्न पाउन् भन्ने हो। यसले घरेलु समर्थकको समर्थन पाउने र घरेलु समर्थकले सृजना गर्ने दबाब र प्रभावको फाइदा लिने वातावरण तयार गर्छ। नेपालजस्तो दर्शकको ब्यापक समर्थन रहने ठाउँमा घरेलु मैदानमा खेल्न पाउनु देशलाई मात्र घाटा होइन, समर्थकमाथी पनि अन्याय हुन्छ।
दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो। तर यसको स्तरीयतालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको छ। साफ च्याम्पियनसिपदेखि एएफसी च्यालेन्जकपसम्म यो रंगशालाले आयोजना गरेपनि बेला बेला यसको स्तरलाई लिएर अन्तर्राष्ट्रिय फेडेरेसनहरुले प्रश्न उठाउने गरेका छन्।

