काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह जनतासग भोट मागिरहेका हुनेछन्। ज्ञानेन्द्रले जनताको विश्वास जित्न प्रयाशहरु गर्नेछन्। उनीबारे जनताले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नेछन् र प्रतिनिधि सभामा पठाउने की नपठाउने भन्ने निर्णय गर्नेछन्।
यो मैले गरेको कल्पना होइन। राजनीतिक दलहरु अहिले यस्तै कामना गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला भाषणहरु खोजेर सुन्नुस्त ? ओली ज्ञानेन्द्रलाई खुलेहाम चुनौती दिइरहेका छन्, ‘ लोकप्रिय छु भन्ने लाग्छ भने चुनाव लड्नुस।’

यो ओलीको मात्र चाहना होइन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पनि यही भन्दैछन्। बहुदलीय प्रजातन्त्रमा विश्वास राख्ने अधिकांशको एउटै स्वर छ, ‘ ज्ञानेन्द्रले देश चलाउने र जनताको सेव गर्ने चाहना राखेको भए पार्टी खोलेर चुनाव लडुन्।’
यसो कल्पना गरि हेरौं न– ल ज्ञानेन्द्रले चुनाव लडे रे, जिते पनि रे, त्यसमा पनि सबैभन्दा बढी मत ल्याएर जिते रे ? तर के यसले उनी प्रधानमन्त्री हुने पक्का गर्छ, यसले राष्ट्रपति बन्ने पक्का गर्छ ? राजतन्त्रको एजेन्डा बोकेर हिडेको राप्रपाले आगामी दिनमा प्रतनिधि सभामा बहुमत ल्याउने सम्भावना देख्नु हुन्छ ?
आजको संवैधानिक व्यवस्थामा प्रधानमन्त्री वा राष्ट्रपती बन्न पहिला प्रतिनिधि सभा निर्वाचन जित्नुपर्छ, त्यसपछि मात्र प्रधानमन्त्री वा राष्ट्रपती हुने बाटो खुल्छ। तर सजिलै खुल्दैन। त्यस्तो चाहना राख्ने व्यक्तिको पार्टी संसदमा पनि बलियो हुनुपर्छ कम्तिमा सरकार गठनमा निर्णायक प्रभाव पार्ने तहको।
फेरी भन्दै छु, यो मैले गरेको कल्पना र कामनामा भइरहेको विवेचना होइन। मुलुककै प्रधानमन्त्रीसमेत संलग्न भइरहेको बहसलाई टेकेर भन्दै छु।
यसरी मुलुक हाकीरहेका नेता नै पूर्व राजाका विषयमा बोल्नुपर्ने र यस्तो गरे हुन्थ्यो उस्तो गरे हुन्थ्यो भनेर कामना गर्नुपर्ने अवस्था त्यत्तिकै आएको होइन।
केही समयदेखि राजतन्त्र फर्काउछु भन्दै काठमाडौंको सडकमा जुलुसहरु निस्कन थालेपछि दलहरुले विस्तारै प्रतिक्रिया दिन थालेका थिए। आइतबार त्रिभुवन विमानस्थलमा आखाले दायाबाया हेर्दा नभ्याउने, लगभग मान्छेमाथी मान्छेजस्तो देखिने जुलुस पूर्व राजालाई स्वागत गर्न पुगेपछि दलहरुले आफ्नो स्वर अझ चर्को बनाउनुपर्ने अवस्था आएको छ। उनिहरु भन्दैछन्– केही हजार मानिसहरु सडकमा देखाएर राजतन्त्र फर्कदैन ।
झन्डै तीन करोड जनसंख्या भएको देशमा पूर्व राजाको पछाडि आईतबार देखिएको भिड तपाई हामी जो कोहीलाई पनि जनसंख्याको तुलनामा सानो लाग्न सक्छ तर के यसलाई यत्तिमै सिमित गरेर बुझ्न मिल्छ ?
पक्कै मिल्दैन किन भन्न सकिन्छ भने यदी त्यसो हुन्थ्यो भने गणतन्त्र के खतरामा पर्दै छ भन्ने खालका डिसकोर्सहरु शहरमा चल्ने थिएनन्। १७–१८ वर्षअघि राजतन्त्र हटेयता काठमाडौंमा ज्ञानेन्द्रको पछाडि भिड पहिलोपटक यति ठुलो देखियो। एक समय यस्तोसम्म थियो की राजावादीहरु सडकमा जुलुससमेत निकाल्ने आट गर्ने अवस्था थिएन। तर अहिले राजतन्त्रको पक्षमा अनपेक्षित भिड देखियो।
प्रश्न उठ्छ, जनताकै छोराछोरी सरकार प्रमुख,जनताकै छोराछोरी राष्ट्रपती बन्ने अहिलेको व्यवस्था उल्ट्याउन सरकारकै भाषामा किन केही हजार मानिसहरु सडकमा उत्रिएका छन् ? किन नागरिक सर्वोच्चता रहने, मानव अधिकार र स्वतन्त्रताको सुनिश्चतता गर्ने यो व्यवस्थाको विकल्प जनताले राजतन्त्र माग्न थालेका होलान ?
प्रधानमन्त्री ओलीले भनेजस्तो पूर्व राजा चुनाव लडेर लोकिप्रयता जाच्ने दिशामा छैनन्। उनलाई थाहा छ लोकप्रियताको त्यस्तो एक्सामिनेसनले उनलाई कहि पु¥याउने छैन।
उनी आफुलाई नेपालले सधै राष्ट्र प्रमुख मानिरहने र अनुकुल हुदा कार्यकारी प्रमुखको एक्सरसाइज गर्नेसम्मको राजतन्त्र नै फर्काउने कसरतमा हुन सक्छन्। यस्तो कसरत उनले गत फागु्न ६ गते, प्रजातन्त्र दिवशको अघिल्लो दिन आफुलाई साथ दिन गरेको आह्वानमार्फत सार्वजनिक गरेका थिए। यसले पूर्व राजाले सक्रियता बढाएको सन्देश दिएको थियो।
यतिबेला गणतन्त्रवादी शक्तिहरु अझ भनौ राजनीतिक दलहरु एक ठाउमा उभिएर राजतन्त्र पुर्नवहालीविरुद्ध मोर्चावन्दी गर्ने प्रयाश गरिरहेका छन्।
हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसग करिब दुई तिहाई बहुमत भएकाले कसैले पनि हल्लाउन नसक्ने दावी गरिरहेका छन्। तर व्यवस्था विरोधी आन्दोलन चर्किदै जादा बहमुत जनता सरकारसग रहन्छन् की रहदैनन् त्यो सायद यकिन गर्न सकिने अवस्था छैन। त्यसको कारण के हो भने राजनीतिक नेतृत्वप्रति बढ्दो वितृष्णा। जनता चुनावका बेला मात्र चाहिने हुन् अरु बेला दलले जे चाह्यो त्यही हुन्छ भन्ने सन्देश जुन दलहरुले लामो समयदेखि दिइरहेका छन् यही कारण यतिबेला नागरिक सर्वोच्चता खतरामा परिरहेको टिप्पणी सुनिन्छ।
यतिबेला आम मानिसको चासो चाही पछिल्लो राजनीतिक परिस्थिती कसरी अगाडी बढ्छ भन्ने देखिन्छ। शक्ति प्रदर्शन गर्दै निर्मल निवास छिरेका ज्ञानेन्द्रको सक्रियता अब कस्तो रहने छ, उनलाई अगाडि सारेर बढिरहेका राप्रपालगायतका समूहको आगामी मुभ कस्तो हुन्छ ? मानिसहरु पर्खिरहेका छन्।


