काठमाडौं । तपाई यदी अन्तर्राष्ट्रिय घटनाहरु नियालीरहनु भएको छ भने तपाईको नजर पक्कै टर्कीमा केहीबेर अडिने छ किनभने त्यहाँ ५ दिनयता देशब्यापी प्रदर्शनहरु भइरहेका छन्। राष्ट्रपति रेसेप तेयिप एर्दोगानविरुद्ध चर्को नाराबाजी भइरहेको छ। टर्कीका ८१ मध्ये कम्तिमा ५५ प्रान्तमा मानिसहरु सडकमा उत्रिएका छन्।
विशेषगरी राजधानी इस्तानबुल प्रदर्शनकारीले घेरिएको छ। त्यसपनि इस्तानबुल महानगरपालिकाको बाहिर उनिहरु ठुलो संख्यामा जम्मा भइरहेका छन्। इस्तानबुलका मेयर एक्रेम इमामोग्लुलाई पक्राउ गरिएपछि उनको रिहाईको माग गर्दै लगातार आन्दोलन चर्किएको हो। प्रदर्शनलाई दबाउन सरकारले टियर ग्यास र रबरका गोलि प्रहार गर्नेदेखि करिब एक हजारलाई पक्राउ गर्नेसम्म कदम चालेपनि प्रदर्शनकारीहरु टसमस छैनन्। यो आन्दोलन र प्रदर्शन जुन टर्कीमा एक दशकयताकै ठुलो भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। एउटा मेयरको पक्राउमा सारा देश किन आन्दोलित भइरहेको छ, को हुन् मेयर इमामोग्लु, उनको पक्राउमा राष्ट्रपति एर्दोगानको किन विरोध भइरहेको छ।

राष्ट्रपति एर्दोगान २२ वर्षदेखि टर्कीको सत्ता चलाइरहेका छन्। उनी प्रधानमन्त्री हुँदै राष्ट्रपतिको तेस्रो कार्यकालका लागि गत वर्ष निर्वाचित भएका थिए।एर्दोगानको जस्टिस एन्ड डिभलेपमेन्ट एकेले झन्डै दुई दशकयता टर्कीको राष्ट्रिय राजनीतिमा अन्य पार्टीलाई लगातार पछाडि पारिरहेको छ। एकेले कार्यकारी प्रमुखका रुपमा एर्दोगानलाई लगातार अगाडि सारिरहेको छ।
तर सन् २०१९ मा भएको इस्तानबुल महानगरपालिकाको निर्वाचनको नतिजाले एर्दोगान र एके दुवै एकसाथ हल्लिए। देशकै २० प्रतिशत जनसंख्या ओगट्ने इस्तानबुल एर्दोगानको एके पार्टीले २५ वर्ष चलाएको थियो। देशकै मुख्य आर्थिक, पर्यटकीय र ब्यापारिक केन्द्र भएकाले इस्तानबुलमा चुनाव हार्नुको अर्थ एर्दोगानले बुझेका थिए। त्यति मात्र होइन इस्तानबुल एर्दोगान हुर्किएको शहर पनि हो। त्यही शहरमा कुनै समय उनी स्न्याक्स बेच्ने काम गर्थे। सन् १९७० को दशकमा राजनीति सुरु गरेपछि त्यही इस्तानबुलको मेयरसम्म भए। तर त्यत्तिमै रोकिएनन्। पछि टर्कीको प्रधानमन्त्री बनेँ र अहिलेको राष्ट्रपतिसम्मको यात्रा तय गरे। एर्दोगान र एकेलाई स्तब्ध बनाउँदै इस्तानबुलको मेयर निर्वाचित हुने व्यक्ती थिए एक्रेम इमामोग्लु। रिपब्लिक पिपल्स पार्टी-सीएचपीबाट मेयर उठेका इमामोग्लुको जितलाई सुरुमा एर्दोगान र एके पत्याउन तयार भएनन्।
केही समयपछि मतगणनामा इमामोग्लुबाट धाँधली भएको आरोपसहित पुन मतदान गर्ने निर्णय सुनाइयो। इमामोग्लु निर्णय मान्न तयार भए। एउटा र्यालीलाई सम्बोधन गर्नेक्रममा इमामोग्लुले ज्याकेट र टाई खोल्दै, बाउला सार्दै भनेका थिए- एभ्रिथिङ विल बि फाइन।
उनको यो स्टेटमेन्ट पछि स्लोगन नै बन्यो। यही स्टेटमेन्टलाई अहिले पनि इमामोग्लुको सिग्नेचरका रुपमा लिइने गरिन्छ।
हुन पनि पुन भएको मतदानमा इमामोग्लुले ५४ प्रतिशत भोट ल्याएर एर्दोगान र एकेलाई सन्देश दिए- अब टर्कीको राष्ट्रिय राजनीतिमा एर्दोगान र एकेलाई च्यालेन्ज गर्ने नयाँ व्यक्ति जन्मिरहेको छ। सन् २०२३ मा टर्कीमा भएको राष्ट्रपती निर्वाचनमा एर्दोगानले फेरी उमेद्ध्वारी दिए। उनलाई चुनौती दिन सिएचपीले १३ वर्षदेखि पार्टी अध्यक्ष रहेका केमल किलिक दारोग्लुलाई अगाडि सारेको थियो। एर्दोगानले झन्डै ५२ प्रतिशत र किलिकले ४८ प्रतिशत भोट प्राप्त गरेका थिए। तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका एर्दोगान सन् २०२४ मा भएको इस्तानबुलको स्थानीय निर्वाचनमा इमामोग्लुलाई हराउन चाहन्थे र एकेपीलाई इस्तानबुलको सत्तामा फर्काउन चाहन्थे।
तर इमामोग्लुले कार्यकारी प्रमुख र सत्तारुढ दललाई स्तब्ध बनाउन कुनै कसर बाँकी राखेनन्। एर्दोगानका लागि राष्ट्रपतिका रुपमा यो उनको अन्तिम कार्यकाल हो। टर्कीको संविधानतले तीन कार्यकालसम्म मात्र राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरेको छ। अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले एर्दोगान उक्त संवैधानिक व्यवस्था संसोधन गरेर आफुलाई अर्को कार्यकालका लागि पनि बाटो खुला गर्ने मनस्थितीमा रहेको उल्लेख गरेका छन्। आफ्नो यही इच्छा पुरा गर्न एर्दोगानले इमामोग्लुलाई भ्रष्टचार, संगठित अपराधलगायत विभिन्न आरोप लगाएर पक्राउ गरेको विपक्षीको आरोप छ। इमामोग्लुसहित झन्डै सय जनालाई गत बुधबार नियन्त्रणमा लिइएको छ। त्यसयता टर्कीमा देशभर लगातार प्रदर्शन भइरहेको छ। यहाँ उल्लेखनीय के छ भने सीएचपीले सन् २०२८ मा हुने राष्ट्रपतीको निर्वाचनका लागि आइतबार उमेद्ध्वार तय गर्दै थियो। त्यसका लागि भोटिङ हुने तयारी भइरहेको थियो।
तर राष्ट्रपती एर्दोगानले इमामोग्लुसहितलाई उमेद्ध्वार चयनको निर्वाचन अगावै पक्राउ गराए। इमामोग्लु हिरासतमा रहेपनि पार्टीको तर्फबाट उमेद्ध्वार बन्न भने उनलाई तत्कालका लागि रोक हुने छैन।
सीएचपीका अनुसार आइतबार हुन लागेको उमेद्ध्वार चयनमा पार्टीभित्र इमामोग्लु एक्ला उमेद्ध्वार थिए। आइतबार भएको भोटिङमा एक करोड ५० लाखले मतदान गरेको दावी सीएचपीको छ। त्यसमा १६ लाख मात्र पार्टी सदस्य रहेको र बाँकीले इमामोग्लुविरुद्ध ऐक्यबद्धता जनाउन मत हालेको सीएचपीले दावी गरेको छ।
इमामोग्लुले आफुलाई पक्राउ गरिरहँदा प्रजातन्त्रमै कालो धब्बा लागेको सामाजिक सन्जालमा उल्लेख गरेका थिए। टर्कीलाई एर्दोगान अब पुगेको टिप्पणी पनि उनले गरेका थिए। पछिल्लो प्रदर्शनलाई लिएर राष्ट्रपति एर्दोगानले सीएचपीले देशको शान्ती भंग र जनतालाई ध्रुविकरण गरिरहेको आरोप लगाएका छन्। इमामोग्लुलाई पक्राउ गर्नुअघि इस्तानबुल विश्वविधालयले उनलाई दिएको एकेडेमिक डिग्री रद्ध गरेको घोषणा गरेको थियो। टर्कीको राष्ट्रपति बन्न हाइयर एजुकेसनको डिग्री आवश्यक हुने भएकाले टर्की विश्वविधालयको निर्णयले इमामोग्लुलाई चुनाव लड्नबाटै रोक्न सक्ने अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।
यद्यफी उक्त निर्णयविरुद्ध इमामोग्लुले आवश्यक कानुनी लडाई लड्न सक्नेछन्। त्यसबाहेक इमामोग्लुविरुद्ध लागेका आरोप पुष्टी भएमा पनि उनी उमेद्ध्वार बन्न पाउने छैनन्। सन् १९७० मा ट्राबजन प्रान्तमा जन्मिएका इमामोग्लु किशोर उमेरमै इस्तानबुल आएका थिए। बिजनेस पढेका उनी पछि एक निर्माण कम्पनीमा काम गरे। ४३ वर्षको उमेरमा राजनीति सुरु गर्दै पछि उनी इस्तानबुलको एक जिल्लाम मेयर निर्वाचित भएका थिए।


