काठमाडौं। १४ वर्षको उमेर। तपाईको मानसपटलमा स्कुल पढिरहेको कुनै किशोरको इमेज खेल्न सक्छ।
सायद त्यो उमेरको आफुलाई पनि सम्झिरहुन भएको होला। अक्सर स्कुल जाने, पढ्ने, रइमालो गर्नेभन्दा बढी अपेक्षा यो उमेरमा गरिँदैन। तर भारतका वैभव सुर्यवंशीलाई हेर्नु भयो भने १४ वर्षकै उमेर पनि दुनियाँलाई आश्चर्य बनाउन पर्याप्त हुने रहेछ भन्ने तपाईलाई लाग्ने छ।

इन्डियन प्रिमियर लिग क्रिकेट जुन विश्वका एक से एक होनाहार खेलाडीले खेल्ने गर्छन् त्यसमा १४ वर्षकै उमेरमा खेल्न पाउनु, ३५ बलमा सतक पुरा गर्नु, ११ वटा छक्का प्रहार गर्नु, इशान्त शर्मा, प्रसिद्ध कृष्ण, रसिद खान, मोहम्मद सिराजजस्ता विश्व प्रशिद्ध बलरहरुलाई हायलकायल बनाउनु धेरैका लागि एउटा सपना लाग्न सक्छ। पक्कै तपाईलाई पनि। तर वैभव सुर्यवंशीले यही सपनालाई विपनामा परिणत गरेर यतिबेला विश्वलाई आश्चर्यमा पारिरहेका छन्।
१४ वर्षको उमेरमा आम रुपमा देखिने फिजिकल पावर, आत्मविश्वास र स्किललाई हेर्ने हो भने वैभव सुर्यवंशी तपाईलाई अद्धितिय क्षमताको लाग्नु स्वभाविक हुन आउँछ।
हो वैभव सुर्यवंशीले सोमबार राति गुजराज टाइटन्सविरुद्ध ३५ बलमा सतक पुरा गरे। ३८ बलमा एक सय १ रन जोडेर आउट भए। ११ छक्का र ७ चौका हिर्काए।
उनी आईपीएल इतिहासमा दोस्रो सबैभन्दा कम बलमा सतक पुरा गर्ने ब्याट्सम्यान बने। क्रिस गेलले सन् २०१३ मा ३० बलमा सतक पुरा गरेका थिए। सुर्यवंशी एकै खेलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय कीर्तिमानको बराबरी गरे। यसअघि मुरली विजयले सन् २०१० मा ११ छक्का प्रहार गरेका थिए।
यसै सिजन राजस्थान रोयल्सले बिहारको पट्नाबाट करिब एक सय किलोमिटर दुरीमा पर्ने समस्तिपुरका सुर्यवंशीलाई एक करोड १० लाख भारुमा आबद्ध गरेको थियो। १३ वर्षकै उमेरमा आईपीएल फ्रेन्चाइजले गत नोभेम्बरमा भएको अक्सनमा उनलाई ग्रिन सिग्नल देखाएपछि सुर्यवंशीको चर्चा एकाएक आकाशियो। सन् २०२४ को जनवरीम उनले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेपछि भारतीय क्रिकेटकर्मीहरुको नजर उनिमाथी पर्न थालेको थियो। गत सेप्टेम्बरमा उनले भारतीय यू-१९ टोलीबाट अस्ट्रेलियाको त्यही उमेर समूहको राष्ट्रिय टोलीसँग ४ दिवशीय खेल खेल्दै ५८ बलमा सतक पुरा गरेका थिए।
आईपीएलका लागि सुर्यवंशी राजस्थानको फस्ट च्वाइस प्लेयर थिएनन्। तर कप्तान सन्जु श्यामसन घाइते हुनु सुर्यवंशीका लागि भाग्य उदय सरह देखियो।
उनले अप्रिल १९ तारिखमा मात्र आईपीएलमा डेब्यु गर्ने मौका पाएका थिए। अर्थात यो सिजन राजस्थानले ७ खेल खेलिसकेपछि मात्र सुर्यवंशीले मौका पाए। आईपीएलमा सुर्यवंशीले डेब्यु गर्दै लकनउ सुपर जायन्ट्सविरुद्ध २० बलमा ३४ रन जोडेका थिए। प्रारम्भिक ब्याट्सम्यानका रुपमा उत्रिएका सुर्यवंशीले आफुले सामना गरेको पहिलो बलमै सार्दुल ठाकुरलाई छक्का प्रहार गरेका थिए। एक सय ८१ रनको लक्ष्य पछ्याएको राजस्थान २ रनले पराजित भएको थियो।
सुर्यवंशीले दोस्रो आईपीएल खेल खेले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध। पहिला ब्याटिङ गरेको बैंगलोरले २ सय ६ रनको लक्ष्य दिएको थियो। १२ बलमा २ छक्कासहित १६ रन जोडेर सुर्यवंशी आउट भए। यो खेलमा पनि राजस्थान ११ रनले पराजित भयो। त्यसपछि पालो थियो सोमबार राती गुजरात टाइटन्सविरुद्ध भएको खेलको।
पहिला ब्याटिङ गरेको गुजरातले २ सय १० रनको लक्ष्य दिएको थियो। तर सुर्यवंशी र यशस्वी जैसवालको प्रारम्भिक जोडीले ११.५ ओभरमा एक सय ६६ रनको साझेदारी गर्यो। १५.५ ओभरमा लक्ष्य पुरा गर्यो। २ सय भन्दा बढी रनको लक्ष्य यति कम ओभरमा यसअघि पुरा भएको थिएन।
सुर्यवंशीले यो खेलमा जादुमयी प्रदर्शन गरे। उनले खेलको तेस्रो ओभरमै मोहम्मद सिराजलाई छक्का प्रहार गरे। चौथो ओभरमा उनले इशान्त शर्मालाई तीन छक्का र दुई चौका प्रहार गरे।
पाचौँ ओभरमा उनले वासिङ्टन सुन्दरलाई २ छक्का र एक चौका हिर्काएका थिए। १० औँ ओभरमा सुर्यवंशीले करिम जनतलाई तीन छक्का र तीन चौका प्रहार गरे। ११औँ ओभरको दोस्रो बलमा विश्व चर्चित लेग स्पीनर रसिद खानलाई छक्का प्रहार गर्दै सुर्यवंशीले सतक पुरा गरेका थिए।
सुर्यवंशीले सानै उमेरमा रन्जी ट्रफी, विनु मन्कड ट्रफीजस्ता प्रतियोगिता खेलिसकेका थिए। तर पछिल्लो यू-१९ विश्वकपमा भने उनी भारतीय टोलीमा पर्न सकेका थिएनन्।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा वैभवका बुबा सन्जिवले छोराको सपना पुरा गर्न आफुले ४ वर्षअघि जमिन विक्री गरेको बताएका छन्। वैभव सुर्यवंशीले जे जस्तो खेलिरहेका छन् त्यसलाई लिएर उनको वास्तविक उमेरमाथी पनि आशंका हुने गरेको छ। तर बुबा सन्जिव सुर्यवंशीले भने आशंका गर्नुपर्ने ठाउँ नरहेको र छोरा साढे ८ वर्षको हुँदा बिसिसिआईले बोन टेस्ट गरेर उमेर यकिन गरेको बताउने गरेका छन्।
वैभव सुर्यवंशीको खेल क्षमता र उनको प्रदर्शनले उनको तुलना सचिन तेन्दुलकरसँग यतिबेला भइरहेको छ। तेन्दुलकरले १६/१७ वर्षकै उमेरमा विश्व क्रिकेटको ध्यान तानेका थिए, विश्वका मै हुँ भन्ने बलरलाई हायलकायल पारेका थिए। सुर्यवंशीको उमेर यतिबेला त्यतिबेलाको तेन्दुलकरको भन्दा कम छ।


