काठमाडौं। अप्रिल २२ तारिखमा कस्मिरको पहलगाममा बन्धुकधारीले २६ पर्यटकको हत्या गरे। तपाई हामीलाई थाहा नै छ त्यो घटनामा एक जना नेपालीले पनि ज्यान गुमाए।मारिने बाँकी सबै भारतीय नागरिक थिए। घटनामा ज्यान जोगाउन सफल भएका मानिसहरुले दिएको बयानअनुसार बन्धुकधारीले हिन्दूहरुको पहिचान गरेर उनिहरुमाथी गोली प्रहार गरेका थिए।
यसै पनि कस्मिरमा हुने आतङ्कवादी हमलामा भारतले पाकिस्तानको हात रहने गरेको दावी गर्दै आएको छ। पछिल्लो घटनापछि पनि भारतीय प्रतिक्रिया यस्तै थियो। ठुलो घटना भएकाले अनुमान हुँदै आएको छ – भारतले पाकिस्तानविरुद्ध हमला गर्न सक्छ। यी अनुमानहरु त्यत्तिकै भएका थिएनन्। भारतले कडा कदमहरु पनि चालेको छ।

आफ्नो देशमा रहेका सबै पाकिस्तानीलाई भारत छाड्न बिहीबारसम्मको समयसिमा दिएको थियो। प्रमुख स्थल नाका अत्तरी बन्द गरेको छ। भारतमा रहेका सबै पाकिस्तानी सैन्य सल्लाहकारालाई फिर्ता पठाइएको छ। पाकिस्तानले पनि आफ्नो देशमा रहेका भारतीय सैन्य सल्लाहकारलाई निकालेको छ।
भारतले सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको इन्दस जल सन्धि भारतले निलम्बन गरेको छ, जुन दुई देशबीचको जल बाँडफाँडको आधार थियो। भारतले गरेको निर्णयले पाकिस्तानमा पानीको ठुलो संकट आउन सक्ने आँकलन गरिएको छ। यसबाहेक भारत र पाकिस्तान दुवैले एक अर्काका एयरलाइन्सलाई आफ्नो एयर स्पेस प्रयोगमा प्रतिबन्ध लगाएका छन्।
बुधबार पाकिस्तानका एक उच्च अधिकारीले भारतले ३६ घण्टाभित्र सैन्य हमला गर्न सक्ने दावी गरेका थिए। पाकिस्तानका सूचना मन्त्री अत्तउल्लाह तरारले गुप्तचरमार्फत सूचना आएको भन्दै भारतले २४ देखि ३६ घण्टाभित्र आक्रमण गर्ने दावी गरेका थिए। यो त्यस्तो समयसिमा थियो जतिबेलासम्म भारतले आफ्नो देशमा रहेका पाकिस्तानीलाई फर्कन भनेको थियो।
सायद यस्तै सूचना पाएर हुनुपर्छ शक्ति राष्ट्र अमेरिकाले पनि भारत र चीनसँग छलफल अगाडि बढाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले दुवै देशका अधिकारीहरुसँग छलफल र आग्रह अगाडि बढाए।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफसँग टेलिफोन कुराकानी गरेका छन्। बाहिर आएका समाचारका आधारमा भन्ने हो भने पहलगाममा भएको घटनाको निन्दा गर्न सरिफलाई रुबियोले आग्रह गरेका छन्। त्यसका लागि छानबिन र अनुसन्धानमा सहयोग गर्न भनेका छन्। भारतसँग सोझो वार्ता गरी विवाद समाधान गर्न रुबियोले सरिफलाई सुझाएका छन्।
पछिल्लो समय अमेरिकासँग भिडिरहेको र भारतका लागि टाउको दुखाई बनिरहेको चीनले पनि पछिल्लो घटनाक्रममा पाकिस्तानका अधिकारीहरुसँग छलफल गरेका छन्। त्यसैले यो भारत र पाकिस्तानको मात्र विषय होइन, अमेरिका र चीनले पनि आफ्नो उपस्थिति देखाएका छन्। कस्मिर भू राजनीतिका हिसाबले चीनको पनि रुची भएको क्षेत्र हो किनभने केही भाग यसमा चीनको पनि छ अनि भारत र पाकिस्तानसँग सिमान जोडिएको पनि छ।
हिमाली क्षेत्रमा रहेको कश्मिर मुस्लिम बाहुल्य रहेको क्षेत्र हो। यसको ठुलो भाग भारत प्रशासित छ। सन् १९४७ मा भारतबाट पाकिस्तान छुट्टिए देखि नै कस्मिर कस्को हो भनेर विवाद सुरु भएको थियो।
भारतबाट अलग गर्न कस्मिरमा विभिन्न मुस्लिम विद्रोही समूह सक्रिय छन् जसलाई पाकिस्तानले सहयोग गर्ने गरेको भारतको आरोप छ। त्यति मात्र होइन पहलगाममा भएको आक्रमणमा पनि पाकिस्तानी नागरिक संलग्न भएको दावी भारतको छ। अघिल्ला हिंसात्मक घटनामा पनि पाकिस्तानीहरुको भूमिका प्रत्यक्ष हुने गरेको भारतले बताउने गरेको छ। कस्मिरका विद्रोहीलाई पाकिस्तानले संरक्षण दिने गरेको, भारतले भन्दै आएको छ
जुन हिसाब र जुन संख्यामा पहलगाममा मानिसहरु मारिएका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक कडा रुपमा देखिन सक्ने टिप्पणी भइरहेको छ। किनभने पहलगाममा भएको पछिल्लो घटनामा पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरलाई पनि जोडेर भारतले हेरिरहेको छ।
पाकिस्तानमा सबैभन्दा शक्तिशाली व्यक्ती मानिने सैन्य प्रमुख मुनिरले पहलगाम आक्रमण हुनुभन्दा झन्डै एक साता एक कार्यक्रममा आफुहरु हरेक कुरामा हिन्दुभन्दा फरक भएको अभिव्यक्ती दिएका थिए। इस्लामावादमा भएको त्यस कार्यक्रममा मुनिरले भारतविरुद्ध कस्मिरीको लडाईमा पाकिस्तानको सँधै साथ रहने आशय व्यक्त गरेका थिए। सेना प्रमुख मुनिरको यही अभिव्यक्तीको सम्बन्ध अप्रिल २२ को घटनासँग भएको दावी भारतीय पक्षको छ।
सन् २०२२ को नोभेम्बरमा पाकिस्तानको सैन्य प्रमुख रहेका मुनिर पाकिस्तानको गुप्तचर संस्था आईएसआईका पूर्व प्रमुख पनि हुन्। उनलाई पूर्व प्रधानमन्त्री इमरान खानले हटाएका थिए। अहिले इमरान खान जेलमा छन् भने मुनिर पाकिस्तानको सबैभन्दा शक्तिशाली रहेका छन्। आणविक हतियार सम्पन्न पाकिस्तान अनि कम बोल्ने मुनिरको पछिल्ला राजनीतिक अभिव्यक्तीले पाकिस्तान र भारतबीच द्धन्द्ध चर्कने अनुमान भइरहेको छ।

