काठमाडौं। सबै कुरा ठिकठाक हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी हुन्थे। नेपालले ऐरीको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको हुन्थ्यो। तपाईलाई त्यस्तो लाग्छ की लाग्दैन ?
सन् २०२१ को अन्त्यतिर तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी एकाएक समाचारको हेडलाइन बनेको पक्कै विर्सिनु भएको छैन होला।हो, नेपाल क्रिकेट संघ–क्यानले ज्ञानेन्द्रलाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाएपछि नेपाली क्रिकेटमा ठुलै हलचल भयो।

क्यान आफैले खुलाएका आधार र कारणलाई हेर्ने हो भने उनिहरुले अनुशासन उल्लंघन गरेका थिए जुन उनिहरुलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट हटाउन पर्याप्त रहेको बताइएको थियो।क्यानले गरेको खेलाडीको ग्रेडिङका विषयमा असन्तुष्टी जनाएका उनिहरुले अन्य खेलाडीहरुलाई पनि भड्काएको आरोप लगाइयो। कारबाही सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि गरिएको थियो।
धेरै खेलाडी ज्ञानेन्द्र र ऐरीको पक्षमा उभिए। यसले नेपाली क्रिकेटमा ठुलै तहल्का मच्चियो। खेलाडीहरु विरोधमा उत्रिए। अन्तिममा ज्ञानेन्द्र र ऐरी राष्ट्रिय टोलीमा त फर्किए तर उनिहरुको कप्तानी र उपकप्तानी फर्किएन। यसले सबैभन्दा ठुलो घाटा दीपेन्द्रसिंह ऐरीलाई भएको थियो।
किनभने ज्ञानेन्द्र मल्ल आफ्नो करियरको अन्तिम समयतिर थिए, त्यसपछिको कप्तानका रुपमा दीपेन्द्रसिंह ऐरीलाई नै हेरिएको थियो। उपकप्तान भएकाले दीपेन्द्रसिंह ऐरी सबैभन्दा बलिया दावेदार देखिएका थिए।
दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई यसरी अप्ठेरोमा पारिएको थियो की उनिहरुलाई कप्तान र उपकप्तानका रुपमा हटाइएकै दिन नया कप्तानका रुपमा सन्दीप लामिछानेको नाम घोषणा गरिएको थियो। त्यसैले तत्कालै ज्ञानेन्द्र र दीपेन्द्रको कप्तान र उपकप्तानको पद फर्कने सम्भावना लगभग देखिएको थिएन। त्यसपछि त के के भयो तपाईहरु सबैलाई थाहा नै छ। सन्दीप लामिछानेमाथी बलात्कारको आरोप लागेपछि नेपाल क्रिकेट संघ क्यानले नया कप्तान खोज्नुपर्ने भयो।
तर दीपेन्द्रको दुर्भाग्य भन्नुपर्छ क्यानको नेतृत्व पुरानै भएकाले उनि नजरमा परेनन्। क्यानले रोहित पौडेललाई कप्तानका रुपमा अघि सार्यो।
कठिन अवस्थामा नेपाली क्रिकेटको नेतृत्व सम्हाल्न आइपुगेका रोहितको आगमनपछि के के भयो, भन्नै पर्दैन।
तर यहा उल्लेखनीय के छ भने सन्दीप लामिछानेलाई कप्तान बनाएदेखी नेपाल क्रिकेट संघले उपकप्तानको जिम्मेवारी कसैलाई पनि दिएको थिएन। त्यसरी उपकप्तान बिहिन बनेको झन्डै साढे तीन वर्षपछि नेपाली टोलीले उपकप्तान पाएको छ। उपकप्तान बनेका छन् दीपेन्द्रसिंह ऐरी। यसले फेरी उनलाई भावी कप्तानको उमेद्ध्वारका रुपमा उभ्याएको छ।
नेपाली राष्ट्रिय टोलीमा उपकप्तानको पद यस्तो बेलामा ल्याइएको छ जतिबेला नेपाली क्रिकेट टोली विश्वकप लिग–२ मा कमजोर अवस्थामा छ। नेपालले १२ खेल खेलिसक्दा केवल २ खेल जितेको छ। यतिबेला एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता जोगाउने चुनौती नेपाली टोलीासामु छ जसका लागि विश्वकप लिग दुईका बाकी २४ खेलमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने छ।
अँ, स्टुवार्ट ल नेपाली टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक हुन् र उनि आएपछि एकपछि अर्को निर्णय भइरहेका छन् भन्ने पनि विर्सनु भएन। नेपालले उनको प्रशिक्षणमा अन्तर्राष्टिय क्रिकेट खेल्न बाकी नै छ तर त्यसअघि उनले केही महत्वपूर्ण निर्णय लिइरहेका छन्। हालै नेपाल क्रिकेट संघ–क्यानले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको गरेको उनको अन्तवार्तामा लले नेपाली टोलीलाई जितको विकल्प नभएको स्पष्ट सन्देश दिएका छन्। उनले जित्ने बानीको विकाश गर्नु महत्वपूर्ण हुने उल्लेख गरेका छन्।
कप्तान रोहित पौडेलसामु उपकप्तान खडा गरिएपछि आगामी दिनमा उनले आफ्नो नेतृत्व क्षमता विकाशमा ध्यान दिनुको विकल्प छैन। किनभने क्यानले अनुभवी दीपेन्द्रसिंह ऐरीलाई विकल्पका रुपमा अघि सार्न खोजिरहेको पछिल्लो निर्णयबाट प्रष्ट हुन्छ। कप्तान पौडेलका लागि पनि यो अवसर हुन सक्ने छ एक अनुभवी खेलाडीसग सल्लाह गरेर निर्णय लिन। दीपेन्द्र र रोहित नेपाली क्रिकेटको लगभग समकालिन हुन्। दीपेन्द्रले सन् २०१७ मा नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलेका थिए।
त्यस वर्ष उनले एसिसी यू–१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए जहा भारतलाई पराजित गर्दा उनको प्रदर्शन निर्णायक थियो। त्यस टोलीमा रोहित पनि थिए। रोहितले सन् २०१८ मा सिनियर राष्ट्रिय टोलीबाट पहिलोपटक खेलेका थिए। उल्लेखनीय के छ भने अहिले रोहित एकदिवशीय अन्तर्राष्ट्रिय र दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी रन जोड्ने ब्याट्सम्यान हुन्।
दीपेन्द्र अलराउन्डरको भूमिकामा खह्रो उत्रँदै आएका छन्। पछिल्लो समय रोहितले पनि दीपेन्द्रले जस्तै स्पीन बलिङ गरिरहेका छन् बेलाबखत अन्तर्राष्ट्रिय क्रिकेटमा। जे होस् यी दुवै क्रिकेटरले आफुलाई अब्बल बनाउने प्रयाश गरिरहेका छन्।
सामान्यतया हरेक राष्ट्रिय टोलीमा कप्तान र उपकप्तान पद खडा गरेर जिम्मेवारी दिइएको हुन्छ। यसअर्थमा केही वर्षयता कप्तान मात्र तोकिएकाले नेपाल क्रिकेट संघ–क्यानले नया प्रशिक्षक ल आइसकेपछि कोर्स करेक्सन गरेको रुपमा पनि बुझ्न सकिन्छ। धेरैलाई लाग्न सक्छ की सन्दीप लामिछानेलाई चाही किन उपकप्तानको जिम्मेवारी नदिएको होला। तपाईको जिज्ञासालाई अन्यथा मान्न सकिन्न।
तपाईले बुझ्नुपर्ने कुरा के हो भने सन्दीप लामिछाने कप्तान भइसकेका खेलाडी हुन्। भलै उनलाई खेलभन्दा बाहिरको परिस्थितीले कप्तानबाट हटाइएको थियो। त्यसैले अहिले उपकप्तान दीपेन्द्रलाई बनाइएपनि आगामी दिनमा यदी रोहित कप्तानबाट हटेको अवस्थामा सन्दीपले त्यो ठाउ लिन सक्दैनन् भन्ने चाही छैन।
अहिलेलाई यत्ति बुझम नेपाली राष्ट्रिय टोलीमा उपकप्तान पद ब्युताइएको छ र त्यसमा दीपेन्द्रलाई अगाडि सारिएको छ। सन्दीप कप्तान भइसकेकाले उनी यो पदमा आएनन्। तर उपकप्तान भएकाले आगामी दिनमा नया कप्तान बनाउनुपरे दीपेन्द्रको सम्भावना सन्दीपको भन्दा ज्यादा हुनुलाई स्वभाविक मान्न सकिन्छ किनभने उनी टोलीका अब उपकप्तान हुनेछन्।


