काठमाडौं। सन् २०१० मा लगातार दोस्रोपटक एसिसी यू-१९ क्रिकेट प्रतियोगिता जितेर फर्कँदा नेपाली टोलीमा रहेकी इन्दु बर्मा केवल १३ वर्षकी थिइन्।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा सानै उमेरमा सफलता हात पारेको भन्दै इन्दुलाई इंगित गरेरै प्रसंसा गरेका थिए। यो त्यस्तो समय थियो जतिबेला नेपाली महिला क्रिकेटबाट खुबै आशा गरिएको थियो।

सन् २००७ मा पहिलोपटक नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै एसिसि महिला ट्रफीको फाइनलसम्म यात्रा तय गरेको थियो। फाइनलमा बंगलादेशसँग हारेको थियो। अर्को वर्ष एसिसी यू-१९ क्रिकेटको उपाधि जित्यो।
यही बढ्दो आशाबीच नेपाली क्रिकेटमा उदाएकी थिइन् इन्दु बर्मा। सन् २०१२ मा पनि नेपालले एसिसी यू-१९ महिला क्रिकेटको उपाधि जितेर ह्याट्रिक गर्दा इन्दु टोलीमा थिइन्। त्यतिबेला नेपाली टोलीको कप्तान रुबिना क्षेत्री थिइन्। नेपालले पहिलोपटक उपाधि जित्दा पनि टोलीमा रहेकी रुबिनाले सन् २००९ मै सिनियर राष्ट्रिय टोलिबाट डेब्यु गरिसकेकी थिइन्।
त्यो समय वितेको पनि १३ वर्ष भयो इन्दुले त्यसयता कहिल्यै नेपालका लागि उपाधि जित्न पाएकी छैनन्। नेपालले कहिल्यै सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा उपाधि जित्न सकेको छैनन, विश्वकप खेल्न सकेको छैनन्। इन्दुको प्रयाश जारी छ। उनले नेपालका लागि खेलिरहेकी छिन्, थाकेकी छैनन्।
नेपाल क्रिकेट संघ-क्यानले सन् २०२३ को अन्त्यतिर महिला टोलीको कप्तान फेर्यो। झन्डै एक दशकदेखि नेपाली टोलीको कप्तान रहेकी रुबिना क्षेत्रीको जिम्मेवारी अब इन्दुले पाइन्। त्यसअघि उनी उपकप्तान थिइन्। सन् २०२४ मा नेपाल एसिसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग अप्रत्यासित हार ब्यहोरेर बाहिरियो।
अर्को सेमिफाइनलमा बलियो टोली थाइल्यान्डलाई यूएईले हराएकाले यसपटक नेपाललाई उपाधि खडेरी चिर्ने अवसर थियो तर फाइनल नै पुग्न सकेन। नेपाल फर्किएपछि सिनियर खेलाडीका लागि उपाधि जित्ने सपना पुरा हुन नसकेको भन्दै भावुक बनेकी थिइन्।
उनी इन्दु सोमबार थाइल्यान्डमा पनि भावुक भइन्। यसपटक उनका खुसीका आँशु बगे। नेपाल पहिलोपटक विश्वकपको विश्वस्तरको छनोटमा पुगेपछि नेपाली टोलीमा खुसीको सिमा देखिएन। यूएईलाई ५ विकेटले हराउँदै नेपालले टी-२० विश्वकपको विश्वस्तरको छनोट अर्थात ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो। उनी खेलपछि रोइरहेका तस्विरहरु अहिले सामाजिक सन्जालमा छ्यापछ्पाप्ती भइरहेका छन्।
नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याउन इन्दुको योगदान सबैभन्दा महत्वपूर्ण रह्यो। उनले २८ बलमा नटआउट ३० रन जोडेपछि नेपालले एक सय १५ रनको लक्ष्य ३बल बाँकी रहँदै पुरा गरेको थियो। कुनै समय निकै दबाबमा रहेको नेपाललाई ग्लोबल क्वालिफायरमा पुर्याउन उपकप्तान पुजा महतो र पूर्व कप्तान रुबिना क्षेत्रीले गतिलो साथ दिए इन्दुलाई।
रुबिनाले १८ बलमा २३ रन जोडिन्। पुजाले १३ रन बनाइन्। इन्दुले पुजासँग २४ र रुबिनासँग ३७ रनको साझेदारी गरेकी थिइन्। चौथो नम्बरमा ब्याटिङमा आएकी इन्दुले निकै सम्हालिएर खेलिन्। सायद यो खेलको महत्व उनलाई थाहा थियो।
यो खेल हारेको थियो भने नेपाल एसियाली छनोटबाटै बाहिरिने थियो, पहिला जस्तै। यसअघि पहिलो चरणको अन्तिम खेलमा पनि इन्दुले ७ बलमा २४ रन जोड्दै बहराइनविरुद्ध नेपालको सम्भावित हार टारेकी थिइन्।
अब नेपालले अन्तिम खेलमा मंगलबार थाइल्यान्डसँग खेल्दै छ। यो खेल जितेमा नेपालले छनोटको उपाधि जित्ने छ। नेपालका लागि आगामी लक्ष्य ग्लोबल छनोट हुने छ जहाँ सहभागी हुने १० टोलीमध्ये ४ टोली विश्वकप पुग्नेछन्। नेपालले विश्वकपमा स्थान बनाए त्यो थप ऐतिहासिक हुने छ।


