काठमाडौं। तत्कालिन सभामुख तथा माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही आइतबार मृत भेटिइन्।
भक्तपुरको बालकोटस्थित डेरा कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा ५० वर्षीय शाही घोप्टो परेर लडिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले मृत शाहीको नजिकैबाट सुसाइडट नोटजस्तो सामग्री पनि फेला परेको छ जसका आधारमा शाहीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ।
तर शाहिले कसरी आत्महत्या गरिन् भन्ने प्रहरीले यकिन गर्न सकेको छैन। शरिरमा कुनै बाहिरी चोटपटक छैन। विस सेवन गरेको हुन सक्ने अवस्था भएपनि घटनास्थलबाट औषधीको कुनै पत्ता वा वोतल फेला पारेको छैन। घटना हुँदा डेरामा रोशनी एक्लै थिइन्। श्रीमान काम विशेषले काठमाडौं उपत्यका बाहिर थिए। शाही दम्पत्तीका छोराछोरी अमेरिका छन्। श्रीमान आइतबार साँझ नै आईपुगेका छन्।
अनुसन्धानमा खटिएको प्रहरीका अनुसार आइतबार बिहानैदेखि रोशनी बस्दै आएको फ्ल्याटमा घरबेटीले चहलपहल नदेखेपछि चासो राखेका थिए। ढोका भित्रैबाट लक रहेको र बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले आएर ढोका फोरेर हेर्दा रोशनी घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएकी थिइन्। नजिकै कपिमा केही लेखेर पनि छाडिएको थियो।
प्रहरीका अनुसार सुसाइड नोटजस्तो त्यस सामग्रीमा कसैलाई दोष नदिन र छोराका लागि आफुले केही गर्न नसकेको व्यवहोरा उल्लेख छ। विशुद्ध परिवारका बारेमा त्यसमा लेखिएको अनुसन्धान अधिकारीहरु बताउँछन्। कोठा भित्रबाट लक भएको र सुसाइड नोट भेटिएकाले रोशनीले आत्महत्या गरेको मात्र प्रहरीको आशंका छ तर कसरी भनेर भन्न सकिरहेको छैन।
पोस्ट मार्टम रिपोर्टबाट केही खुल्न सक्ने प्रहरीको अपेक्षा छ। श्रीमानसँग पनि पछिल्लो समय त्यस्तो कुनै विवाद देखिएको छैन। रोशनीका श्रीमान १५ दिन अघि मात्र विराटनगर पुगेका थिए, एनजिओको कामका लागि। दुई वर्षअघि सरकारी सेवाबाट अवकाश पाएपछि रोशनीका श्रीमान एनजीओमा काम गर्दै आएका थिए, विराटनगरमा। प्रारम्भिक अनुसन्धानमा श्रीमानले बोलाएपछि रोशनी सोमबार विराटनगर जाने तयारीमा थिइन्। प्रहरीका अनुसार रोशनी त्यस घरमा साढे २ वर्षदेखि बस्दै आएकी थिइन्।
रोशनी पछिल्लो ६/७ वर्ष जुन अवस्थाबाट गुज्रिरहेकी थिइन्, त्यो कुनै फिल्मको दर्दनाक कहानीभन्दा कम थिएन र उनको अन्त्य पनि त्यस्तै भयो।
रोशनी संसद सचिवालयमा कार्यरत थिइन् जतिबेला उनले आफु कार्यरत कार्यालय अर्थात प्रतिनिधि सभाका सभामुख महरामाथी यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। यो झन्डै ६ वर्ष अगाडिको घटना थियो। सुरुमा बलात्कार गरेको दावी आएपनि प्रहरीमा जाहेरि पर्दा बलात्कार प्रयाश र यौन दुर्व्यवहारमा सिमित भएको थियो
२०७६ असोज १२ गते राती सुबिधानगरस्थित आफ्नो कोठामा आएर महराले मदिरा सेवन गरेको, बलात्कार र कुटपिट गरेको भन्दै रोशनीले मिडियासँग बोलेकी थिइन्। त्यतिबेला पनि रोशनी कोठामा एक्लै थिइन् श्रीमान काठमाडौं बाहिर थिए। छोरा छोरी त्यतिबेला पनि विदेशमै थिए।
रोशनीको आरोपपछि महराले सभामुखबाट राजिनामा दिनु पर्यो। रोशनीले लगाएको आरोपलाई सहयोग पुग्नै थुप्रै तथ्यहरु बाहिर आए। सबैभन्दा बलियो तथ्य असोज १२ गते साँझ महरा रोशनीको कोठामा गएको पाइयो। कुटपिटका केही प्रमाणहरु थिए। घटना भएको भनिएकै रात पनि रोशनीले प्रहरीलाई कोठामा बोलाएर आफूमाथी भएको घटना बताएको सार्वजनिक भएको थियो।
रोशनीका श्रीमान माओवादी कार्यकर्ता थिए। उनी काठमाडौं फर्किएपछि रोशनीले आफु डिप्रेसनको विरामी भएको र के बोलेको थाहा नहुने भन्दै महराले आफुलाई केही नगरेको निवेदन प्रहरीमा दिएकी थिइन् तर रोशनी शाहीलाई दबाबमा पारेर बोल्न लगाएको भन्दै चर्को आलोचना भयो। त्यसपछि रोशनी शाहीकै अर्को उजुरीका आधारमा महरा पक्राउ परेका थिए।
त्यतिबेला रोशनीका श्रीमानले रोशनीसँग सम्बन्ध विच्छेद गर्न लागेको भनेर सामाजिक सन्जालमार्फत नै सार्वजनिक गरेका थिए। सम्बन्ध विच्छेदका लागि सहमत भएर दुवै जनाले हस्ताक्षर गरेको कागज श्रीमानले सामाजिक सन्जालमा राखेका थिए।
घटनापछि प्रहरीले पक्राउ गरेका महरा पुर्पक्षका लागि कारागार चलान भए। २०७६ फागुनमा जिल्ला अदालतले महरालाई सफाई दिएको थियो।
पिडित भनिएकी रोशनी शाहीले आफुलाई महराले केही नगरेको भन्ने बकपत्रलाई अदालतले फैसला गर्दा प्रमाणका रुपमा लियो। २०७८ साल साउनमा जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेपछि यो केस सँधैका लागि क्लोज भयो।
त्यतिबेला रोशनीले आफु लामो समयदेखि डिप्रेसनको विरामी रहेको र औषधी सेवन गरिरहेको बताएकी थिइन्। उनले दुईपटकसम्म आत्महत्याको प्रयाश गरेको समाचारहरु सार्वजनिक भएको थियो। औषधीले काम गर्न छाडेर हरेक दिन साँझ आफुले मदिरा सेवन गर्नु परिरहेको पनि उनले सन्चार माध्यमहरुलाई बताएकी थिइन्। आफुलाई बाच्नै मन नरहेको भनेर विभिन्न मिडियाहरुलाई अन्तर्वार्ता दिँदाभनन् गरेकी थिइन्।
विदेशमा रहेका छोराछोरीले वास्तै गर्न छाडेको उनको भनाई थियो। तीन वर्षअघि पशुपतीनाथ क्षेत्रमा सिद्धबाबा भनेर चिनिने कृष्ण गिरीलाई बलात्कारी भनेर रोशनीले चिच्याएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनि पछिल्लो समय पनि डिप्रेसनको औषधी सेवन गरिरहेकी थिइन्। बेला मौकामा उनले आफु मर्छु भनेर धम्की दिने गरेको श्रीमानले प्रहरीलाई बताएका छन्। तर पछिल्ला दिनहरुमा उनले त्यस्तो कुनै गतिविधी देखाएकी थिइनन्।
यहाँ उल्लेखनीय के छ भने रोशनीले आरोप लगाएकी माओवादी नेता कृष्णबहादुर महराको त्यसपछि राजनीतिक र पारिवारिक पतन सुरु भएको थियो। कृष्ण महराको अहिले स्वास्थ्य अवस्था निकै कमजोर छ। उनिसहित छोराहरु यसबीचमा सुन तस्करीमा पनि मुछिएका थिए।


