काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा भएको आगलागी, तोडफोड र ज्यान गएको घटनामा दुर्गा प्रसाईलाई प्रमुख अभियुक्त बनाएर अदालतमा मुद्धा दायर भएको छ।
काठमाडौं जिल्ला प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ६१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ। दुर्गा प्रसाईसहित ७ जनाविरुद्ध ज्यान मारेकोसहितका कसुर लगाइएको छ।

प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेताहरु धवलशमशेर जबरा, रविन्द्र मिश्रले पनि उक्त कार्यक्रमको आयोजक दुर्गा प्रसाई भएकाले सम्पूर्ण जिम्मेवार दुर्गा प्रसाई नै भएको बयान दिएका थिए।
चैत १५ गतेको राजावादी प्रदर्शनमा प्रदर्शनकारीले जलाएको घरभित्र परेर एक जना पत्रकारको ज्यान गएको थियो भने प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारी मारिएका थिए। थुप्रै निजी तथा सार्वजनिक सम्पत्तीमा तोडफोड र आगजानी भएको थियो।
उक्त कार्यक्रम दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती र नागरिक बचाउ महाअभियानको आयोजनामा तय भएको थियो।
अन्तिम समयमा त्यसलाई राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले स्वामित्व लिएको थियो। उक्त समितीले प्रसाईलाई कमान्डर पनि तोकेको थियो।
झन्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईसँग धेरै दिन लगाएर बयान लिइएको थियो। प्रसाई नै त्यस दिन भएको हिंसात्मक घटनाको मुख्य जिम्मेवार भएको दावीसहित अनुसन्धान अधिकारीहरुले उनीसँग प्रश्नोत्तर गरेका थिए। हामीले यो सामग्री प्रसाईले अनुसन्धानका क्रममा दिएको बयानमा आधारमा तयार गरेका छौँ।
प्रसाईले उक्त प्रदर्शन नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति, र अन्य राजावादी संस्थासमेतको संयुक्त आयोजनामा गरिएको अनुसन्धान अधिकारालाई बताएका छन्।
आफु आउनुभन्दा ४५ मिनेट अगावै कार्यक्रम सुरु भएको तथा नवराज सुवेदी, रविन्द्र मिश्र, धवल शमशेर राणालगायत नेताहरु पहिल्यै आएर कार्यक्रम सुरु गरिसकेकाले आयोजकका विषयमा कुनै द्धिविधा नरहेको उनको भनाई छ।
उनले प्रदर्शन स्थल नजिकै कसरी आफै गाडी हाँकेर प्रहरीको बीचमा दौडाउन पुगेको स्थितीलाई पनि सविस्तार लगाएका छन्। उनका अनुसार त्यस दिन उनी मध्यान्ह आफ्ना समर्थकसहित गाडीको पछाडि बसेर तीनकुनेस्थित आयोजनास्थल आइरहेका थिए। तर मन्चमा धुँवाको मुस्लो, मानिसको भागदौड र धेरै जना भुईमा लडिरहेको देखेपछि उनी आँत्तिए।
प्रसाईको बयानअनुसार त्यहीबेला गाडिको पछाडि अश्रु ग्याँस खसेको थियो। कानै नजिकबाट गोली गएजस्तो उनलाई लाग्यो रे। वरिपरिका घरका छतहरुमा हतियारसहितका मान्छे देखेपछि आफु निकै आत्तिएको प्रसाईले बयान दिएका छन्।
त्यही बेला आफु गाडिबाट झरेर अगाडि हाँकिरहेका डाइभरलाई निकालेको र आफै ड्राइभिङ सिटमा बसेको प्रसाईको भनाई छ। त्यस स्थितीमा डाइभरलाई भनेर बुझाउनुभन्दा सही निर्णय आफैले गर्न सक्ने लागेर गाडी हाँकेको उनले बताएका छन्।
त्यसमा प्रसाईले पेश गरेको तर्क एक छिन ध्यान दिएर सुन्नुस्त। अगाडि धेरै पुलिस देखेर उनिहरुको बिचमा पुगेर बस्दा आफुलाई बचिन्छ र सुरक्षित होइन्छ भन्ने उनलाई लाग्यो रे। त्यही भएर सबै प्रदर्शनकारीलाई आओ आओ भन्दै प्रहरीको बिचबाट गाडि छिराएका रहेछन्।
अनुसन्धान अधिकारीहरुले ज्यान मार्ने नियतले गाडी कुदाएको भन्दै विभिन्न भिडियो देखाएर प्रसाईलाई र्याखर्याख्ती पारेका थिए। त्यसमा पनि उनले एकपछि अर्को तर्क गरेका छन्।
आफुले ब्रेक हान्दै हाफ क्लजमा प्रहरी र सर्वसाधारणलाई जोगाउँदै चोट नलागोस् भनेर सचेत हुँदै गाडी कुदाएको उनको भनाई छ। आफुले पेलेर गाडी कुदाएको भए किन कसैलाई चोटपटक नलागेको र किन कोही पनि घाइते नभएको भन्दै उनले प्रश्न गरेका छन्।
यस्तै आफुले तीनकुने पुलभन्दा पारी लगेर गाडी रोकेपछि प्रहरीले नै त्यहाँबाट कार्यक्रम स्थलसम्म पुर्याएको उनको बयान छ। दुर्गा प्रसाईले आफुले ज्यान मार्ने नियत राखेको भए प्रहरीले किन तत्कालै पक्राउ नगरेको र सुरक्षित रुपमा कार्यक्रम स्थलसम्म पुर्याएको बताएका छन्।
अनुसन्धान अधिकारीले भाषणका क्रममा प्रसाईले अब संसद र एयरपोर्ट कब्जा गर्ने हो भन्दै दिएको अभिव्यक्तीका विषयमा पनि प्रश्न गरेका थिए। प्रसाईले गोली र अश्रु ग्याँस नहान्न प्रहरीलाई आग्रह गर्दै प्रदर्शनकारीलाई अगाडि आउन भनिरहेका बेला फेरी अश्रु ग्याँस र कानै नजिकबाट गोली गएकाले आवेशमा आएर बोलेको बताएका छन्।
रिसको बेलामा मान्छेले गिता नपढ्ने भन्दै पटकपटक आग्रह गर्दा पनि नमानेकाले आफुले उक्त कुरा बोलेको स्विकार गरे। त्यसपछि पेस्तोलधारीहरु आफुतिर आइरहेको सूचना पाएपछि त्यहाँबाट ज्यान जोगाउन भागेको प्रसाईले बयान दिएका छन्।
पत्रकार सुरेश रजकको ज्यान गएको विषयमा पनि आफ्नो कुनै गल्ती नभएको प्रसाईको भनाई छ। आफुले कसैलाई पनि आगजनी, तोडफोडमा आदेश दिने, उक्साउने काम नगरेको उनले बयान दिएका छन्।
यस्तै रजकको ज्यान गएको घरभित्र आगजनीमा उत्रिएका कसैलाई पनि आफुले नचिन्ने र त्यसरी आगजनि गरेकाले प्रहरीले पक्राउ गरिसकेकाले पनि उनिहरुबाट पनि उक्त कुरा पुष्टी हुने दावी गरेका छन्।


