काठमाडौं। फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीले सबैभन्दा बढी कसलाई सम्झेला, सबैभन्दा बढी इमोसनल कोदेखि होला ?
प्रशिक्षक लुइस एनरिकदेखि की कप्तान मार्क्विनहोस् ? टिमका स्टार प्लेयर असरफ हाकिमी वा ओसामाने डेम्बेले की १९ वर्षे डिजायर डु।

पीएसजीले पहिलो युरोपियन च्याम्पियन्स लिग जितेको श्रेय कसलाई जाला त ? अर्थात पीएसजीको सपना कसले पुरा गरेको थियो भनेर इतिहासले हिसाब गर्ला ?
पीएसजीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमार, एन्जेल डी मारियाले दिलाउन नसकेको सफलता दिलाउने व्यक्ती भनेर को चिनिएला ?
शनिबार राती इन्टर मिलानलाई ५-० गोलले हराएरले युरोपियन च्याम्पियन्स लिग उपाधिको सपना पुरा गरेपछि यी प्रश्नहरु अहिले चर्चामा छन्।
कुनै समय विश्वका स्टार खेलाडीहरु भेला गरेर च्याम्पियन्स लिग जित्ने दौडमा उत्रिएको पीएसजी अहिले औसत खेलाडीका भरमा यो सपना पुरा गर्यो।
सन् १९७० मा पेरिस एफसी र स्टेड सेन्ट जर्मन मर्ज भएर पीएसजी बनेको थियो। सन् २०११ अघिसम्म पीएसजीले दुईपटक घरेलु लिग लिग वान जितेको थियो।
तर जब त्यस वर्ष कतार स्पोर्टस इन्भेस्टमेन्टले पीएसजी किन्यो, युरोपमा ठुला क्लबहरु तर्सिए। कतार स्पोर्ट्स इन्भेस्टमेन्टले पैसा खर्च गर्न लोभ गरेन।
पहिलो सिजनदेखि नै उसले युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको थियो।
सन् २०१२ मा ब्राजिलका तत्कालिन कप्तान थियागो सिल्भा र सर्बियाका ज्लाटन इब्राहिमोभिच, सन् २०१३ मा माक्विनहोस र उरुग्वेका एडिन्सन काभानी, सन् २०१५ मा एन्जेल डी मारिया, सन् २०१७ मा केलियन एमबाप्पे र नेमार हुँदै सन् २०२१ मा लियोनल मेस्सी र अचरफ हकिमीलाई भित्र्याएको थियो।
सन् २०१२/१३ सिजनदेखि फ्रान्सको घरेलु लिगमा पीएसजीको एकछत्र राज छ। यसबीचमा भएका ११ घरेलु लिग संस्करणमध्ये एक पटक मात्र पीएसजीले उपाधि जित्न सकेन।
सन् २०१९/२० को युरोपियन च्याम्पियन्स लिगमा पहिलोपटक सेमिफाइनल पुग्दै फाइनलसम्मकै यात्रा तय गर्यो तर उपाधि भिडन्तमा बायर्न म्युनिखसँग पराजित भयो।
अर्को सिजन पनि पीएसजी सेमिफाइनलसम्म पुगेको थियो तर यसपटक फाइनल पुग्न सकेन। एमबाप्पे, मेस्सी, नेमारसहितले दुई सिजन सँगै पीएसजीबाट खेले तर दुवैपटक पीएसजी राउन्ड अफ सिक्सटिनबाट बाहिरियो। दुई वर्षअघि मेस्सी र नेमार दुवै पीएसजीबाट विदा भए।
गत सिजन एमबाप्पेले पनि आफ्नो ड्रिम क्लब रियल म्याड्रिडमा बसाई सरे। एकपछि अर्को स्टार खेलाडीले पीएसजी छाड्नुको कारण थियो- त्यहाँ च्याम्पियन्स लिग जित्न नसक्नु।
अझ भनौँ च्याम्पियन्स लिग जिताउन नसक्नु। करियरमा पहिलो च्याम्पियन्स जित्ने सपना देखिरहेका एमबाप्पे यसपटक पनि हेरेको हेरै भए।
यहाँ उल्लेखनीय के छ भने एमबाप्पे लगातार ६ सिजन लिग वानको सर्वाधिक गोलकर्ता र ५ पटक प्लेयर अफ दि सिजन घोषणा भएका थिए। यसबीचमा धेरै स्टार खेलाडीले पीएसजी छाडे। पीएसजीले त्यस्तो चर्चित अनुहार कसैलाई भित्र्याएनँ। लगभग बाँकी रहेकै खेलाडीबाट पीएसजीले युरोपियन च्याम्पियन्स लिग सपना पुरा गर्यो।
यहाँ प्रशिक्षक लुइस एनरिकेको चर्चा गर्नै पर्ने हुन्छ जो सन् २०२३ मा पीएसजी आएका थिए। उनी इन्टर मिलानमाथी फराकिलो जित हात पारेर उपधि जितेपछि भावुक देखिए ।
यो जित उनका लागि विशेष थियो। एनरिकेले यसअघि सन् २०१४/१५ सिजन बार्सिलोनालाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए। बार्सिलोनामा पहिलो सिजन सम्हाल्नेक्रममै एनरिकेले उक्त उपलब्धि हासिल गरेका थिए।
बर्लिनमा भएको फाइनलमा युभेन्टसलाई हराएपछि एनरिकेकी छोरा सानाले मैदानको बीच भागमा बार्सिलोनाको झन्डा गाडेकी थिइन्।
शनिबार जर्मनीकै म्युनिखमा इन्टरलाई हराएर पीएसजीले च्याम्पियन्स लिग जितेपछि एनरिकेले आफु र छोरीको तस्विर अंकित टिसट लगाएर पीएसजीको झन्डा मैदानको मध्य भागमा गाडेका थिए। यो दृश्यले पीएसजी समर्थक र खेलाडिहरु इमोनसनल बनेका थिए।
खासमा यसो गर्ने एनरिकेको चाहना थियो किनभने ६ वर्षअघि एनरिकेकी छोरी सानाले क्यान्सरका कारण ज्यान गुमाएकी थिइन्। एनरिकेका अनुसार पीएसजीमा आएर त्यही जेस्चरमा च्याम्पियन्स लिग सफलता सेलिब्रेट गर्ने उनको चाहना थियो।
र, इन्टरलाई हराएलगत्ते एनरिकेले त्यस गरेका थिए छोरीलाई सम्झँदै। सन् २००८ मा बार्सिलोना बीबाट प्रशिक्षण करियर थालेका एनरिके सन् २०१८ देखि २०२२ सम्म बार्सिलोनाको प्रशिक्षक थिए। स्पेनका पूर्व खेलाडी एनरिके बार्सिलोना र रियल म्याड्रिड दुवै क्लबबाट खेल्ने थोरै खेलाडीमध्ये पर्छन्।
एनरिके आउनु अघि पीएसजीको यो रिभाभइल पिरियडमा कार्लो एन्सेलोट्टीदेखि, मौरिसियो पोचेटिनो, थोमस टुचेल, उनाई इमेरी, लरेन्ट ब्लाँजस्ता प्रशिक्षकहरु थिए तर कसैले पीएसजीको च्याम्पियन्स लिग सपना पुरा गर्न सकेका थिएनन्।
पीएसजीका लागि पहिलो सिजन एनरिकेले घरेलु लिग जितेका थिए। च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुगेको थियो। गत सिजन एमबाप्पेले छाडेपछि पीएसजी र एनरिकेलाई म्याच विनरको खाँचो पर्न सक्ने देखिएको थियो।
तर डेम्बेले, हाकिमी र डुजस्ता खेलाडीले पिएसजीमा इतिहास लेखे। च्याम्पियन्स लिगको यो सिजन डेम्बेले पीएसजीका लागि सर्वाधिक गोलकर्ता बनेँ। उनले ८ गोल र ६ असिस्ट गरे। ६ सिजन बार्सिलोनाबाट खेलेका डेम्बेले सन् २०२३ मा पीएसजी भित्रिएका हुन्।
हाकिमीले ४ गोल र ५ असिस्ट गरे भने डुले ५ गोल र ५ असिस्ट गरे। रेन्नेसका लागि दुई सिजन खेलेका फ्रेन्च खेलाडी डुलाई यसै सिजनको सुरुवातमा पीएसजीले भित्र्याएको थियो। सन् २०२१ देखि पीएसजीमा रहेका पोर्चुगिज खेलाडी नुनो मेन्डेसको भूमिका पनि यसपटक महत्वपूर्ण रह्यो।
उनले च्याम्पियन्स लिगमा ४ गोल र २ असिस्ट गरे। ३ गोल र चार असिस्ट गरेका २२ वर्षे ब्राड्ली बार्कोला पनि पीएसजीको यात्रामा विशेष रह्यो।
यस्तै अनुभवी गोलकिपर द्रोनरुम्मा र डिफेन्डस मार्क्विनहोसको नाम कसरी भुल्न सकिन्छ। च्याम्पियन्स लिगको यो सिजन पीएसजीले ३९ गोल गर्यो भने १५ गोलको सामना गरेको थियो। मार्क्विनहोस पीएसजीका सबैभन्दा अनुभवि खेलाडी हुन्। पीएसजीका लागि सबैभन्दा बढी खेल खेल्ने किर्तिमान उनकै नाममा छ। उनी ब्राजिलका कप्तान पनि हुन्।
पीएसजीले राउन्ड अफ सिक्सटिनमा ब्रेस्ट, क्वाटरफाइनलमा लिभरपुल र सेमिफाइनलमा आर्सनललाई हराएको थियो। पीएसजीले यो सिजन घरेलु लिग अर्थात लिग वान १९ अंकले अगाडि रहेर जितेको थियो। डेम्बेले २१ गोल र ६ असिस्टसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बनेका थिए।
पीएसजीका लागि दोस्रो सर्वाधिक गोलकर्ता रहेका बार्कोलाले पनि १४ गोल र १० असिस्ट गरेका थिए। डुको नाममा ६ गोल र ६ असिस्ट रहेको थियो। पोर्चुगलका २३ वर्षीय स्ट्राइकर गोन्कालो रामोसले पनि १० गोल र ३ असिस्ट गरे।


