काठमाडौं। एकछिन कल्पना गरौँ न, स्कटल्यान्ड शृंखलाका चारवटै खेल नेपालले जित्यो रे। अंक तालिकामा कहाँ पुग्छ? नेपाली टोलीको १६ खेलबाट १४ अंक हुने छ र तालिकाको छैटौँ स्थानमा उक्लिने छ।
र कल्पना गरेजस्तै नेपालले चारवटै खेल जितेमा त्यो निकै ठुलो मेन्टल ‘बुस्ट अप’ हुने छ।

किनभने अहिले नेपाल सबैभन्दा पुछारमा छ अर्थात आठौँ स्थानमा। १२ खेल खेलेर केवल ६ अंक जोडेको छ। नेपालले १२ खेल खेल्दा केवल २ खेल जितेको छ ८ खेल हारेको छ २ खेल वर्षाका कारण रद्ध भएको थियो। यो पृष्ठभूमीमा नेपालले विश्वकप लिग-२ मा अघि कल्पना गरेजस्तो शानदार कमब्यान गर्न सम्भव छ ?
स्कटल्यान्डमा सोमबारदेखि नेपालले विश्वकप लिग-२ शृंखला थाल्दै छ। यो शृंखलामा नेदरल्यान्ड्स पनि सहभागी छ। अघिल्ला शृंखलामा झै नेपालले दुवै टोलीसँग दुई दुई खेल खेल्ने छ।
अहिले अंक तालिकामा नेदरल्यान्ड्स २० खेलबाट २६ अंक दोस्रो स्थानमा छ। स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा रहेको छ। स्कटल्यान्ड विश्वकप लिग-२ को अघिल्लो संस्करणको विजेता हो।
एकछिन २ वर्ष अगाडि फर्कनौँ। सन् २०२३ को फेब्रुअरीमा नेपालले स्कटल्यान्ड र नामिबियालाई बोलाएर विश्वकप लिग-२ शृंखला खेल्दै थियो। यो विश्वकप लिग-२ को अघिल्लो साइकलको कुरा हो।
नेपाल २४ खेलबाट १८ अंक जोडेर कमजोर अवस्थामा थियो र एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरामा थियो। स्कटल्यान्ड एक खेल जितेमा उपाधि जित्ने अवस्थामा थियो। नामिबियाले पनि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाइसकेको थियो। नेपाललाई भने बाँकी रहेका १२ मध्ये हरेकजसो खेल जित्नुपर्ने दबाब थियो।
नयाँ प्रशिक्षकका रुपमा मन्टी देशाई नेपाल आएका थिए। सन्दीप लामिछाने जेलमुक्त भएर नेपाली टोलीमा पुनरागमन गर्दै थिए। त्यसपछि के भयो थाहा छ ? यदी नेपाली क्रिकेटलाई पछ्याइरहनु भएको छ भने पक्कै थाहा हुनुपर्छ। हो, नेपालले स्कटल्यान्ड र नामिबियासँग भएका सबै ४ खेलमा हरायो।
त्यति मात्र होइन, अन्य दुई शृंखलाका ८ मध्ये ७ खेल जित्यो। त्यसक्रममा सुरुमा ग्लोबल क्वालिफायरमा र त्यसपछि एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता जोगायो।
विश्वकप लिग-२ को अन गोइङ सस्करणमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ। ८ टोलीमध्ये टप-४ टिम ग्लोबल क्वालिफायरमा पुग्ने छन्।
यहाँनेर दुई वर्षअगाडिको प्रसंग किन ल्याएको हो भने नेपाली टोलीसँग विश्वकप लिग-२ का हरेक टोलीलाई हराउने सामर्थ्य छ किनभने यो प्रतियोगितामा आईसिसीका एसोसियट टोलीहरु मात्र सहभागी हुन्छन्। पछिल्ला वर्षहरुमा नेपालले हरेक एसोसियट टोलीलाई एक न एकपटक हराइरहेको छ।
मात्र यहाँनेर नेपालले निरन्तर हराउनुपर्ने दबाब छ। संयोग नै मान्नुपर्छ, विश्वकप लिग-२ मा नेपाल फेरी एकपटक कमजोर अवस्थामा रहेका बेला नयाँ प्रशिक्षक आईपुगेका छन्। अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा स्कटल्यान्ड शृंखला खेल्दैछन्।
यतिबेला मन्टी देशाईको प्रशिक्षणमा नेपालले दुई वर्षअघि खेलेको त्यो शृखंला क्रिकेट प्रेमीहरु स्मरण गरिरहेका छन्, नेपाली क्रिकेट प्रेमी चाहन्छन् ठिक त्यसरी गरी नेपाली क्रिकेटले युटर्न गरोस्। प्रशिक्षक स्टुवार्ट ल भन्दैछन्- नेपालले जित्नुको विकल्प छैन। हरेक खेल जित्ने उनको योजना रहने छ।
२०२२ को जुलाईमा नेपाल विश्वकप लिग-२ शृंखला खेल्न स्कटल्यान्ड पुगेको थियो। त्यतिबेला नामिबया पनि शृंखलामा सहभागी थियो। नेपाली टोलीले शृंखलाका ४ मध्ये ३ खेल हार्यो। एक खेल जितेकामा स्कटल्यान्डलाई हराएको थियो।
विश्वकप लिग-२ को अनगुइङ एडिसन नेपालले नेदरल्यान्ड्स र नामिबियालाई घरमा बोलाएर खेल्दै सुरुवात गरेको थियो। तर घरेलु मैदानमा नेपाली दर्शक निराश बनेँ, नेपालले चारमध्ये एक खेल मात्र जितेको थियो।
त्यो एक जित नेदरल्यान्ड्समाथी थियो जुन अहिले अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। गत नोभेम्बरमा नेपालले अमेरिकामा विश्वकप लिग-२ शृंखला खेलेको थियो जसमा स्कटल्यान्ड पनि सहभागी थिए। नेपालले स्कटल्यान्डसँग भएका दुई खेलमा एक खेल जितेको थियो भने एक खेल वर्षाका कारण रद्ध भएर अंक बाँढेको थियो।
यसको मतलब हो, स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नेपालले हराउन सक्छ यदी आफ्नो फुल स्ट्रेन्थमा खेल्यो भने। खेलाडीहरुले आफ्नो फुल स्ट्रेन्थमा खेले भने।
विश्वकप लिग-२ को अनगोइङ एडिसनमा आसिफ शेख नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। उनले ११ खेलमा २ सय ५४ रन जोडेका छ्न ३ अर्धसतकसहित। अनिल शाहले १० खेलमा ३ अर्धसतकसहित २ सय ७, रोहित पौडेलले ११ खेलमा १ सय ८४ र कुशल भुर्तेलले ९ खेलमा एक सय ७८ रन बनाएका छन्।
बलिङतर्फ कुशल भुर्तेलले १२, गुल्सन झाले १२, सोमपाल कामीले १२, ललित राजबंशले १०, सन्दीप लामिछानेले ७ खेलमा ९ विकेट लिएका छन्। जिल्ला अदालतको फैसलापछि सन्दीपले विश्वकप लिगका ४ खेल गुमाएका थिए।
नेपाली ब्याट्सम्यानका रुपमा यतिबेला अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी,रोहित पौडेलमाथी राम्रो प्रदर्शन गर्नुपर्ने दबाब छ। अलराउन्डरका रुपमा गुल्सन झा, करन केसीमाथी ज्यादा अपेक्षा छ। ललित नारायण राजबंशी र सन्दीप लामिछानेको स्पीन आक्रमण विपक्षीलाई सहज हुने छैन।
नेपालले यो सन् २०२५ मा विश्वकप लिग-२ अन्तर्गत आगामी अक्टोबरमा यूएईमा घरेलु टोली र अमेरिका सम्मिलित शृंखला र नोभेम्बरमा आफ्नै मेदानमा ओमान र यूएई सम्मिलित शृंखला खेल्दै छ। यस्तै सन् २०२६ मा नेपालले विश्वकप लिग-२ का तीनवटा शृंखला खेल्ने छ। जसमा नेदरल्यान्ड्समा घरेलु टोली र नामिबिया सम्मिलित शृखला, ओमानमा घरेलु टोली र क्यानडा सम्मिलित शृंखला तथा घरेलु मैदानमा स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला रहनेछन्। शृंखला हुने मैदान र अपोनेन्टहरु हेरेर थाहा पाइ हाल्नु भयो, स्कटल्यान्डमा सोमबारदेखि सुरु हुन लागेको शृंखला कति महत्वपूर्ण छ।
भिडियोको अन्तिममा केही साताअघि नेपाली टोली स्कटल्यान्ड जानुअघि आयोजित विदाई कार्यक्रममा उपकप्तान दीपेन्द्रसिंह ऐरीले भनेको कुरा सुनौँ।


