काठमाडौं। करण केसी पछाडि हेर्दै दौडिरहेका थिए। रिजन ढकाल विपक्षीले स्टम्पमा बलले हिर्काउनु अघि लाइन क्रस गर्ने प्रयाश गर्दै थिए।

करणलाई आफुभन्दा बढी मतलब रिजनको थियो-किनभने बल त्यतैतिर स्टम्प नजिकै छाडेर उनी रन लिन दौडिएका थिए। रिजनले लाइन क्रस नगर्दै स्कटल्यान्डका खेलाडीले सेलिब्रेट गर्न थाले। रिजन निराश देखिन्थे। यता करन पनि निराश थिए। तर सिन एकाएक फेरियो। अचानक अम्पायले वाइडको इसारा गरे।
त्यो देखेर करण फनक्क फर्किएर रिजनतर्फ सेलिब्रेड मुडमा दौडिन खोजे। सुरुमा रिजनलले पत्याएनन् तर जब अम्पायरलाई देखे- सेलिब्रेट गरिरहेका स्कटल्यान्ड खेलाडीलाई पनि इशारा गर्दै अम्पायरलाई हेर्न भनेँ। त्यसपछि के भयो थाहा छ। करिब ६ सय नेपाली दर्शक मैदानभित्र छिरेर करणमाथी झुम्मिए।
विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा सोमबार राती स्कटल्यान्ड र नेपालबीच भएको खेलको अन्तिम बलको दृश्य थियो यो। नेपाललाई जितका लागि अन्तिम बलमा एक रन आवश्यक थियो भने एक विकेट मात्र साथ थियो।
रिजन ढकाल रनआउट हुनु अगावै उक्त बल वाइड भएकाले नेपाल अलआउट भएको मानिएन र एक विकेटले विजयी भयो। यो त नेपालको एतिहासिक जितको क्लाइमेक्स थियो। यो क्लाइमेक्सको कहानी केही थिएन जति करण केसीले नेपाललाई त्यो प्वइन्टसम्म पुर्याएको म्याजिकल प्रदर्शनको थियो।
करण केसी र गुल्सन झाले देखाएको बहादुरी र साहसको थियो जुन एसोसियट क्रिकेटले वर्षौँसम्म विर्सने छ र भन्ने छ-क्रिकेटमा अन्तिम बल र विकेट रहँदासम्म आशा हुन्छ बस खेलाडीले साहस देखाउनुपर्छ र आफुमाथी विश्वास गर्नुपर्छ।
एउटा यस्तो जितको चर्चा भइरहने छ जसमा हार्ने टोली र उनिहरुका खेलाडीले वर्षौँसम्म पनि कसरी हारियो भनेर विश्वसा गर्न सक्ने छैनन्।
स्कटल्यान्डजस्तो बलियो टिम, अनि अन्तिम ३ विकेट मात्र बाँकी रहँदा जितका लागि एक सय भन्दा बढि रनको आवश्यकता। सायद त्यो विन्दुमा कसैले पनि जितिन्छ भनेर कल्पना गर्दैन। न समर्थक र दर्शकले नै अपेक्षा गर्न सक्छन्। तर सोमबार राती करण केसी र गुल्सन झाले म्याजिकल प्रदर्शन गरे।
२ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा ७ विकेट गुमाएर एक सय ९२ रन जोडेको थियो। ब्याटरका रुपमा गुल्सन झा र करन केसी क्रिजमा थिए। आउन बाँकी ब्याट्सम्यान सन्दीप लामिछाने र रिजन ढकाल थिए।
गुल्सन झाको जेस्चर नै यस्तो थियो की उनी बस साथ खोजिरहेका थिए। यस्तो लाग्थ्यो उनी भन्दैछन्- अरे यार, तिमी टिक मात्र गेम म खेल्छु। आरिफ शेख र सोमपाल कामी सस्तैमा आउट भएपछि गुल्सनको अन्तिम भरोसा करन थिए। उनिहरुले यसरी खेले की मानौँ नेपालले यो खेलमा ७ विकेट गुमाएकै थिएन, १० रनभन्दा बढि रिक्वायर रन रेट नै छैन। गुल्सन र करणले ७.२ ओभरमा ६२ रनको साझेदारी गरे।
गुल्सन ३० बलमा ३ छक्का र ३ चौका प्रहार गरेर ४२ रन जोड्दै आउट भए ४६ औँ ओभरको चौथो बलमा। अघिल्लो ओभरमा १६ रन जोडेर नेपालले दबाब बढाएको थियो। त्यस ओभरमा गुल्सनले २ छक्का प्रहार गरेका थिए। ४६ औँ ओभरको पहिलो बलमा करन केसीले पनि छक्का प्रहार गरे। तर जब त्यस ओभरमा गुल्सन आउट भए नेपाली क्रिकेट टोली र समर्थकमाझ सन्नाटा छायो।
नेपाललाई अब जितका लागि ४.२ ओभरमा ४५ रन चाहिएको थियो। करन केसी २४ बलमा २८ रन बनाएर खेल्दै थिए। उनलाई साथ दिन आईपुगे सन्दीप लामिछाने।
यो त्यही जोडी थियो जसले नेपाललाई सन् २०१८ मा क्यानडाविरुद्ध शानदार जित हात पार्दै विश्वकप छनोटमा पुर्याएको थियो र त्यही छनोटबाट नेपालले पहिलोपटक एकदिवशिय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
क्यानडासँग जितका लागि ५१ रन र ४७ बल बाँकी रहँदा नेपालले ९ विकेट गुमाइसकेको थियो। तर सन्दीपको साथमा करन एक्लैले यो खल जिताई दिए। अन्तिम ओभरमा ७ रन चाहिएका बेलमा सुरुका ४ बल डट खेलेका करनले पाचौँ बलमा छक्का प्रहार गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए। त्यो खेलमा करनले ३१ बलमा ४२ रन जोडेका थिए।
सोमबार राती स्कटल्यान्डसँग सन्दीप र करन क्रिजमा देखिँदा नेपाली समर्थकले त्यही ७ वर्ष अगाडिको म्याजिकल पर्फमेन्स सम्झिएका थिए। नेपालले ४७औँ ओभरमा ५ र ४८ औँ ओभरमा १३ रन जोड्यो। करन केसीले ठुला प्रहारको कमान्ड सम्हाले।
टर्निङ प्वाइन्ट भने ४९ औँ ओभर थियो जसमा करन केसीले १८ रन जोडेका थिए एक छक्का र दुई चौका प्रहार गर्दै। सन्दीप र करनले दौडिएर दुईपटक दुई दुई रन जोडे पनि। स्कटल्यान्डका ओपनिङ बलर सफ्यान सरिफलाई करनले धुलाई गरे।
अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन चाहिएको थियो। तर पहिलो बलमै सन्दीप आउट भएपछि नेपाल दबाबमा पर्यो, स्कटल्यान्ड बलियो देखियो। त्यसपछि करनले सम्हालिएर क्रिज सम्हाले। रिजनले सुझबुझपूर्वक खेले। करनले चौथो र पाचौँ बलमा लगातार दुई दुई रन जोडेका थिए। करनले ४१ बलमा ४ छक्का र तीन चौकासहित ६५ रन जोडे।
यो खेलमा नेपाल कुनै समय बलियो देखेर एकाएक कमजोर बनेको थियो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १२ ओभरमा ७२ रनको साझेदारी गरेका थिए। कुशलले ५३ र आसिफले २० रन जोडे। ४० रन जोडेका भीम सार्की र ३७ रन बनाएका कप्तान रोहित पौडेलबीच तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्यो। तर सेट ब्याट्सम्यान लगातार आउट हुनु र मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र आरीप शेख सस्तैमा आउट भएपछि नेपालले गुल्सन र करन केसीबाट म्याजिकल पफर्मेन्स कुर्नुपर्ने अवस्था बनेको थियो।
स्कटल्यान्ड विश्वकप लिग-२ को डिफेन्डिङ च्याम्पियन हो। यसपटक पनि उपाधि दावेदार देखिएको छ। स्कटल्यान्डमाथी प्राप्त यो जितले नेपालको मनोबल बलियो बनेको छ।
किनभने नेपाल अक तालिकामा पुछारमा थियो र अब एक स्थान माथी उक्लिएको छ। उल्लेखनीय अर्को कुरा के छ भने नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य यसअघि पुरा गरेको थिएन।
नेपाल १३ खेलबाट ८ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।


