काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोर-आरसिबी पहिलोपटक इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट प्रतियोगिताको विजेता बनेको छ।
मंगलबार राती भएको फाइनलमा आरसिबीले पन्जाब किङ्सलाई ६ विकेटले हरायो। एक सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८४ रन जोड्यो।

पन्जाबका सशांक सिंहले ३० बलमा ६१ रन बनाएपनि जित दिलाउन सकेनन्। कप्तान श्रेयस अय्यर १, जोस इङ्लिस ३९, प्रभसिमरन सिंहले २६ र प्रियांश आर्याले २४ रन जोडे। आरसिबीका क्रुनाल पान्ड्याले ४ ओभरमा १७ रन खर्चिएर २ विकेट हात पारे। भुवनेश्वर कुमारले पनि २ विकेट लिए। यस दयालले ३ ओभरमा १८ रन खर्चिएर एक विकेट हात पारे।
त्यसअघि बैंगलोरको इनिङ्समा विराट कोहलीले ४३, कप्तान रजत पतिदारले २६, लायम लिभिङ्स्टोनले २५, मायांक अग्रवालले २४ र जितेश शर्माले २४ रन जोडे।
आरसिबीले सन् २००७ देखि आईपिएल खेलिरहेपनि यसबीचमा उपाधि जित्न सकेको थिएन। सुरुवातदेखि नै कोहली टिममा थिए। उनी लामो समय आरसिबीको कप्तान थिए।
कुनै समय एबी डे भिलियर्स, क्रिस गेलजस्ता खेलाडी टिममा भएर पनि आईपिएल जित्न नसक्दा कोहलीको आलोचना बढेको थियो। कोहलीले एकदिवशीय, टी-२० विश्वकपदेखि च्याम्पियन्स ट्रफीसम्म जितेपनि आईपिएल भने हात पार्न सकेका थिएनन्।


