काठमाडौं। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ।
चर्चित योग गुरु रामदेवको पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र त्यसरी खरिद भएको जग्गा हाउजिङ कम्पनीलाई विक्री गर्न तत्कालिन नेपाल नेतृत्वको सरकारले निर्णय गरेको अख्तियारको दावी छ।

दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपासहितका ठाउँमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले काष्ठमण्डप हाउजिङ कम्पनीलाई २०६७ साल असार ११ मा बेचेका थिए ।
तत्कालीन प्रधानमन्त्री नेपालले २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद् बैठकबाट हदबन्दी छुटमा जग्गा किन्न दिने निर्णय गराएका थिए । उक्त जग्गा किनेको दुई महिना नपुग्दै २०६६ साल चैत ६ गते मन्त्रिपरिषद्बाट बेच्न स्वीकृति दिलाएका थिए ।
सरकारबाट ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति पाएपछि पतञ्जलिले बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा किनेको थियो । हदबन्दी छुटमा खरिद गरेको जग्गा बेच्न अनुमति माग्दै पतञ्जलि नेपालका अध्यक्ष सिंहले २०६६ साल फागुन १७ गते निवेदन दिएका थिए ।


