काठमाडौं। अन्तिम ओभरमा जितका लागि केवल सात रन चाहिएको छ अनि ब्याटिङमा छन् करण केसी। तपाई जितभन्दा बाहेक केही सोच्न सक्नु हुन्छ। सोच्न किन पनि सक्नु हुन्न भने करणका लागि त्यो सजिलो कुरा हो, करण ठुला प्रहार गर्न सक्छन्।
स्कटल्यान्ड लगातार दबाबमा आइरहेको थियो, स्कटल्यान्डका बलर निराश हुँदै थिए।

अनि त्यो ७ रनले नेपाली क्रिकेटमा अर्को इतिहास रच्ने थियो- नेपाली क्रिकेट प्रेमीदेखि विश्व क्रिकेट भन्ने थियो- नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय २४ रनसम्मको लक्ष्य पुरा गरेको छ भनेर।
विपक्षीहरुलाई हरेकपटक टाउको दुख्ने थियो- नेपालले अन्तिम बलसम्म खेल हार्दैन। बलरहरुले पनि खेल जिताउन सक्ने ब्याटिङ गर्छन्।
विश्वकप लिग-२ क्रिकेटको आइतबार राती स्कटल्यान्ड र नेपालबीच भएको खेलको अन्तिम ओभर अघि कसले सोचेको थियो नेपालले यो खेल हार्छ होला भनेर। तर नेपालले हार्यो र इतिहास रच्ने मौका खेर फाल्यो भनेपनि हुन्छ।
पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ३ सय २४ रनको विशाल लक्ष्य दिएको थियो। यो लक्ष्य पछ्याउँदा बीचमा के के भयो केही बेरमा कुरा गरौँला। अहिलेलाई त्यही अन्तिम ओभरको कुरा गरौँ।
करन केसीलाई स्कटल्यान्डविरुद्ध फेरी एकपटक हिरो बन्ने अवसर आई परेको थियो। गत साता स्कटल्यान्डविरुद्ध नै करणले हिरोइक ब्याटिङ गरेका थिए।
यसपटक त्यतिबेलाजस्तो धेरै रन बनाउनुपर्ने थिएन उनी नौ नम्बरमा ब्याटिङमा आउँदा। करण ४७ औँ ओभरमा ब्याटिङमा आएका थिए। अन्तिम ओभर अघि करनले ७ बलमा १५ रन जोडिसकेका थिए एक छक्का र एक चौकासहित। उनी खडे खडे खेल्दै थिए।
निर्णायक ओभर बलिङ गर्न स्कटल्यान्डले सफयान सरिफलाई पठाएको थियो। सरिफ तीन बलर थिए जसको ओभरमा विस्फोटक ब्याटिङ गर्दै करणले स्कटल्यान्डसँग भएको अघिल्लो खेलमा नेपाललाई जिततर्फ डोर्याएका थिए।
त्यसैले करणबाट त्यो विन्दुमा बलियो आशा गर्न सकिने अवस्था थियो। उनले ५० औँ ओभरको पहिलो बलमा दुई रन जोडे। अब ५ बलमा ५ रन चाहिने अवस्था बन्यो। दोस्रो बलमा करनले रन जोड्न सकेनन्। तेस्रो बलमा भने उनी खराब सट खेल्दै आउट भए। बाँकी ३ बलमा ५ रन जोड्नुपर्ने दबाब नेपाललाई देखियो। एक विकेट मात्र बाँकी थियो।
स्ट्राइकमा थिए ललितनारायण राजबंशी। ननस्ट्राइक इन्डमा थिए सन्दीप लामिछाने। ललितले एक रन जोड्दै सन्दीपलाई स्ट्राइक दिए। अब नेपालले २ बलमा चार रन जोड्नु पर्ने भयो। अर्थात एक चौका भए खेल जित्ने, तर दुई बल मात्र बाँकी। विकेट पनि जोगाउनु पर्ने दबाब। यस्तो अवस्थामा अनुभवी नै भएपनि सन्दीपले ५० औँ ओभरको पाचौँ बलमा बाउन्ड्री प्रहार गर्न सकेनन्।
केवल एक रन बनाए। नेपालको आशा झन कमजोर बन्यो। ललितले अन्तिम बलमा जितका लागि ३ रन जोड्नुपर्ने थियो। तर केही बेर टिमका सहकर्मीसँग सल्लाह गरेका सफियानले ललितलाई बोल्ड गरे र नेपाल अलआउट भयो।
खेल हेरिरहेका लाखौँ नेपाली मात्र नभए क्रिकेट प्रेमीका लागि त्यो क्षण तपाई महसुस गर्न सक्नु हुन्छ। किनभने नेपालले खेलिरहेको नै थियो त्यस्तै नै।
अघिल्ला दुई खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई हराउँदा नेपाली क्रिकेटको स्तर अब कम्तिमा एक स्टेप अगाडि बढेको टिप्पणी भइरहेको थियो। आइतबार त्यति ठुलो लक्ष्य, अझ भनौँ अहिलेसम्म कहिल्यै पुरा नगरेको लक्ष्य पछ्याउँदा नेपाली ब्याटर स्कोरबोर्डलाई वास्ता नगरी खेलिरहेका थिए।
यो किन भनेको भने नेपालले ३४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। एक सय ८३ रनमा ६ विकेट ढलिसकेका थिए। दीपेन्द्रसिंह ऐरी मात्र ब्याटिङ स्पेसलिस्टका रुपमा बाँकी थिए। करण केसी, सोमपाल कामी र सन्दीप लामिछानेले पनि राम्रो खेल्लानले खेल जितिएला भन्ने भरोसा थियो।
दीपेन्द्र र सोमपालले नै नेपाललाई खेलमा ब्युँताए। हारि सकियो भन्ने अवस्थाबाट अब त जित्न सकिन्छ भन्ने स्थितिसम्म पुर्याए। यी दुईले सातौँ विकेटका लागि एक सय ५ रनको साझेदारी गरे- त्यो पनि १०.५ ओभरमा।
एकातर्फ विकेट धेरै बाकी नहुनु, अर्कातर्फ जितका लागि अझै झन्डै एक सय ४० रन जति आवश्यक रहेको अवस्थामा दीपेन्द्र र सोमपालले ज्यान दिएर खेले, सुझबुझपूर्वक खेले। रनिङ विट्विन द विकेट्सबाट यी दुई जनाले जोडेको रन सायद कम्तिमा एसोसियट क्रिकेटमा लामो समयसम्म चर्चा भइरहने छ।
उनिहरुले बढिरहेको दबाबलाई वेवास्था गर्दै खेले, हरेक बलमा रन जोड्ने प्रयाश गरे। चौका छक्का प्रहार गर्न नसके पनि २/३ रन कसरी लिन सकिन्छ सोमपाल र दीपेन्द्रले खेलेको जतिपटक हेर्दा पनि धित मर्ने छैन। दीपेन्द्र ४७ औँ ओभरको तेस्रो बलमा आउट हुँदा नेपाललाई बाँकी २१ बलमा ३६ रन चाहिएको थियो।
त्यसपछि आएका करनले सोमपालसँग मिलेर रनको रफ्तार बढाए। ४८ औँ ओभरको अन्तिम बलमा सोमपाल आउट हुँदा नेपालले ३ सय ८ रन जोडेको थियो। नेपाललाई बाँकी २ ओभरम १६ रन आवश्यक थियो। यहाँ उल्लेख गर्नैपर्छ करनअघि सोमपाल पनि खराब सट खेलेर आउट भएका थिए।
तरपनि करनले खेललाई ब्यालेन्जमा ल्याएका थिए। अन्तिम ओभरमा ७ रन मात्र चाहिएको स्थितिबाट त्यसभन्दा अघि कसले खराब खेले भनेर उल्लेख गर्नु आवश्यक नहुन सक्छ। नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याएर पनि अन्तिम समयसम्म त प्रयाश गरेकै हो नी भन्न पनि सकिएला। तर यदी खराब सट नखेलेको भए सहज हुन सक्थ्यो भन्ने चाहीँ अपेक्षा र अनुमान गर्न सकिन्छ।
एक ओभरमा केवल ७ रन मात्र जोड्ने कुरालाई हेर्ने हो भने अनुभवी करन र सन्दीपले आइतबार नेपालको ऐतिहासिक अवसर खेर फालेको भन्न सकिन्छ। जित त फेरी पनि प्राप्त होला।
तर ३ सय २४ रनको लक्ष्य पुरा गरेर प्राप्त हुने जित अनि खराब स्थितिबाट कमब्याक गरेर यति ठुलो लक्ष्य पुरा हुनु, नेपालले साँच्चै इतिहास बनाउने अवसर खेर फाल्यो भन्न सकिन्छ। स्कटल्यान्डविरुद्ध नेपालका भीम सार्कीले ७३, दीपेन्द्रसिंह ऐरीले ५६ र सोमपाल कामीले ६७ रन बनाए। आरिफ शेखले पनि ३९ रन जोडे। कुशल भुर्तेल १७ र आसिफ शेख ८ अनि कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भए।
विशाल लक्ष्य पछ्याउने क्रममा दुई ओपनर ब्याटर कुशल र आसिफलाई सुरुमै गुमाएको थियो। आसिफको गलत निर्णयका कारण कुशल रनआउटको शिकार भए। त्यसपछि लगत्तै आसिफ पनि आउट भए। नेपालले चौथो विकेटका लागि पनि ९४ रनको साझेदारी गरेको थियो। भीम सार्की र आरिफ शेखको उक्त साझेदारीले नेपाललाई रिकभरको प्रयाश गरेको थियो।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन कहिल्यै बनाएको थिएन। स्कटल्यान्डसँग आइतबार ३ सय २१ रन बनायो। यसअघि ३ सय १० रनसम्म बनाएको थियो। सन् २०२३ को अप्रिलमा त्रिवि क्रिकेट मैदानमा भएको एसिसि प्रिमियर कपमा नेपालले ओमनविरुद्ध पहिला ब्याटिङ गर्दै ३ सय १० रन जोडेको थियो। दोस्रो इनिङ्समा ब्याटिङ गर्नेक्रममा भने २ सय ९७ रनसम्म जोडेको छ। जुन अघिल्लो साता नेपालले स्कटल्यान्डसँग नै २ सय ९७ रनको लक्ष्य पुरा गरेको थियो।
यो हार प्रशिक्षक स्टुवार्ट लले नेपालका लागि व्यहोरेको पहिलो हो। अघिल्ला दुई खेलमा लगातार जितपछि नेपाली क्रिकेटमा ल एरा सुरु भयो भन्दै चर्चा हुन थालेको थियो। स्कटल्यान्डसँग हारेपछि यो खेलको बाँकी केही नै रहेन भन्ने चाहीँ होइन।
नेपालले पुन एकपटक आफ्नो ब्याटिङ स्ट्रेन्थ देखाएको छ। जति नै ठुलो लक्ष्य भएपनि नेपाली ब्याटरले भेटाउन सक्ने बहादुरी देखाएका छन्। त्यसका लागि आवश्यक पर्ने तालमेल ब्याटरमा देखिएको छ। जो कोही ब्याटर पनि चम्किन सक्ने क्षमता नेपाली टिमले देखाइरहेको छ।
बाँकी रह्यो स्कटल्यान्डले त्यत्रो रनको लक्ष्य चाहीँ कसरी दियो ? स्कटल्यान्डले अन्तिम १० ओभरमा मात्र एक सय २३ रन जोडेको थियो। अनुभवी सबै बलर निरिह देखिए। क्याच छुट्नु नेपालका लागि दुर्भाग्य रह्यो। त्यसो त स्कटल्यान्डका बलरहरुलाई पनि सजिलो भएन। नेपालले केही विकेट खराब सटकै कारण गुमाएको थियो।
अँ अर्को कुरा नेपालका दीपेन्द्रसिंह ऐरी एकदिवशीय अन्तराष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने पाचौँ नेपाली ब्याट्सम्यान बनेका छन्। रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल र आरिफ शेखपछि दीपेन्द्रको पनि एक हजार रन पुरा भएको हो। दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याटर हुन्।
अब स्कटल्यान्डमा नेपालले शृंखलाको अन्तिम खेल नेदरल्यान्ड्ससँग खेल्ने छ। नेपाल हाई नोटमा यो सिरिजलाई इन्ड गर्न चाहन्छ। त्यसका लागि फेरी तको विकल्प छैन।


