काठमाडौ। पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको विजेता बनेको छ।
नेपाली समयअनुसार सोमबार बिहान जर्मनीमा सम्पन्न फाइनलम पोर्चुगलले साविक विजेता स्पेनलाई टाइब्रेकरमा ५-३ गोलले हरायो। पोर्चुगलले सबै ५ प्रहारमा गोल गर्यो।

सुरुका तीन प्रहार गोलमा परिणत गरेको स्पेनका लागि चौथो प्रहार गरेका मोराटा चुकेका थिए। त्यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्।
खेलमा दुईपटक पछाडि परेर पनि पोर्चुगल बराबरीमा फर्किएको थियो। स्पेनका मार्टिन जुबिमेन्डी र मिकेल ओयारजबलले गोल गरे।
पोर्चुगलका नुनो मेन्डेस र क्रिस्टियानो रोनाल्डोले गोल गरे। पोर्चुगलले यसअघि सन् २०१९ मा आयोजना भएको पहिलो संस्करण जितेको थियो। रोनाल्डोले पोर्चुगलका लागि सन् २०१६ को युरोकप पनि जितेका छन्।


