काठमाडौं। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले गोली प्रहार गरी चार जना भारतीय लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये २ जनालाई गोली लागेको छ।
घाइते हुनेमा भारतको वेस्ट बंगालका ४० वर्षीय साशिक आलम र बिहारका २२ वर्षीय मन्जुर आलम रहेका छन्। खुट्टामा मन्जुरलाई दुई र साशिकलाई एक गोली लागेको छ। भारतकै २० वर्षीय सुमित कुमार र २५ वर्षीय चन्दनकुमार जैसवाल पनि पक्राउ परेका छन्।

ब्युरो प्रमुख कृष्ण कोइरालाका अनुसार सुन्धारामा दुई जनालाई नियन्त्रणमा लिएर बुझ्दा अन्य दुई जना टोखामा रहेको पाइएको थियो। त्यसपछि टोखामा पुगेर उनिहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई रडले हानेको र त्यसक्रममा गोली प्रहार गर्नु परेको प्रहरीले जनाएको छ। कारोबारीको आक्रमणबाट २ जना प्रहरी घाइते भएका छन्।
पक्राउ परेकाको साथबाट प्रहरीले २ सय ग्राम ब्राउन सुगर बरामद गरेको छ।


