नयाँ दिल्ली : विराट कोहलीले किन १८ नम्बरको जर्सी लगाउन थाले त्यसबारे उनीसँग कुनै उत्तर छैन। भारतका लागि यू-१९ राष्ट्रिय टोलीबाट खेल्दा उनलाई १८ नम्बरको जर्सी लगाउन दिइएको रहेछ। उनले कसैलाई पनि यो नम्बरको जर्सी मलाई दिनु पर्यो भनेका रहेनछन्। त्यसयता १८ नम्बरको जर्सीले उनलाई कहिल्यै छाडेन।
त्यही जर्सी लगाएर उनले यू-१९ विश्वकप खेले। भारतको सिनियर राष्ट्रिय टोलीमा परेपछि पनि कोहलीले त्यो जर्सी नम्बर छाडेनन्। त्यही जर्सी नम्बर लगाएर उनले सन् २०११ मा एकदिवशीय विश्वकप जिते। त्यसपछि च्याम्पिययन्स ट्रफि।

गत वर्ष टी-२० विश्वकप पनि। त्यति मात्र होइन, १८ नम्बरको कनेक्सन उनको लाइफमा पनि देखियो। उनी १८ वर्षका थिए जतिबेला उनको बुबाको १८ तारिखमै निधन भएको थियो। उनले १८ तारिखमै भारतको सिनियर टोलीबाट डेब्यु गरेका थिए। मंगलबार राती अहमदावादमा भएको इन्डियन प्रिमियर लिग आईपीएल फाइनलपछि कोहली भक्कानिए।
जोस हेजलउडले अन्तिम बल फ्याँकेपछि विराट कोहली यसरी रोए की खेल हेरिरहेका लाखौँ दर्शक भावुक बनेँ। विराट कोहलीका फ्यानहरुले पक्कै खुसीका आँशु रोक्न सकेनन्। यो एउटा लामो पर्खाईको खुसी थियो। अनेकन पिडापछि सफलता चुमेको समय थियो।
सन् २००८ मा सुरु भएको इन्डियन प्रिमियर लिग-आईपीएल पहिलो संस्करणदेखि खेल्दै आएपनि कोहली पटकपटक उपाधि जित्न असफल भएका थिए।
कोहलीले सुरुवातदेखि खेल्दै आएको रोयल च्यालेन्जर्स बैंगलोरले तीनपटक फाइनल पुगेर पनि हरेकपटक उपविजेतामा सिमित भएको थियो। अन्तत १८ वर्षपछि उनले आईपीएल उपाधिको सपना पुरा भयो। फेरी को-इन्सिडेन्ट नै मान्नुपर्छ, कोहली आईपीएल पनि १८ नम्बरकै जर्सी लगाएर खेल्दै आएका थिए।
विश्वकै सबैभन्दा ठुलो व्यावशायीक क्रिकेट लिग भारतमा हरेक वर्ष आयोजना भइरहँदा समकालिन क्रिकेटका एक महान खेलाडीको दर्जा पाएका कोहली आफ्नै घरमा लगातार निराश बनिरहेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटदेखि आईपीएलसम्म धेरैवटा लोभलाग्दा कीर्तिमान बनाएका उनी विश्वकै सबैभन्दा प्रतिष्ठित व्यावयशीक क्रिकेट प्रतियोगिताको उपाधि जित्न सकिरहेका थिएनन्।
कुनै समय क्रिस गेल, एबी डे भिलियर्सजस्ता विस्फोटक ब्याट्सम्यानहरु टिममा रहँदा पनि आरसिबीले आईपिएल जित्न सकेको थिएन। कोहलीमाथी पटकपटक टिप्पणी भइरहेको थियो- कतै उनको भाग्यमा आईपीएल जित्नै पो लेखिएको छैन की।
हुन पनि आरसिबी यसअघि तीनपटक आईपीएलको फाइनलमा पुगेर स्तब्ध भएको थियो। सन् २००९,२०११ र २०१६ यी तीनवटा वर्ष थिए जसमा आरसिबी फाइनल पुगेको थियो तर एकपछि अर्को फाइनलमा हार्न पुग्यो।
फाइनल जितेपछि कोहलीले भनेँ – मैले यो टिमलाई मेरो जवानी, प्राइम समय र अनुभव दिएको छु। हरेक पटक जित्न प्रयाश गरेँ, सक्नेजति सबै कुरा लगाएको थिएँ।
कोहली यसरी भनिरहेका थिए की अब उनको खेलाडी जिवन पूर्ण भयो। हजारौँ दर्शकसामु कोहलीले भने – अब म बच्चा जसरी सुत्न सक्छु।
कोहली इन्डिभिज्युल खेलाडीका रुपमा सन् २०१२ देखि खह्रो उत्रन थालेका हुन्। त्यस वर्ष उनले आईसिसी ओडिआई प्लेयर अफ दी इयर अवार्ड जितेका थिए। सन् २०१४ मा भएको टी-२० विश्वकपको प्लेयर अफ दी टुर्नामेन्ट भए। सन् २०१५ देखि लगातार तीन वर्ष भारतको वर्ष क्रिकेटर बने।
सन् २०१६ को टी-२० विश्वकपमा पनि प्लेयर अफ दी टुर्नामेन्ट भए। सन् २०१७ मा कोहलीले आईसिसिको वर्ष क्रिकेटर र वर्ष ओडीआई क्रिकेटर अवार्ड जिते। सन् २०१८ मा उनले यी दुवै अवार्डसहित टेस्ट क्रिकेटर अवार्ड पनि जिते। सन् २०२० मा कोहलीलाई आईसिसीले दशककै सर्वश्रेष्ठ क्रिकेटर र ओडिआई क्रिकेटर अवार्ड दिएको थियो।
उनी सन् २०२३ मा भएको एकदिवशीय विश्वकपमा प्लेयर अफ दी टुर्नामेन्ट भएका थिए। कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी सतक बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्, भारतकै सचिन तेन्दुलकरपछि। सचिनको नाममा एक सय र कोहलीको नाममा ८२ अन्तर्राष्ट्रिय सतक छ। यस्तो गौरवशाली इतिहास भइकन पनि कोहली आईपिएलमा भने चुकिरहेका थिए।
उनलाई बारम्बार आईपिएलले चिमोटिरहन्थ्यो। किनभने आईपीएलमा उनले उपाधिबाहेक सबै जितिरहेका थिए। उनी आईपिएल इतिहासका सर्वाधिक रन बनाउने ब्याटर हुन्। सन् २०१६ र गत वर्षको आईपीएल एडिसनमा प्रतियोगिताको सर्वाधिक रन जोडेर उनले अरेन्ज क्याप जितेका थिए।
तर पनि आईपीएल ट्रफि बिना उनका यी सफलता अपुरा थिए, अधुरा थिए। यहाँ उल्लेखनीय के छ भने यो वर्ष पनि कोहली बैंगलोरका लागि आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान थिए। फाइनलमा पन्जाबविरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेँ।
कोहली लामो समय आरसिबीका कप्तान थिए। सन् २०१३ देखि २०२१ सम्म उनले आरसिबीको कप्तानी गरे। तर भारतिय कप्तानका रुपमा जस्तै आरसिबी कप्तानका रुपमा पनि उनले उपाधि जित्न सकेनन्। बरु कप्तानी छाडेपछि उनले भारतीय टोली र आरसिबी दुवैका लागि उपाधि जितेका छन्। च्याम्पियन बनेका छन्।
केहि समय अघि कोहलीले नम्बर १८ को आफ्नो लाइफमा कस्मिक कनेक्सन भएको जस्तो लाग्ने अनुभव सेयर गरेक थिए। हुन पनि नम्बर १८ उनका लागि पर्याय बनेको छ। तपाईलाई कत्तिको थाहा छ। कोहली र उनको जर्सी नम्बरमाथी फिल्म नै बनेको छ। कोहली आफैले नम्बर १८ लाई ब्रान्डका रुपमा स्थापित गरेका छन्- वन ८ ब्रान्ड कोहलीले त्यसैका लागि सुरु गरेका थिए। कोहलीले आईपीएल जितेपछि अब नम्बर १८ थप कम्लिट बनेको छ।


