काठमाडौं। इजरायल र अमेरिकाले इरानका जनतालाई ठाउँ खाली गर्न र सुरक्षित ठाउँमा जान भनिरहेका छन्। यता इरानले पनि त्यसै भन्दै छ इजरायलको तेल अभिभ, हैफाजस्ता शहरका बासिन्दालाई। यसले इरान-इजरायलबीच एक साता अघि सुरु भएको युद्ध थप चर्किन सक्ने र कहाँ पुगेर रोकिन्छ भनेर अनुमान गर्न नसकिने अवस्थामा छ।
इजरायलले सैन्य र आणविक कार्यक्रमका इलाकालाई लक्ष्यत गरेर आक्रमण सुरु गरेकामा इरानी जनतासँग आफ्नो कुनै समस्या नरहेको उसको भनाई थियो।

इजरयालको मिसाइल र ड्रोन आक्रमण इरानका सैन्य इलाका, मिसाइ लन्च केन्द्र, अनुसन्धान केन्द्र, तेल तथा ग्याँस खानी, परमाणु प्रसोधन केन्द्रलाई लक्ष्यित गरिएको छ। परमाणु बमका लागि प्रयोग हुन सक्ने युरेनियमको प्रशोधन केन्द्र र प्लुटोनियम उत्पादन गर्ने न्युक्लियर रियाक्टरमा आक्रमण भएको छ। हाइ प्रोफाइल सैन्य अधिकारी र परमाणु वैज्ञानिकहरुलाई तार्गेट गरिएको छ।
इरान परमाणु हतियार अर्थात परमाणु बम बनाउने विन्दुमा पुग्न लागेकाले आक्रमण गरेको इजरायल भन्दै छ। अप्रेसन राइजिङ लायन दिएको यो कारबाहीलाई इजरायलले आत्मरक्षाका लागि भनेको छ। इरानले परमाणु बम बनाएमा त्यसले अस्तित्व सिध्याउन सक्ने इजरायलको बुझाई छ। त्यसैले परमाणु हतियार बनाउने संरचनादेखि त्यसको नेतृत्व गर्ने सत्ता, सेना, गुप्तचर र वैज्ञानिक सबैलाई सिध्याउन इजायलले खोजेको देखिन्छ।
इजरायलले गरेको अपराधमाथी सजाय भन्दै इरानले जवाफी हमला गरिरहेको छ। इरानले पनि सुरुमा सैन्य इलाकामा मात्र आक्रमण गरेको जनाएको थियो। तर स्थिती असामान्य बन्दै गएको छ। पछिल्ला समाचारहरुमा इजरायलमा अस्पतालमा समेत मिसाइल हानिएको दावी गरिएको छ।
यतिबेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानबाट परमाणु बमको थ्रेट अन्त्य नगरेसम्म आक्रमण गरिरहने बताएका छन्। यसको मतलब परमाणु कार्यक्रमहरु सबै ध्वस्त बनाउन चाहन्छ इजरायल। त्यसमा संलग्न लिडर र मानव स्रोतलाई पनि सखाप पार्न चाहन्छ। नेतान्याहुले तेहरानको आकाशमाथी इजरायलले नियन्त्रण जमाउने बताइरहेका छन्।
इरानले आफ्नो आणविक कार्यक्रम जनताको लागि सन्चालन गरिएको र परमाणु बम बनाउने कुरा झुटो भएको दावी गरिरहेको छ।
आणविक कार्यक्रम उर्जाका रुपमा मात्र प्रयोग हुने उसको भनाई छ। आणविक उर्जा कार्यक्रममा गरिएका आक्रमणलाई लिएर इरानले संयुक्त राष्ट्र संघको परमाणु कार्यक्रम वाचडग इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सी अर्थात आईएईएमा कम्प्लेन गरेको छ।
इरानले आईएईएका प्रतिनिधिहरुलाई आफ्ना परमाणु कार्यक्रमको अनुमगनका लागि नियमित रुपमा बोलाउने गरेको थियो। आफ्ना यी कार्यक्रमहरु परमाणु हतियारका लागि नभएको विश्वास दिलाउन इरानले यस्तो गरिरहेको थियो।
यसको आधार सन् २०१५ मै तयारभ एको थियो जब इयु र अमेरिकालाई समेत राखेर इरानले जोइन्ट कम्प्रिहेनसिभ प्लान सम्झौता गर्यो।
इरानले आफ्नो युरेनियम सम्वर्द्ध कार्यक्रमलाई ३ दशमलब ६७ प्रतिशतमा झार्ने, फोर्डो, नातान्ज र अरकजस्ता प्रमुख आणविक कार्यक्रम केन्द्रहरुमा निगरानी कडाई गर्ने, आईएईएका निरिक्षणकर्ताहरुलाई खुला पहुँच दिने शर्तहरु थिए।
इरानमाथी लगाइएका आर्थिक नाकाबन्दीहरु हटाइने पनि त्यसलमा उल्लेख थियो। सन् २०१८ मा ट्रम्प नेतृत्वको तत्कालिन अमेरिका यो सम्झौताबाट बाहिरिएपछि फेरी तनाव सुरु भएको थियो। आणविक सम्झौताका लागि पछिल्लो समय इरान र अमेरिकाबीच वार्ता चलिरहेको थियो। आगामी वार्ता हुनुअभन्दा दुई दिनअघि इजरायलले इरानमाथी गत शुक्रबार आक्रमण गर्यो।
इरान लुकेर परमाणु बम बनाउने लागिरहेको अमेरिका र इजरायलले आरोप लगाइरहेका छ्न। परमाणु बम बनाएर इरानले विश्वलाई आतङ्किन बनाउनु अघि उसलाई जसरी पनि रोक्नुपर्ने उनिहरु बताइरहेका छन्।
इजरायलसँग लामो समयदेखि लडिरहेको गाजाको हमास, यमनको हुथी र लेबनानको हिजबुल्लाह विद्रोही समूहलाई इरानले साथ दिएको दावी अमेरिकासमेतको छ। मुस्लिम बाहुल्य देशहरुको बीचमा रहेको इजरायल चारैतिर लडिरहेको छ- कहिले विद्रोही समूहसँग त कहिले इरानसँग।
इरानको बुझाई छ- इजरायलमार्फत अमेरिका उनिहरुसँग लडिरहेको छ। इजरायललाई मध्यपूर्वी एसियामा अमेरिकाले रणनीतिक रुपमा प्रयोग गरिरहेको इरानको दावी छ। जारी युद्धको सुरुवातमा अमेरिकाले आफ्नो संलग्नता नरहेको बताइरहेको थियो।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका गतिविधिबाट यो युद्धमा अमेरिकाको कुनै भूमिका नरहेको देखिँदैन।
उनले केही दिन अघि इरानका सर्वोच्च नेता अयोतल्लाह अलि खमिनी कहाँ लुकेर बसेका छन् भन्ने आफुलाई थाहा भएपनि अहिले उनलाई नमार्ने बताएका थिए। उनले चाहे सजिलै मार्न सकिने बताएका थिए।
ट्रम्पले त्यहाँका जनतालाई तेहरान खाली गरेर सुरक्षित हुन पनि भने । बुधबार ट्रम्पले इरानमाथी आक्रमण गर्ने योजना पारित गरेका छन्। तर कहिले आक्रमण गर्ने भनेर कुनै निर्णय भएको छैन।
मध्यपूर्वी एसियामा अमेरिकी सेनाको रणनैतीक उपस्थिती देखिन्छ। कतार, साउदी अरब, कुवेत,बहराइनलगायत देशमा अमेरिकी सेनाको एयर बेसहरु छन् जसलाई इरानविरुद्धको जारी युद्धमा अमेरिकाले मुभ गर्न सक्छ। अमेरिकाका दुईवटा युद्ध पोत गल्फ पुगिसकेका छन्। यस्तै इन्धन रिफ्युलिङ ट्यांकर पनि अगाडि बढेका छन्।
इरानी सर्वोच्च नेता खामेनीले आक्रमण गरे अमेरिकालाई त्यो महँगो पर्ने जवाफ दिएका छन् र इरानी जनताले आत्मसमर्पण नगर्ने बताएका छन्।
यतिबेला दुई देशबीच आक्रमण बढिरहँदा त्यहाँका जनता तनावमा छन्। आकाशमा साइरन र वरिपरिबाट बम विस्फोटका आवाज सुन्दै उनिहरु बाँचिरहेका छन्।
इजरायलका तेल अभिभ, हाईफालगायत थुप्रै शहरमा सार्वजनिक बंकर तथा सेल्टरहरु छन् जसमा मिसाइल तथा बम आक्रमणका बेला बेला सर्वसाधारण गएर बस्न सक्नन्। यस्ता सार्वजनिक बंकरहर ठुलो संख्यामा रहेका छन्। इजरायलमा कति अस्पताल जमिन मुनी नै सन्चालन गरिएका छन्।
तर इरानमा भने सर्वसाधारणको सुरक्षाका लागि बंकरहरु बनाइएका छैनन्। अर्थात ठाउँ छाडेर अन्य सुरक्षित ठाउँ जानुको विकल्प हुँदैन। तेहरानमा मात्र करिब एक करोड जनसंख्या बसोबास गर्छन्। जारी युद्धमा इरानमा ४ सयभन्दा बढी र इजरायलमा २४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।
अमेरिका यो युद्धमा प्रत्यक्ष सहभागी भए इरान र इरानीको तनाव थप चुलिने छ।
अमेरिकासँग अत्याधुनिक सैन्य हतियार छन् जसले इरानको अन्डरग्राउन्ड युरेनियनम संबर्द्धन भट्टीहरुमा क्षति पुराउन सक्छ। अमेरिकासँग रहेको बी टु बम्बरले राडरहरुलाई छेल्दै बम खसाल्न सक्ने र ती बमहरु जमिनको सतहबाट ६० मिटर तलसम्म पुगेर विस्फोट हुन बिबिसी, अलजजिरालगायत अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।
हाल इजरायलसँग भएको बम जमिनबाट १० मिटरसम्म तल पुगेर विस्फोट हुने क्षमताका छन्। त्यसले इरानले इजरायलले क्षति पुर्याउन नसक्ने भनेको दक्षिण भागमा पर्ने फोर्डो आणविक केन्द्रलाई अमेरिकाले समस्या पार्न सक्छ। पहाडी क्षेत्रमा रहेको फोर्डो आणविक केन्द्र जमिनबाट ८० देखि ९० मिटर मुनी रहेको दावि गरिएको छ।
बी टु बम्बर अहिले १९ वटा प्रयोगमा छन्। दुई दशमलब एक बिलियन अमेरिकी डलर पर्ने यो बम्बरले १८ हजार केजी बम बोक्न सक्छ।


