विवादमा आइरहने एमाले नेता महेश बस्नेत यतिबेला साह्रै अप्ठेरोमा परेका छन्। साह्रै अप्ठेरोमा किन भनेको हो भने उनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि विवादमा तानिएका छन्।
अब पार्टी अध्यक्ष नै अप्ठेरोमा परेपछि बस्नेतलाई तनाव भएन त ? उनलाई बेचैन र निद हराम गर्ने व्यक्ति थिइन्। गायिका समिक्षा अधिकारी।

समिक्षाले बस्नेतका कारण आफु विक्षिब्द भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै शनिबार साँझ स्टाटस लेखेकी थिइन्। समिक्षाको स्टाटस आएपछि बस्नेत आँत्तिए। उनले स्टाटसलाई एडिट गरे। उनले आफ्नो मनासय गलत नभएको भन्दै चित्त दुखेको भए माफी मागेको स्पष्ट पारे। यो घटनालाई बुझ्न केही दिन अगाडि पुग्नुपर्छ।
पल शाहसँग जोडेर आफुविरुद्ध नराम्रो कमेन्ट गर्नेहरुको तस्विर समिक्षाले सामाजिक सन्जालमा सार्वजनिक गर्न थालिन्। समिक्षालाई पछ्याउँदै अर्की गायिका एलिना चौहानले पनि त्यसै गरिन्। खासगरी विष्ण सापकोटासँगको डिभोर्सपछि एलिनाका सामाजिक सन्जालमा नराम्रा कमेन्टहरु बढेका थिए।
त्यस्ता कमेन्ट गर्नेहरुलाई एलिनाले तस्वरसहित सार्वजनिक गरिन्। समिक्षा र एलिनाको यस्तो आँटको प्रसंशा धेरैले गरे। उनिहरुलाई साहसिक भने।
शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले समिक्षा र एलिनाको तस्विर राखेर साहसिक महिला भन्दै प्रंसशा गरेका थिए। केही बेरमा महेशले आफुविरुद्ध बलात्कारको झुट्टा आरोप लगाएर विगतमा सन्दीप लामिछाने, पल शाहलाई जस्तै फसाउने षड्यन्त्र भएको स्टाटस लेखे। यही स्टाटसलाई लिएर साँझ समिक्षाले प्रधानमन्त्रीलाई सम्बोधन गरेर स्टाटस लेखेकी थिइन्।
समिक्षाले यसरी लेखिन् कि प्रधानमन्त्री केपी ओलीले यस विषयमा पक्कै महेश बस्नेतसँग कुरा गरे होलान् वा कुरा गर्न लगाए होलान्। हामी अनुमान गर्न सक्छौँ।
समिक्षाले लेखेकी थिइन् , ‘ सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै, हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु। जनताको अदालत भन्दा ठुलो अरु केहि छैन। जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्। बस्नेत ज्यूलाई मेरो प्रश्न छ, मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउथ्यो ?’
समिक्षाको जाहेरीपछि बलात्कार मुद्धामा पक्राउ परेका नायक पल शाहले पछि सफाई पाएका थिए। पल शाहका समर्थकहरु समिक्षाले उनलाई फसाएको र चरित्र हत्या गरेको आरोप लगाउँछन्। समिक्षा भने आफुले बयान फेरिदिएकै कारणले मात्र पलले सफाई पाएको दावीसहित भन्ने गर्छिन्- जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ।
कानुनले बलात्कार कसुरको झुटा जाहेरी दिन मनाही गरेको छ र त्यस्तो जाहेरी दिनेलाई सजायको पनि व्यवस्था गरेको छ।
अदालतमा बयान फेरेकी समिक्षाले पल शाहलाई जोडेर आफुविरुद्ध आक्रमण हुँदा खुलेहाम भन्दै आएका कुराले संकेत गर्छ- उनीमाथी बलात्कार चाहीँ भएको थियो तर पल शाहको मुख हेरेर माफी दिइन्। सायद यसैलाई उनले आफुले हारेको भन्न खोज्छिन्।
प्रधामन्त्री ओलीलाई नै सम्बोधन गरेर लेखिएको स्टाटसमा यस्तो आशय समिक्षाले दोहोर्याउनको अर्थ आँटिलो नै मान्नुपर्छ। सायद जहाँ सुकै उभ्याइए पनि समिक्षाले भन्नेछिन्- उनले पल शाहका लागि हारि दिएकी हुन्।
मैले अघि नै भनेँ- समिक्षा त्यतिबेला मात्र यी कुरा बोल्छिन् जब उनलाई पल शाहसँग जोडेर आक्रमणको प्रयाश हुन्छ।
महेश बस्नेतले पनि त्यसै गरेपछि समिक्षाको स्टाटस आएको थियो। एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कोही कसैले नराम्रो भने वा लेखेलगत्तै आक्रमणमा उत्रि हाल्ने बस्नेतले शनिबार बिहान आफ्नै बचाउमा लामो स्टाटस लेखेका थिए।
एमालेनिकट शोभा पाठकले लामो समयदेखि महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै आएको विषयसँगको सेरोफेरोमा उक्त स्टाटस छ। बस्नेतले आफुलाई विवाह गरेको, लिभिङ टुगेदरमा रहेको, एबर्सन गरेकोजस्ता आरोपहरु पाठकका छन्।
पाठकले यसअघि प्रहरीमा दिएको जाहेरी प्रमाण अभावमा तामेलीमा राखिएको थियो। त्यस निर्णयविरुद्ध पाठक उच्च अदालत पुगेकी थिइन्। अदालतले रिट खारेज गरेपछि बस्नेतलाई राहत मिलेको थियो। तर शोभा फेरी आफुसँग प्रमाण रहेको भन्दै पुरक जाहेरी लिएर प्रहरीकहाँ पुगिन्।
तर जिल्ला सरकारी वकिल कार्यालयले तामेलीमा राख्ने निर्णय यथावत रहेको २०८१ माघ २० गते पाठकलाई जानकारी दियो। त्यसपछि पाठक फेरी उच्च अदालत पाटन पुगेकी थिइन्। अदालत प्रशासनले सुरुमा उक्त पाठकको रिटलाई दरपिठ गरिदियो त्यसको मतलब थियो रिट दर्ता गर्न योग्य छैन। पाठकले दरपिठविरुद्ध रिट हालिन्। रिटको प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनले असार १२ गते दरपिठको आदेश बदर गर्यो र र दर्ता गर्न आदेश दियो।
तत्कालिन प्राप्त प्रमाणका आधारमा पुरानो फैसला भएको र अहिले पाठकले अरु प्रमाण ल्याएको दावी गरेको अवस्थामा त्यसलाई इजलासमार्फत निरुपण गर्नुपर्ने उच्च अदालतको आदेशमा उल्लेख छ।
पाठकको रिट दर्ता गर्ने अदालतको आदेशपछि तनावमा आएका थिए महेश बस्नेत।
शोभा पाठकले झुठा आरोप लगाएको, आफ्नो राजनीतिक करियर सिध्याउन उनलाई कसैले प्रयोग गरिरहेको दावी महेश बस्नेतको छ।
अदालतले एकपटक निरुपण गरेको विषय फेरी बल्झाएर आफु र परिवारलाई मानसिक तनाव दिएको दावी उनको छ। यता आइतबार यो प्रकरणमा महेश बस्नेत पत्नी अम्बिका भण्डारी बस्नेतले पनि मुख खोलेकी छिन्।
उनले शोभा पाठक चरित्रहिन भएको र पैसाको बार्गेनिङ गर्न झुटा आरोपहरु लगाउने गरेको उल्लेख गरेकी छिन्। आफ्ना पति महेश बस्नेत निर्दोष भएको अम्बिकाको दावी छ।
अदालतको पछिल्लो आदेश, महेश बस्नेतको स्टाटस, त्यसप्रति आपत्ती जनाउँदै गायिका समिक्षा अधिकारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको म्यासेज अनि अम्बिका भण्डारी बस्नेतको आइतबारको फेसबुक स्टाटस, बल्झिएको शोभा पाठक प्रकरणले महेश बस्नेत कति तनावमा पुगेका छन् हामी अनुमान गर्न सक्छौँ।
अब शोभा पाठक प्रकरण कसरी अगाडि बढ्छ, अदालतले गर्ने आदेशले निर्क्योल गर्ने छ। यहाँ उल्लेखनीय के छ भने अदालतले यसअघि साम्य पार्दा पनि शोभा पाठकले महेश बस्नेतविरुद्ध निरन्तर आरोप र लान्छनाहरु लगाएकी थिइन्।



