काठमाडौं। यतिबेला नेपाल सरकारका एक जना अधिकृत प्रहरी हिरासतमा छन्। अधिकृतजस्तो मान्छे पक्कै भष्ट्रचार वा घुस लिएर पक्राउ पर्यो होला ? सुन्ने वित्तिकै तपाईलाई त्यस्तै लाग्न सक्छ।
तर घटना अलिक फरक छ। गम्भिर र जघन्य अपराध मानिने बलात्कारको कसुर गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अनि ती अधिकृतले बलात्कार गरे भनेर प्रहरीमा जाहेरी दिने व्यक्ती पनि नेपाल सरकारकै अधिकृत हुन्।

नेपाल सरकारकै अधिकृत बलात्कार मुद्धामा पिडित ? सुन्दा तपाईलाई यस्तै प्रश्न उठ्न सक्छ ? अनि बलात्कार मुद्धामा अधिकृत पक्राउ ? तपाईलाई केही अनौठो पनि लाग्न सक्छ।
दुई जना सिनियर अफिसर कसरी बलात्कार मुद्धामा जोडिए ? तपाईले बलात्कारसँग सम्बन्धित घटनाबारे विगतमा सुनेका कहानीभन्दा पक्कै फरक पाउने हुने छ।
गोपनीयताका कारण हामिले जाहेरवालालाई कविता र आरोपीलाई जिवन भनेर सम्बोधन गर्ने छौँ।
कविता र जिवन कुनै समय नेपाल सरकारको कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गर्थे। भर्खरै जागिर थालेकी कविताको पोस्टिङ काठमाडौं बाहिर थियो। कविताको पोस्टिङ भएको ठाउँबाट जिवन भर्खरै काठमाडौं सरुवा भएका थिए।
उनिहरुबीच भेटघाट २०८० असोजतिरबाट सुरु हुन्छ। कविता काम गर्ने ठाउँमा जिवन पुगेका थिए रे, कामकै शिलशिलामा। त्यहीँबाट उनिहरुबीच परिचय भएको रहेछ। २०६७ सालमा नायब सुब्बामा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेका जिवन त्यसको चार वर्षमै खुला प्रतिस्पर्धाबाट अधिकृत बनेका रहेछन्। सिनियर अधिकृत र एउटै विभाग भएकाले जिवनबाट कविता प्रभावित हुनु अस्वभाविक थिएनँ। उनिहरु चाँडै फेसबुकमा जोडिए। म्यासेन्जरलगायत सामाजिक सन्जालबाट कुराकानी हुन थाल्यो।
कविताले बताएअनुसार २०८१ मंसिरमा उनको हेटौँडास्थित अर्को सरकारी कार्यालयमा सरुवा भयो। त्यसपछि जिवन आफुसँग निकै नजिकिएको कविताको दावी छ। जिवनले आफ्नो कार्यालयमा आएर भेटघाट गर्ने, काम सिकाउने जस्ता सहयोगी व्यवहार देखाउन थालेका थिए।
यहाँसम्म उनिहरुबीच सबै ठिकठाक थियो। ३/४ वर्षअघिसम्म काठमाडौंकी कीर्तिपुरमै बसेर पढेकी कविताले त्यहाँ कोठा छाडेकी थिइनन्, भाई बस्ने गरेका थिए। काठमाडौं आउँदा उनी त्यही कोठामा गएर। बस्थिन्। यता जिवन ललितपुरको सानागाउँ बस्दै आएका थिए। कविताका अनुसार काठमाडौं आउँदा कहिले काहीँ काम लाग्छ, मेरो कोठा हेर्नु भन्दै उनलाई जिवनले साना गाउँ लगेका थिए रे ?
त्यस दिन आफ्नो इच्छाविपरित जिवनले शारिरिक सम्बन्ध राखेको कविताको दावी छ। त्यस दिन तिमीलाई विवाह गरि जिवनभर साथ दिन्छु भनेर जिवनले कागज समेत गरेको कविताको भनाई छ। यस्ता कागजत उनिहरुबीच धेरैपटक, खासगरी शारिरिक सम्बन्ध भएपछि भएको, जिवनले विवाह गर्छु भनेर कागज गरेको दावी कविताको छ।
कविताले जेठ २७ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। यो जाहेरीमा जिवनले अन्तिमपटक कवितालाई कीर्तिपुरमा बलात्कार गरेको आरोप लगाइएको छ।
कीर्तिपुर अर्थात पहिला कविता र हाल उनका भाई बस्ने गरेको कोठामा जिवनले बलात्कार गरेको दावी गरिएको छ। यो २०८१ माघतिरको घटना हो। कविता कामकै शिलशिलामा काठमाडौ आएकी थिइन् रे। त्यतिबेला उनका भाई घर गएका रहेछन्। जिवनले भेट्न आग्रह गरेकाले उनी आफ्नो कोठामा आएको कविताले जाहेरीमा उल्लेख गरेकी छिन्।
कविताका अनुसार आफुले प्रहरीमा उजुरी गर्छु भन्दा जिवनले विवाह गर्छु भन्दै कागज गर्ने गरेका थिए। यहाँ गाह्रो के थियो भने जिवन पहिल्यै विवाहित थिए। कविता अविवाहित थिइन्। जिवनले श्रीमतीसँग डिभोर्स गरेर विवाह गर्छु भन्दै कागज गरेको कविताले जाहेरीमा उल्लेख गरेकी छिन्। कविताले प्रमाणका रुपमा जिवनसँग भएको कुराकानीको भिडियो पनि पेश गरेकी छिन्।
कविता प्रहरीमा पुगेको दुई दिनपछि नै जिवन पक्राउ परेका थिए। अनुसन्धानका क्रममा जिवनले कवितालाई बलात्कार गरेको आरोप अस्विकार गरेका छन्। विवाह नगरे आत्महत्या गर्छु भन्दै कविताले धम्की दिने गरेको उनको भनाई छ। यस्तै जबर्जस्ती करणको जाहेरी दिन जाँदै छु भनेर आफुलाई पशुपतीनाथ मन्दिरमा बोलाएर कागजमा दस्तख गर्न लगाएको पनि उनको दावी छ। आफुले इज्जत जाने डरले कागजमा दस्तखत गरेको बयान दिएका छन्।
यतिबेला जिवनमाथी १० वर्षसम्मको कैद सजाय माग गरेर अदालतमा अभियोग पत्र दायर भएको छ।



