काठमाडौं। १६ जनाको परिवार तर केही दिनसम्म पनि गाउँलेले चाल पाउँदैनन्-उनिहरु गाउँबाट बेपत्ता भएको।
हो सही सुन्दै हुनुहुन्छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पानजिक भण्डास विप्पर कटेरी भन्ने ठाउँमा रहेको एक घरमा बसिरहेका कम्तिमा १६ जना सम्पर्कविहिन भएका छन्।

उर्मिला हायु, उनका ६ जना छोरा, ५ जना छोरी, ज्वाई र नाति नातिना सम्पर्कविहिन छन्। उनिहरु कहिलेदेखि बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन। हालसम्मको अनुसन्धानमा उनिहरु बिहीबारसम्म घरमै थिए भन्ने पाइएको छ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बिहिबार उर्मिलाको घरमा सुँगुर काटेर भोज गरिएको थियो। केही मासु गाउँलेले पनि किनेका थिए। वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाका अन्य आफन्तहरु पनि त्यस दिन उनको घरमा आएको बुझिएको बताए। जे होस् कम्तिमा १६ जना त्यस घरमा थिए चाहीँ स्थानीयले पुष्टि गरेका छन्।
उर्मिलाको परिवारले करिब ४५ मिनेटको पैदल दुरीमा एक आफन्तको घर नजिकै सानो ठाउँ बनाएर भैँसी पालेको थियो। उनिहरु दिनहुँ जसो भैँसीको रेखदेख गर्न पुग्थे। तर बिहीबारदेखि भैँसी हेर्न कोही गएका थिएनन्। ती आफन्तले नै हेर्दिरहेका थिए।
आइतबार साँझसम्म पनि कोही नगएपछि ती आफन्त सोमबार बिहान उर्मिलाको परिवार कहाँ गएछ भनेर बुझ्न उनको घर आएका थिए। घरमा कोही नदेखिएपछि उनी आँत्तिए। नजिकै खरानी र निभेको काठ पनि थियो। सामानहरु भद्रगोल थिए। काँचो मासु डेढ दुई धार्नी थियो। त्यसपछि गाउँलेलाई जानकारी गराए। अनि हल्ला फैलियो- गोलन्जोरबाट १६ जनाको परिवार बेपत्ता भयो।
हायुलाई नेपाल सरकारले लोपन्मुख जात मानेको छ। हायु जातीका प्रत्येक सदस्यलाई सरकारले मासिक ३ हजार ९ सय ९० रुपैयाँ दिने गरेको छ। उर्मिलाका ६ छोरी र ६ छोरा छन्। केही छोरी र छोराको विवाह भइसकेको छ। उर्मिलाका श्रीमान केही वर्ष अघि एकाएक बेपत्ता भएका थिए। बेपत्ता भएको केही सातामा जंगलमा उनको शव भेटिएको थियो।
उनको परिवार बस्दै आएको घरबाट मज्जाले कराउँदा पनि कसैले सुन्दैनन्। वडाध्यक्ष श्रेष्ठका अनुसार त्यहाँबाट अर्को घर पुग्न १५ मिनेट हिँड्नुपर्छ। प्रारम्भिक अनुसन्धानमा त्यस घरमा सबै १६ जना बस्दैन थिएँ। सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताको साउनमा नविकरण गर्न मात्र उनिहरु एकै ठाउँमा जम्मा भएका थिए। अरु बेला छरिएर बस्ने गरेको स्थानीयले बताएका छन्।
गोलान्जोर गाउँपालिकाका अनुसार उर्मिलाको परिवारले साउन ८ गते आफुसहित छोराछोरी, बुहारी, ज्वाई र नातिनातिनाको गरेर १८ जनाको सामाजिक सुरक्षा भत्ता लिएका थिए। तीन महिनाको सामाजिक सुरक्षा भत्ता २ लाख रुपैयाँ भन्दा बढि लिएको पाइएको छ। वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको परिवारको सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाहेक अन्य आय स्रोत छैन। भत्ता आएपछि उनिहरुले एकैचोरी ट्याक्टरमा सामान ल्याएर गुजारा टार्ने गरेका थिए। यतिबेला उर्मिला र उनको परिवार कहाँ गयो सबैलाई अचम्मित बनाएको छ।
प्रहरीले प्राविधिक अनुसन्धान पनि गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा हायु परिवारले बोक्दै आएको मोबाइलको लोकेसन शुक्रबार राती १० बजेर ९ मिनेटमा रामेछापको सिमन्दीछाप देखिएको थियो।
वडाध्यक्ष श्रेष्ठअनुसार त्यो ठाउँ उर्मिलाको घरदेखि झन्डै ३ घण्टा पैदल दुरिमा पर्छ। रामेछापको त्यस क्षेत्रमा हायु समुदाय बस्ने भएकाले कतै त्यहाँ गए की भन्ने आशंका छ।
तर प्रहरीले थप केही बताएको छैन। उर्मिला र उनको परिवार बस्दै आएको ठाउँ खुर्कोटबाट करिब एक घण्टाको दुरीमा रहेको बताइएको छ।



