काठमाडौं। गैह्र आवासीय नेपाल संघ-एनआरएनएको आगामी २ वर्ष (कार्यकाल)का लागि सदस्यता लिनेहरुको विवरण सार्वजनिक भएको छ। एनआरएनएका अनुसार कुल ८० हजार ३ सय ६२ जनाले सदस्यता लिएका छन्।
तीमध्ये एसिया प्यासिफिकबाट सबैभन्दा बढी २२ हजार ३सय ७९ जनाले सदस्यता लिएका छन्।

एसिया प्यासिफिकमा कम्बोडिया, चीन, हङकङ, जापान, दक्षिण कोरिया,मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स र थाइल्यान्डसहित १० वटा देश पर्छन्। यस्तै कोलम्बिया, क्यानडा, चिली, अमेरिका र ब्राजिल रहेको अमेरिकाजमा १६ हजार ७ सय ६४ जनाले सदस्यता लिएका छन्।
अफ्रिकाका ९ देश कंगो, घाना, केन्या, रुवान्डा, सेसेल्स, दक्षिण सुडान, तान्जानिया, युगान्डा र जाम्बियामा कुल ९ सय ७ जनाले सदस्यता लिएको एनआरएनए सचिवालयले जनाएको छ।
अस्ट्रेलिया, न्युजिल्यान्ड र पपुआन्युगिनी रहेको ओसिनियामा कुल १६ हजार ५ सय ३८ जनाले सदस्यता लिएका छन्। युरोपमा १२ हजार २ सय १ र मध्यपूर्वमा ११ हजार ५ सय ७३ जनाले सदस्यता लिएको एनआरएनएले जनाएको छ। युरोपका २५ र मध्यपूर्वका ६ देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद्-एनसिसी रहेका छन्।
तोकिएको समयसिमा अर्थात जुलाई ३१ तारिखसम्म एनआरएनएका ५८ एनसिसीमा चुनाव सम्पन्न भएको छ। एनआरएनएको आईसिसी निर्वाचन आगामी अक्टोबरमा गर्ने तयारी छ।




