काठमाडौं। अहिले धेरैको मनमा उठिरहेको प्रश्न : वेस्ट इन्डिजसँग भइरहेको ऐतिहासिक शृंखलामा सन्दीप लामिछाने किन खेलिरहेका छैनन् । आशंकाहरु थुप्रै छन् । सन्दीप आफैले खेल्न नचाहेका हुन् की उनलाई टिममा नराखिएको हो ? स्पष्ट बाहिर आएको छैन।
जे भएपनि यतिबेला सन्दीप र नेपाल क्रिकेट संघबीच सामान्य अवस्था छैन भनेर हामी सहजै अनुमान गर्न सक्छौँ। अनुमान किन भनेको हो भने यो विषयमा दुवै पक्षले केही स्पष्ट पारेका छैनन्। तर यो सामान्य घटना भने होइन।

हामी सबैलाई थाहा छ सन्दीप लामिछाने नेपाली क्रिकेटका पोस्ट ब्वाई हुन्। मैदानमा उनको उपस्थितीले कति फरक पार्छ- इतिहास साक्षी छ। उनले थुप्रैपटक खेल जिताएका छन्, खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका छन्। सन्दीपको अनुभव र उनको क्षमता: सायद मै हुँ भन्ने विपक्षीले पनि नेपाली टिममा सबैभन्दा बढी थ्रेट महसुस गर्छन्।
अब यो घटना किन सामान्य छैन ? त्यसबारे कुरा गरौँ।
नेपालले पहिलोपटक टेस्ट टिमसँग वाइल्याटरल सिरिज खेलिरहेको छ। एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको झन्डै ७ वर्षपछि पहिलोपटक नेपालले टेस्ट टिमसँग बाइल्याटरल सिरिज खेलिरहेको छ।
अझ भनौँ नेपालसँग बाइल्याटरल सिरिज खेल्न बल्ल बल्ल टेस्ट टिम तयार भएका छन्। टेस्ट टिमलाई आफ्नो पावर देखाउने यो गतिलो अवसर थियो नेपालसँग। कुनै विवाद छैन- त्यसका लागि सन्दीप सबैभन्दा भरपर्दा हतियार थिए।
यूएईको शारजहामा खेल भइरहे पनि नेपालले यो शृंखला आयोजना गरिरहेको छ। सायद नेपालमा पर्याप्त पूर्वाधारको अभाव भएर वेस्ट इन्डिज शारजहामा आएर खेल्न तयार भएको हो। नेपालले यो शृंखलाका लागि १६ जना खेलाडी लगेको थियो। सामान्यतया आईसिसीका प्रतियोगितामा १५ सदस्यीय राष्ट्रिय टोली हुन्छ। नेपालले यो शृंखलापछि विश्वकप छनोट खेल्दै छ- त्यहाँ नेपाली टोलीमा १५ जना खेलाडी हुनेछन्।
सन्दीप वेस्ट इन्डिजसँग खेल्न कति एक्साइटेड थिए भन्ने उनका पछिल्ला भिडियो र पोस्टहरुबाट थाहा पाउन सकिन्छ। उनले बनाएको भ्लग र शृंखलाको पहिलो खेल हुनुभन्दा अघिल्लो दिन सेप्टेम्बर २६ तारिखमा उनले फेसबुकमा राखेको पोस्ट हेर्दा कतैपनि लाग्दैन- सन्दीप खेल्नै नसक्ने कुनै समस्यामा छन् ?
कल्पना पनि गर्न सक्ने अवस्था थिएन की सन्दीपले वेस्ट इन्डिजविरुद्ध खेल्ने छैनन्। त्यस्तो कुनै खबर सार्वजनिक भएको थिएन की सन्दीप र क्यानबीच नराम्रो केही भइरहेको छ ? टिमका अन्य सदस्यहरुसँग पनि उनको राम्रै व्यवहार देखिन्छ-भ्लग हेर्दा।
तर सेप्टेम्बर २७ तारिख साँझ नेपाली क्रिकेट समर्थक सरप्राइज भए। किनभने बहुप्रतिक्षित शृंखलाको पहिलो खेलका लागि बुझाइएको नेपाली खेलाडिको लिस्ट हेर्दा प्लेइङ-११ मा त के सब्स्टिच्युटमा पनि सन्दीपको नाम थिएन। १५ जना नेपाली खेलाडीको मात्र नाम त्यस लिस्टमा थियो। सुरुबाट अन्तिमसम्म हेर्दा सन्दीप लामिछानेको नाम देखिएन। कहिले काहीँ कुनै राम्रो खेलाडी फर्म वा स्ट्राटेजीका कारण प्लेइङ-११ मा नपर्न सक्छ। तर सब्स्टिच्युट लिस्टमै नाम नहुनु ? अन्तिम समयमा पक्कै त्यहाँ केही ठुलै भएको थियो।
सन्दीपले वेस्ट इन्डिजसँगको यो ऐतिहासिक शृंखला पुरै नखेल्ने प्रेडिक्सन सुरु भइसकेको थियो। किनभने उनको नाम सब्स्टिच्युट लिस्टमा समेत थिएन। यो सामान्य घटना थिएन। पहिलो खेलपछि नेपाली टोलीका प्रशिक्षक स्टुवार्ट ललाई पत्रकारले सन्दीप किने स्क्वाडमा परेनन् भन्दै प्रश्न गरेका थिए। त्यसमा सन्दीप आफैले खेल्न नचाहेको उनले जवाफ दिए। प्रशिक्षक स्टुवार्ट लको आशय थियो- सन्दीपले व्यक्तिगत कारण देखाएर आफु नखेल्ने निर्णय सुनाए।
तर त्यो व्यक्तिगत कारण के थियो ? के भएको थियो ? सम्बन्धित कसैले केही स्पष्ट पारेका छैनन्। सन्दीप टिममा नपरेको विषयमा कान्तिपुर टिभीले एउटा समाचार तयार गर्यो।
त्यसमा भनिएको थियो- नेपाली टिमको जर्सी प्रायोजक नासा सेक्युरिटिजले आफुसँग बेग्लै सम्झौता गर्नुपर्ने सन्दीपले माग गरेपछि उनी टोलीमा नपरेका हुन्।
तर सन्दीपले यसको चर्को खन्डन गरे। हचुवाका भरमा समाचार लेखिएको गुनासो गरे। त्यसपछि कान्तिपुर टेलिभिजनले समाचारको सत्यता पुष्टी गर्न नसकेको भन्दै माफी माग्यो।
कान्तिपुर टेलिभिजनका मालिक सम्भव सिरोहियाले आफ्नो संस्थाबाट विना प्रमाण समाचार लेखेर गम्भिर गल्ती भएको स्विकार गरे। सन्दीपले गरेको खन्डनमा उनी टिममा नपर्नुको कारण के हो ? खुलाएका छैनन्। तर यत्ति चाहीँ संकेत गरेका छन्- क्यान र उनीबीच केही भइरहेको छ। सन्दीपले क्यानसँगको कुरा आफै सल्ट्याउने भनेकाले हामी त्यस्तो अनुमान गर्न सक्छौँ।
विवाद जस्तो सुकै होस् : पछिल्लो यो घटनाले सन्दीपको करियरमा केही न केही प्रभाव पक्कै पर्ने देखिन्छ।
पहिलो, नेपालले पहिलोपटक टेस्ट टोलीसँग बाइल्याटरल सिरिज खेल्दै पहिलोपटक टेस्ट राष्ट्रलाई हराएको छ। हराएको मात्र होइन, शृंखला नै हात पारेको छ। नेपालले तीनमध्ये सुरुका दुई खेल जितेर एक खेल अगावै यो शृंखला जित्ने पक्का भएको छ।
नेपाली क्रिकेटको यो ऐतिहासिक उपलब्धीको हिस्सा बन्न सन्दीप हकदार थिए। त्यसैका लागि उनी यूएई पनि पुगेका थिए। तर, नेपाली टिमका यी सफलता उनी बाहिर बसेर हेर्नुपर्ने अवस्थामा पुगे। नेपालले दोस्रो खेल सोमबार राती जितेर शृखला हात पारेलगत्तै सन्दीपले सामाजिक सन्जालमा स्टाटस लेख्दै बधाई दिएका थिए।
दोस्रो, सन्दीप लामिछाने विनै नेपालले टेस्ट टोलीलाई हराएको छ। लगातार दुई खेल जितेको छ। अर्थात सन्दीप लामिछाने नभएपनि खेल जित्न सकिन्छ भन्ने विश्वास नेपाली टिमले देखाएको छ। उल्लेखनीय के छ भने जित हात पारेका दुवै खेलमा नेपाली टिमले कसिलो बलिङ गर्यो। ब्याटिङ अलराउन्डर कुशल भुर्तेल र रोहित पौडेलले राम्रो स्पीन फ्याँके। सन्दीप लामिछानेको अभाव महसुस हुन बलरहरुले दिएनन्। यसले सन्दीपको करियरमा के प्रभाव पर्न सक्छ तपाई सहजै अनुमान गर्न सक्नु हुन्छ ?
अँ अर्को कुरा पनि छ, सन्दीप विदेशका व्यावशयीक क्रिकेट प्रतियोगितामा फर्कन संघर्षरत छन्। यस्तो बेला राष्ट्रिय टोलीबाटै नखेलेपछि त्यसले के सन्देश दिन्छ ? पक्कै यसले सन्दीपलाई फाइदा गर्ने छैन। यदी प्रशिक्षक स्टुवार्ट लले भनेको साँचो हो भने नेपाली टिमबाट नखेल्ने अवस्थामा सन्दीप कसरी पुगे ? यसको जवाफ सम्बन्धित पक्षबाट स्वभाविक रुपमा अपेक्षा गर्न सकिन्छ।
वेस्ट इन्डिजसँग टिमसँग हुन लागेको ऐतिहासिक शृंखलामा खेल्न भनेर गएका सन्दीप लामिछानेजस्ता ग्लोबल स्टारले खेल सुरु हुनुभन्दा केही मिनेट वा घण्टा अगाडि म खेल्दिन भन्न पाउने की नपाउने ? त्यसले टिममा कस्तो प्रभाव पार्छ ?
सायद नेपाल क्रिकेट संघले यो विषयलाई सामान्य रुपमा लिने छैन ? हामी अपेक्षा गर्न सक्छौँ ? यस्तै विदेशका थुप्रै लिग खेलिसकेका सन्दीपले आफै टिममा नपरेको वा नपारिएको विषयमा कन्भिन्सिङ कारणहरु बाहिर ल्याउनेछन्। हामी अपेक्षा गर्न सक्छौँ। किनभने कुनै एउटा नाम चलेको खेलाडी बिनै पनि नेपाली क्रिकेट अगाडि बढ्न सक्छ भनेर पछिल्ला खेलहरुले देखाइसकेका छन्। यस्तो अवस्थामा सन्दीपले उनीबाट कुनै गल्ती भएको थिएन भनेर देखाउन सकुन्।
सन्दीपले अम्पायरिङको विषयमा प्रश्न उठाएपछि नेपाल क्रिकेट संघ-क्यानले उनलाई गरेको कारबाही र केही महिना अघि सन्दीपले आफु क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने भनेर गरेको घोषणाको पृष्ठभूमीमा यतिबेला सन्दीप र क्यानबीच नै कुनै विवाद भएको हो की भन्ने खालका आशंकाहरु भइरहेका छन्। यसमा आधिकारिक कुराहरु बाहिर नआएकाले यो घटना यतिबेला आशंकामै सिमित छ। सायद चाँडै सत्यतथ्य बाहिर आउने छ।



