काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक शक्तिहरुबीच गठबन्धन भइरहेका बेला जेनजीहरुको एउटा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपालाई समर्थन गर्ने संकेत गरेको छ।
मिराज ढुंगाना, सुदन गुरुङ, प्रवेश दाहाललगायतको जेनजी समूह रास्वपासँग छलफलमा रहेको र छलफल सकारात्मक रहेको देखिने गरि तस्विरहरु सार्वजनिक भइरहेका छन्।

दुई दिनयता मिराज ढुंगानाको फ्यान पेजबाट सार्वजनिक भइरहेका तस्विरले राजनीतिक वृत्तमा तहल्का मच्चाएको छ। यही फ्यान पेजबाट मिराजले आफ्ना गतिविधिहरु सार्वजनिक गर्ने गरेको र उनका अन्य पेज नदेखिएकाले यसलाई आधिकारिक मान्न सकिन्छ।
हालै मात्र रास्वपाले विवेक शिल साझा पार्टीसँग एकता गरेको थियो। अन्य राजनीतिक शक्तिसँग गठबन्धन, एकता र सहकार्यका लागि रास्वपाले समिती नै बनाएर काम गरिरहेको छ।
यस्तो अवस्थामा आफुहरुलाई जेनजीको नेता दावी गर्ने सुदन गुरुङ, मिराज ढुंगाना, प्रवेश दाहालगायतले रास्वपा ब्यानरलाई पृष्ठभूमीमा राखिएका तस्विरहरु सार्वजनिक भएका छन्। सार्वजनिक एक तस्विरमा प्रवेश दाहालले रास्वपा चुनाव चिन्ह घण्टी हल्लाइरहेको देखिन्छ।
यस विषयमा कुरा गर्न खोज्दा सुदन, मिराज र प्रवेश तीनै जना सम्पर्कमा आउन चाहेनन्। तस्विरहरु फोटोसपबाट बनाइएका हुन् या वास्तविक हुन् त्यो पनि स्पष्ट छैन। तर मिराज ढुंगानाको फ्यान पेजमा राखिएकाले यसलाई अर्थपूर्ण रुपमा बुझ्न सकिन्छ।



