काठमाडौं। एमाले, कांग्रेस, माओवादी अझ भनौँ केपी ओली, शेरबहादुर देउवा, प्रचण्डलगायत नेताहरुको ध्यान तानिने गरी बिहीबार नेपालमा राजनीतिक गतिविधि देखियो र सम्भवत यसले आगामी दिनमा ठुलो अर्थ राख्ने छ।
खासगरी ओली, प्रचण्ड र देउवाको मनमा ढ्यांग्रो ठोकिन थालेको अनुमान गर्न सकिन्छ। हो, थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई जेनजी अगुवा सुदन गुरुङले भेट्न गएको र त्यसपछि उनले दिएका प्रतिक्रियाले नेपाली राजनीतिमा राम्रै छाल ल्याउने देखिन्छ। सुरुमा यो भेट किन महत्वपूर्ण छ, त्यो बुझौँ।

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरु तयारीमा जुटिसकेका छन्। चुनावमा आफु कसरी बलियो हुनेदेखि कसरी अस्तित्व जोगाउने ? तयारी बढ्दै गएको छ।
त्यसै कारण पछिल्लो समय दलहरुबीच एकिकरण र एकता भइरहेको छ। धेरै दलहरु मिलिरहेका छन्। दलहरु मिल्दा जनमत ठुलो हुने र चुनाव जित्न सजिलो हुने विश्वास उनिहरुको छ। यतिबेला अन्य पार्टीसँग नमिलेका ठुला पार्टी भनेका कांग्रेस र एमाले मात्र हुन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तत्कालिन प्रतिनिधि सभाका यी प्रमुख ठुला दुई दल सत्तामा थिए। ठुला पार्टीका ठुला नेताहरुले दशकौँदेखि सत्तामा रहँदा पनि देशलाई निकाश दिन नसकेको भन्दै उनिहरुलाई विदा गर्नुपर्ने संकेत जेनजीहरुको थियो।
उनिहरु र उनिहरुसँग जोडिने व्यक्तिमाथी भष्टचारको अनुसन्धान हुनुपर्ने माग त छँदै थियो। जेनजी आन्दोलनपछि प्रमुख दलहरुभित्र पुराना नेताहरु विदा हुनुपर्ने माग चर्को बन्यो। नेपाली कांग्रेसमा देउवा र तत्कालिन माओवादी केन्द्रमा प्रचण्डले अब नेतृत्व छाड्ने पनि बताए। पुराना नेताहरुलाई नेतृत्वबाट विदा नगरेसम्म चुनाव जित्न गाह्रो हुने कांग्रेस, माओवादी र एमालेभित्र रहेका एउटा ठुलो समूहको बुझाई छ।
हाम्रो शाशन प्रणालीमा सत्ता चलाउन कम्तिमा चुनावमा भाग लिनुपर्छ। चुनावमा भाग लिएर मात्र हुँदैन, प्रतिनिधि सभामा कम्तिमा ५१ प्रतिशत सिट जित्ने अर्थात एक सय ३८ सिट जिते मात्र त्यसले एक्लै सरकार बनाउन पाउँछ।
जेनजीहरु भदौ २३ र २४ गतेको आन्दोलन ०८४ मा हुने चुनाव ०८२ मा गर्नका लागि मात्र नभएको बताइरहेका छन्। सबै भ्रष्टचारको अनुसन्धान हुनुपर्ने, शुशासन कायम हुनुपर्ने उनिहरुको माग छ। जेनजी आन्दोलन भइरहेका बेला तत्कालिन प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएका थिए। त्यसपछि जेनजीहरुलाई सरकार बनाउन आह्वान गरियो।
उनिहरुले पूर्व प्रधान न्यायधिश शुसिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाए। यो सरकारको ३/४ वटा काम स्पष्ट थिए। पहिलो, भदौ २३ र २४ का दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने। दोस्रो भष्ट्रचारको अनुसन्धान गर्ने र तेस्रो प्रतिनिधि सभा निर्वाचन गर्ने।
यतिबेला जेनजीहरु अन्तरिम सरकार चुनाव गराउन मात्र केन्द्रित भएको भन्दै सरकारलाई गाली गरिरहेका छन्। जेनजी आन्दोलनका आन्दोलनकारीलाई पक्राउ गरेको तर गोली चलाएर जनताको ज्यान लिनेलाई वेवास्था गरिरहेको भन्दै सरकारले उल्टो बाटो हिँडिरहेको बताइरहेका छन्। त्यही कारण सुदन गुरुङ लगायत केही जेनजीहरु अहिलेकै अवस्थामा चुनाव हुन नदिने धम्की दिँदै आएका थिए।
सुदन गुरुङका पछिल्ला गतिविधिले भने उनि नरम बन्दै गएको संकेत गरेको छ। चुनावले मात्र देशलाई राजनीतिक निकाश दिन सक्ने र जनताका मागहरुलाई प्रतिनिधि सभामा पुगेर संबोधन गर्न सकिने रक्षा बमलगायत केही जेनजीहरु पहल्यैदेखि बताउँदै आएका थिए। सायद चुनावको विकल्प नभएको र चुनावको परिणामले थुप्रै मागहरुलाई संबोधन गर्न सकिने बुझाई जेनजीहरुबीच बढेको यतिबेला अनुमान गर्न सकिन्छ।
एक दुई जनाले चुनाव जितेर हुन्न, सरकार बनाउन कम्तिमा १ सय ३८ जनाले जित्नुपर्छ- सायद यो सबैले बुझेका छन्। पुराना पार्टीलाई त त्यो सजिलो छैन भने नयाँ पार्टीलाई कति गाह्रो छ त्यो सहजै अनुमान गर्न सकिन्छ।
त्यसैले यतिबेला पुराना दलहरुबाट देशले निकाश पाउन नसक्ने भन्दै बैकल्पिक शक्तिहरु एक ठाउँमा आउन थालेका छन्। पछिल्ला राजनीतिक गतिविधिले वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा आउन सक्ने र चुनावमा ठुला दललाई काउन्टर दिन सक्ने अनुमान गर्न सकिन्छ।
गत चुनावमा २१ सिट जितेर तहल्का मच्चाएको रास्वपाले वैकल्पिक राजनीतिक शक्तिहरुसँग एकताका लागि समिति नै बनाएर काम गरिरहेको छ। केही दिन अघि मात्र उसले विवेक शिल साझा पार्टीसँग एकता गरेको थियो। यतिबेला कुलमान घिसिङ, बालेन र केही जेनजी अगुवाहरुले कसलाई समर्थन गर्छन् बढो चासोपूर्वक हेरिँदै आएको थियो। किनभने जेनजी आन्दोलनपछि यी नामहरुको पक्षमा नाराबाजी हुँदै आएको छ। आन्दोलनको म्यान्डेटलाई उनिहरुले संबोधन गर्न सक्ने अपेक्षा भइरहेको छ।
यसबीचमा कुलमान घिसिङको अगुवाईमा उज्यालो नेपाल भन्ने पार्टी दर्ता भइसकेको छ। उनले केहि दिन अघि बालेनसँग भेटेका पनि थिए र आफुलाई उनको समर्थन भएको बताउँदै आएका छन्। बालेनले आफु पार्टी खोल्ने घोषणा गरेका छैनन्।
उनी त्यसतर्फ इच्छुक नभएको पनि उनका निकटहरु बताउँछन्। यसबीचमा कुलमान र रविको पार्टी मिलेको अवस्थामा बालेन समर्थन गर्न तयार भएको भन्ने खालका पनि समाचारहरु आइरहेका छन्। यस विषयमा बालेन पक्षले औपचारिक रुपमा केही बताएको छैन। तर केही दिनयता जेनजी अगुवा मिराज ढुंगानाको फ्यान पेजमा आइरहेका तस्विरहरुले मुख्य जेनजी अगुवाहरुले रविको पार्टीलाई समर्थन गर्ने संकेत गरिरहेको थियो। रास्वपाको झन्डालाई पृष्ठभूमीमा राखिएका ती तस्विरहरुमा मिराज, सुदन,प्रवेश दाहालजस्ता जेनजी अगुवाहरुलाई देख्न सकिन्छ।
ती तस्विरहरु फोटोसप गरेर बनाइएका हुन् भनेर भन्न सकिने थुप्रै आधारहरु छन्। तर मिराज ढुंगानाले आफ्ना कुराहरु यही फ्यान पेजहरुमार्फत बाहिर ल्याइरहेकाले उनले किन त्यसो गरे त्यो अर्थपूर्ण थियो।
यही पृष्ठभूमीमा बिहीबार दिउँसो सुदन गुरुङले फेसबुकमार्फत आफु रवि लामिछानेलाई भेट्न जान लागेको बताएका थिए। त्यति मात्र होइन उनले कुलमान घिसिङ र बालेनबीच एकता भएको पनि उल्लेख गरेका थिए। चुनावका लागि रवि लामिछाने, कुलमान घिसिङ र बालेनलाई एक ठाउँमा ल्याउने आफ्नो जिम्मेवारी भए जसरी उनले त्यहाँ लेखेका छन्।
रवि लामिछानेलाई भेटेर बाहिर निस्किएपछि उनले मुख्यतया दुईवटा कुराहरु राखे। पहिलो प्रमुख दलहरुले रवि लामिछानेलाई षड्यन्त्र गरेर जेल पठाएका हुन्। राम्रो गर्न खोज्नेलाई त्यस्तै हुने गरेको भन्दै उनले अहिले रविपछिको टार्गेटमा आफु रहेको पनि भन्ने भ्याए।
दोस्रो चाहीँ जेनजीहरुले उठाएका मागलाई अब रास्वपाले आफ्नो एजेन्डा बनाउने छ- रवि लामिछानेले त्यसो भनेको भन्दै सुदनले बाहिर आएर सुनाए। सुदनले रविलाई भेट्न जानुअघि सामाजिक सन्जालमा लेखेको कुरा र उनलाई भेटेर निस्किएपछि बाहिर आएर बताएका विषयले यतिबेला वैकल्पिक राजनीतिक शक्तिका रुपमा रवि, कुलमान, बालेन एक ठाउँमा आउन सक्ने बलियो संकेत गरेको छ। त्यस्तो शक्ति जसलाई जेनजी आन्दोलनपछि सबैभन्दा बढि चर्चामा रहेका जेनजी अगुवाहरुको समर्थन रहने छ। अब यो एकता कसरी अगाडि बढ्छ वा बढ्दैन, नेपाली राजनीतिमा आगामी दिनमा निकै चासोपूर्वक हेरिने छ।



