काठमाडौं। ललितपुरको लुभुमा एकै समूहले एक दिनको अन्तरमा दुई जनाको हत्या गरेको प्रहरीले दावी गरेको छ। सिन्धुलीका २५ वर्षीय केशवराज हायु र भोजपुरका २२ वर्षीय पारुहाङ राईको हत्या भएको हो।
हायु र राई साथी हुन्। उनिहरु लुभुमा जग्गा भाडामा लिएर कृषी फार्म गरि नजिकै बस्दै आएका थिए। उनिहरुको हत्याको आरोपमा सिन्धुलीका देवराज ढुंगेलसहित दुई जना पक्राउ परेका छन्। ढुंगेल घटनाको योजनाकार भएको प्रहरीको दावी छ।

हायु मंसिर २४ साँझ र पारुहाङ मंसिर २५ साँझदेखि बेपत्ता भएका थिए। हायुको शव पुस २ गते उनकै फार्ममा रहेको इनारभित्र भेटिएको थियो। राईको शव शनिबार राती भेटिएको हो। पक्राउ परेका ढुंगेल हायुका ज्वाई हुन्। केही समय अघिसम्म ढुंगेल कृषी फार्ममा हायुका पार्टनर पनि थिए।
हायुसँग रहेको १३ लाख रुपैयाँ का लागि उनले मंसिर २४ गते लाकुरी भन्ज्याङको जंगलमा लगेर उनको हत्या गरेको प्रहरीले दावी गरेको छ। भोलिपल्ट राईलाई पनि त्यसैगरी लाकुरी भन्ज्याङमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ। राईलाई पनि पैसाकै लागि उनको हत्या गरेको दावी गरिएको छ।
राईसँग पनि नजिकको सम्बन्धमा रहेका ढुंगेललाई प्रहरीलाई अनुसन्धान गरिरहेको थियो। ढुंगेलले पारुहाङले हत्या गरेको र भागेको बयान दिएका थिए। अर्का एक व्यक्ती पक्राउ परेपछि पारुहाङको हत्या पनि उनिहरुले गरेको खुलेको हो।



