काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार दिएको अभिव्यक्तीका कारण शेयर बजारमा प्रभाव देखिएको छ।
उनले नेपाल आर्थिक पत्रकार समाज-सेजनका प्रतिनिधिसँग कुराकानी गर्दै हरेक दिन पहिरो गइरहेको सेयर बजारका विषयमा सम्बोधन गरेका थिए। सेयर बजारका लगानीकर्ता नयाँ सरकारदेखि डराएको भनि उनीसँग जिज्ञासा राखिएको थियो।

अर्थमन्त्रीले लगानीकर्तासँग ‘सम्पत्ति कहाँबाट ल्यायौ’ भनेर सोध्ने अवस्था नरहेको बताएका थिए। सरकारले कसैलाई धरपकड गर्ने नीति नलिएको स्पष्ट पारेका थिए।
‘यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने मात्रै विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ नत्र साधारण लगानीकर्ता प्यानिक हुनु आवश्यक छैन’, उनले भने, ‘ ‘शेयर बजारमा त्रास फैलाउने काम भएको छ, तर सरकारले कुनै धरपकड अभियान चलाएको होइन। साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन।’
सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको बताउँदै उनले शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको बताए । ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्योरबेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ’, उनले भने। शेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिँदै प्रधानमन्त्रीले अन्य क्षेत्रमा पनि यस्तै पारदर्शी बनाउने खोजेको उनले बताए ।
‘अहिले बजार घटेको अवस्थामा अत्तालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन’ , उनले भने। अर्थमन्त्री वाग्लेले सरकारले २६५ साता काम गर्न बाँकी रहेको बताउँदै एक साताको काम हेरेर नै धारणा बनाउन नहुने बताए।
नेपालको अर्थतन्त्र अगाडि बढाउन ग्रे लिस्टबाट निस्कनु प्रमुख रहेको बताउँदै लगानीको वातावरण बनाउन पनि सम्पत्ति शुद्धिकरणसम्बन्धी केसहरुलाई कडाईका साथ लागू गर्नु आवश्यक रहेको छ । उनले अगाडि भने, ‘ह्वाइट कल क्राइमलाई आर्थिक जरिवाना नै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन। हामी खुलाबजार अर्थनीति मान्छौ। त्यो भनेको छाडा अर्थतन्त्र होइन।’


