काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको नाफा झन्डै २० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा उल्लेख्य वृद्धी भएको छ। बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा १९.३७ प्रतिशतले बढी अर्थात ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी नाफा वृद्धी हुनुको पछाडि बैंकको खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेको बताइएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ।


