काठमाडौं। चालु आर्थिक वर्षको सुरुको ९ महिनामा नेपालको वैदेशिक ब्यापार १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबर रहेको छ। भन्सार विभागले चैतसम्मको तथ्यांक सार्वजनिक गरेको छ।
चैत मसान्तसम्म निर्यात १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा अघिल्लो वर्ष १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ रहेको थियो।

९ महिनामा कुल १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँको वस्तु आयात भएको छ। त्यसमा २ खर्ब ८६ अर्ब ५४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ र ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ। यस्तै, सवारी साधनको क्षेत्रमा विद्युतीय सवारी र तिनका पार्टपूर्जाहरूको आयात ८३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
सवारी साधनको आयातबाट मात्रै सरकारले यस अवधिमा ६४ अर्ब २७ करोड ५८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको सुरुको ९ महिनामा कुल वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.०४ प्रतिशतको वृद्धि हो।


