काठमाडौं। विश्वकप लिग-२ मा नेपालले ८ औँ जित हात पारेको छ।
घरेलु मैदानमा भइरहेको शृंखलाअन्तर्गत शुक्रबार नेपालले यूएईमाथी ६ रनको जित हात पार्यो। पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन जोडेको थियो। दीपेन्द्रसिंह ऐरीले एक सय रन जोडे। विनोद भण्डारीले ४६ र गुल्सन झाले ४४ रन जोडे। यस्तै रोहित पौडेलले पनि ३९ रन जोडे।

यूएईले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो। त्यसपछि १४६-२ को स्थितीमा रहेको यूएई एकाएक १६८-६ स्थितीमा पुगेको थियो। त्यसपछि यूएईले सातौँ विकेटका लागि ७६ रनको साझेदारी गर्यो। आठौँ नम्बरमा ब्याटिङमा आएका खुजैमा तनविरले ४९ रन जोडे। यूएईलाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो जतिबेला सातौँ विकेटका लागि बलियो साझेदारी भएर ब्याट्सम्यान सेट थिए। तर नन्दन यादबले शानदार बलिङ गरे।
नेपालका सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र नन्दन यादबले २/२ विकेट लिए। नेपालले २३ खेलबाट १७ अंक जोडेर सातौँ स्थानमा छ। यो शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई नै हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजय ब्यहोरेको थियो। नेपालले अब ओमानसँग खेल्ने छ।

