काठमाडौं। नेपालले विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा शीर्षस्थानको स्कटल्यान्डलाई ६ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९४ रन जोडेको थियो।
कुनै समय ७१-१ अवस्थामा देखिएको स्कटल्यान्डले अन्तिम ५ विकेट १९ रनमा गुमाएको थियो। नेपालका ललितनारायण राजबंशीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए।

नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ७४ रन जोडे। इसान पाण्डेले ५५ रन बनाए। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रन जोडेका थिए।
यो जितपछि नेपाल अंक तालिकाको पाचौँ स्थानमा उक्लिएको छ। नेपालको २७ खेलबाट २२ अंक रहेको छ। २८ खेल खेलेर २२ अंक भएको नामिबिया र २४ खेल खेलेर २१ अंक भएको क्यानडालाई नेपालले उछिनेको हो।

