काठमाडौं। यतिबेला अर्थमन्त्री डा.स्वर्णिम वाग्ले निकै विवादमा छन्। कर बढ्ने सूचना चुहाएको र आर्थिक विधेयक पेश गरेपछि गोप्य रुपमा करका दररेट तलमाथी गरेको आरोप उनीमाथी संसदमा विपक्षीहरुले लगाइरहेका छन्।
अर्थमन्त्रीमाथी संसदीय छानबिन हुनुपर्ने माग उनिहरुको छ। यता अर्थमन्त्री वाग्ले आफुमाथी जबर्जस्ती आरोप लगाइएको भन्दै प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्।

दुई दिन अघि उनले संसदीय समितीमा पुगेर भने : प्रधानमन्त्रीज्यू र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ। नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ ।
बिहीबार अर्को संसदीय समितिमा पुगेर उनले भने, ‘ दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु। यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?
बिहीबारकै प्रतिनिधि सभा बैठकमा भने उनले विपक्षीहरुमाथी थर्काउने भाषा प्रयोग गरे। उनले भने’, अहिलेको बहुचर्चित विषय– स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने खालका कुरा पनि सुनिए। सांसदहरूले आफ्नो गरिमा आफैँ राख्नुपर्छ। हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौँ र? सक्दैनौँ। मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशङ्का इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्।’
विपक्षीहरुले वाग्लेमाथी छानबिन हुनुपर्ने माग छाडेका छैनन्।


