काठमाडौं। घरेलु टोली अमेरिकाले विश्वकप फुटबलमा शनदार सुरुवात गरेको छ। शनिबार बिहान भएको खेलमा पाराग्वेलाई अमेरिकाले ४-१ गोलले हरायो। घरेलु टोलीका फोलारिन बालोगनले दुई गोल गरे। २४ वर्षीय स्ट्राइकर बालोगनको शानदार प्रदर्शनपछि अमेरिका पहिलो हाफमै ३-० गोलले अगाडि बढेको थियो।
अग्रता भने पाराग्वेको आत्मघाती गोलबाट भएको थियो। सातौँ मिनेटमा मिडफिल्डर डामियान बोबाडिल्लाको प्रहार आफ्नै पोस्टमा छिरेका थिए। उनी यो विश्वकपमा आत्मघाती गोल गर्ने पहिलो फुटबलर बनेका छन्।

बालोगनले ३१ औँ मिनेट र इन्जुरी समयमा गोल गरे। दोस्रो हाफमा पाराग्वेले एक गोल फर्काएको थियो। खेल सकिन लाग्दा अमेरिकाले चौथो गोल पनि थपेको थियो जियोभानी रेनामार्फत।
बालोगन इङ्लिस क्लब आर्सनलका एकेडेमी उत्पादन हुन्। उनी ३ वर्ष आर्सनलको सिनियर टोलीमा रहेर सन् २०२३ मा फ्रान्सको मोनाकोमा आबद्ध भएका थिए र अहिले पनि सोही फ्रेन्च क्लबका लागि खेलिरहेका छन्।
बालोगनले तीन वर्ष अघि अमेरिकाको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए र यसबीचमा १० सिनियर अन्तर्राष्ट्रिय गोल गरेका छन् २८ खेलमा। उनी नाइजेरियन मुलका हुन्।
त्यसअघि शनिबार राती भएको खेलमा क्यानडा र बोस्निया हर्जगोभिनाबीच १-१ गोलको बराबरी भयो।


