कुनै समय अनायासै सोधिएको प्रश्न थियो : यसपटक विश्वकप फुटबल कसले जित्ला ?
त्यसको उत्तर पनि अनायासै निस्कियो- अर्जेन्टिना
त्यतिबेला मेसी भन्ने नामसँग खास परिचय थिएन। अर्जेन्टिना कस्तो टिम हो भन्ने पनि स्पष्ट थाहा थिएन। तर मनमा एउटा मात्र आधार थियो-आफ्नो नामको पहिलो अक्षरसँग मिल्दोजुल्दो देशको नाम। अहिले फर्किएर हेर्दा त्यो चयन कुनै तर्कभन्दा बढी संयोग र भावनात्मक आकर्षण थियो— एक किसिमको ‘अक्षर – आधारित फेभोरिटिज्म’।

त्यसपछि कथा केवल खेल हेर्नेमा सीमित रहेन। विश्वकप सुरु भएसँगै जर्सी खरिद गर्नुपर्ने सामाजिक दबाबजस्तै अवस्था बन्यो। समर्थकको पहिचान टिमसँग गाँसियो। जर्सी नलगाउँदा समर्थक नमानिने, लगाउँदा पहिचान स्थापित हुने अजीब वातावरण निर्माण भयो।
खेल केवल खेल रहेन। नेपालकै राजनीतिक संस्कृतिजस्तै ‘कित्ताकाट’ सुरु भयो— को कुन देशको समर्थक, को कसको विरोधी। दैनिक जीवनका सामान्य वस्तुहरू समेत फुटबल समर्थनसँग जोडिन थाले— कुनै उत्पादन वा ब्रान्डजस्तै समर्थन पनि ध्रुवीकृत हुन पुग्यो।
खेल हेर्ने दिनहरू नयाँ तालिकामा बाँधिन थाले। अर्जेन्टिनाको खेल छ भने रात चाँडै सुत्ने अभ्यास सुरु भयो। जित्दा उत्सव, हार्दा मौनता। ब्राजिलजस्ता प्रतिस्पर्धी टिमका समर्थकसँग आमनेसामने हुनसमेत अप्ठ्यारो लाग्ने अवस्था। प्रत्येक खेलपछि मनोवैज्ञानिक उतारचढाव नियमितजस्तै भयो।
चार वर्षको अन्तरालमा फेरि अर्को विश्वकप आयो। आशा पुनः नवीकरण भयो। तर अनुभव थप परिपक्व हुँदै गयो। यसबीच समर्थकको भावना पनि बदलिँदै गयो— टिमभन्दा बढी खेलाडीप्रतिको आकर्षण बढ्दै गयो। मेसी केवल खेलाडी रहेनन्, एउटा भावनात्मक प्रतीक बने।
उनको खेल शैलीमा देखिने सरलता, आत्मकेन्द्रित नभएको पासिङ र अवसर सिर्जना गर्ने क्षमताले उनलाई विशेष बनायो। यिनै विशेषताले समर्थकको अपेक्षा पनि विस्तारै व्यक्तिगत देशभन्दा माथि उठाएर व्यक्तिपरक खेलप्रेमतर्फ मोड्यो।
त्यसपछि आयो निर्णायक क्षण— फाइनल। खेलको सुरुआतमा अर्जेन्टिनाले अग्रता लियो। खेल एकपक्षीयजस्तो देखिन थाल्यो। तर फुटबलको वास्तविकता त्यही होइन। खेलले निरन्तर मोड लियो— बराबरी, पुनः अग्रता, फेरि तनाव।
अन्तिम क्षणहरू भावनात्मक रूपमा अत्यन्तै तनावपूर्ण बने। समय थपियो, गोलहरू फेरि फेरि बदलिए। पेनाल्टीसम्म पुगेको खेलले समर्थकलाई चरम मानसिक दबाबमा पुर्यायो। अन्ततः पेनाल्टी सुटआउटमार्फत नतिजा आयो। अर्जेन्टिनाले उपाधि जित्यो।
त्यही क्षण, वर्षौंदेखि बनेको प्रतीक्षा, आशा र निराशाको अन्त्य भयो। मेसीले विश्वकप ट्रफी उठाएको दृश्य केवल खेलको विजय थिएन, लामो यात्राको भावनात्मक निष्कर्ष थियो। समर्थकका लागि त्यो क्षण व्यक्तिगत उपलब्धिजस्तै महसुस भयो।
तर यही अनुभवले अर्को निष्कर्ष पनि दियो— अति भावनात्मक लगाव सधैं सरल हुँदैन। जितको उत्सव जति गहिरो हुन्छ, हारको पीडा पनि त्यत्तिकै तीव्र हुन्छ। त्यसैले समयसँगै एउटा बुझाइ विकसित भयो— अन्धभक्त समर्थक होइन, सन्तुलित शुभचिन्तक हुनु नै उचित हुन्छ।
अब फुटबल केवल एउटा टिमको जीत–हार होइन, सबै टिम, सबै खेलाडी र सबै रंगहरूको साझा सौन्दर्यजस्तै लाग्न थालेको छ। जीवनका अन्य पक्षझैँ खेलमा पनि विविधताको महत्व उत्तिकै हुन्छ।
अन्ततः, फुटबलले सिकाएको एउटा पाठ स्पष्ट छ— समर्थन गर्नु ठीक हो, तर अरूको अस्तित्वलाई अस्वीकार गरेर होइन, स्वीकार गरेर। यही सन्तुलनमै खेलको वास्तविक आनन्द लुकेको हुन्छ। (लेखक : अच्युत पन्त )


