काठमाडौं : भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले विस्तृत स्वास्थ्य आवश्यकता तथा पुनःस्थापना मूल्याङ्कन गर्ने भएको छ।
मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँगको सहकार्यमा गर्न लागेको मूल्याङ्कनले बाढी प्रभावित समुदाय, विशेषगरी जोखिममा रहेका तथा संवेदनशील समुदायको स्वास्थ्य आवश्यकताको विस्तृत अध्ययन गर्नेछ।
मूल्याङ्कनका क्रममा प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य संस्थामा पुगेको क्षति, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति अवस्था, रोग निगरानी प्रणाली र आपतकालीन पूर्वतयारीको अवस्थाबारे अध्ययन तथा समीक्षा गरिनेछ।

त्यस्तै, बाढीका कारण स्वास्थ्य सेवा प्रवाहमा परेको असर, प्रभावित स्वास्थ्य संस्थाको अवस्था तथा तत्काल सेवा पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य सामग्री र अन्य स्रोतसाधनको आवश्यकतासमेत पहिचान गरिने मन्त्रालयले जनाएको छ।
मूल्याङ्कनबाट प्राप्त निष्कर्षका आधारमा स्वास्थ्य क्षेत्रको पुनःस्थापना र पुनःनिर्माणका प्राथमिकता निर्धारण गर्नुका साथै भविष्यका विपद्सँग जुध्न सक्ने दीर्घकालीन स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक कार्ययोजना तय गर्न आधार तयार हुनेछ।
मन्त्रालयका अनुसार उक्त मूल्याङ्कनले बाढीबाट तत्काल प्रभावित स्वास्थ्य आवश्यकता मात्र नभई स्वास्थ्य प्रणालीमा देखिएका संरचनागत कमजोरी पहिचान गरी आगामी दिनमा विपद्का समयमा स्वास्थ्य सेवा अझ प्रभावकारी र निरन्तर बनाउन आवश्यक नीति तथा कार्यक्रम निर्माणमा समेत सहयोग पुर्याउनेछ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
काठमाडौं / भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो।
यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।
टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन्।
टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइनेछ।
बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ।


