काठमाडौं। विश्वकप २०२६ अन्तर्गत अहिलेसम्मका खेलहरु हेर्ने हो भने अपेक्षा गरिएका अधिकांश स्टार खेलाडीहरु पहिलो खेलमै चम्किएका छन्।
पछिल्लो समय क्लब फुटबलमा गोल मेसिनको छवी बनाइरहेका फ्रान्सका केलियन एमबाप्पेदेखि नर्वेका एर्लिङ हालान्डसम्म सुरुवाती खेलमै छाएका छन्।

बुधबार बिहान भएका खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले हराउँदा एमबाप्पेले २ गोल गरे। यस्तै नर्वेले इराकलाई ४-१ गोलले पराजित गर्दा हालान्डले पनि २ गोल गरे। यी दुईको प्रदर्शनले विश्वकपलाई तताइरहेका बेला बुधबार नै भएको साविक विजेता अर्जेन्टिना र अल्जेरियाबीचको खेललाई नयाँ उचाई दिएको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले यो खेलमा ह्याट्रिक गरे। उनले गरेका तीनवटा शानदार गोलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोलले हरायो। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो। यस्तै मेस्सीको विश्वकप करियरमा पनि यो पहिलो ह्याट्रिक हो।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आएको गोल संख्या १६ पुर्याए र सर्वकालिन सर्वाधिक गोलकर्ताका रुपमा जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान बराबरी गरे। क्लोसले सन् २०१४ को ब्राजिल विश्वकप दौरान उक्त कीर्तिमान बनाएका थिए। अर्को साता ३९ वर्ष पुरा हुने मेस्सीले ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका छन्। विश्वकपमा यो उनको २७ औँ खेल हो। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलसम्म पुगेर उपाधि भिडन्तमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो। त्यतिबेला उनले सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल जितेका थिए। चार वर्षअघि फाइनलमा फ्रान्सलाई हराएर मेस्सीले विश्वकप उपाधि सपना पुरा गरेका थिए। त्यतिबेला पनि उनले सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल जितेका थिए। प्रतियोगितामा एमबाप्पेले ८ र मेस्सीले ७ गोल गरेका थिए।
यसपटक एमबाप्पे चम्किएकै दिन मेस्सी पनि खह्रो उत्रिएका छन्। एमबाप्पे सन् २०१८ को विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी हुन् भने अघिल्लो विश्वकपका गोल्डेन बुट विजेता हुन्। २८ वर्षपछि विश्वकपमा नर्वे फर्कँदा हालान्डले पनि बुधबार यो प्रतियोगितामा डेब्यु गरे र महत्वपूर्ण दुई गोल पनि गरे। यो प्रतियोगिताका हालसम्मका खेल हेर्दा स्पेनका लेमिन यमाल, ब्राजिलका भिनिसियस जुनियरलगायतबाट मात्र अपेक्षाकृत प्रदर्शन र नतिजा आउन सकेको छैन। केप भर्डेविरुद्ध मंगलबार राती स्पेन खेल्दा यमाललाई दोस्रो हाफमा मात्र मैदान उतारिएको थियो।
यो खेलमा स्पेनले गोल गर्न सकेन। यस्तै ब्राजिलले पनि पहिलो खेल १-१ गोलको बराबरी खेलेको थियो। त्यस खेलमा भिनिसियस जुनियरले गोल गरेपनि जित दिलाउन सकेनन्। यतिबेला ब्राजिल टोलीको पनि आलोचना भइरहेको छ। एकपछि अर्को स्टार खेलाडीको प्रदर्शनपछि यतिबेला पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो दबाबमा परेका छन्। पोर्चुगलले बुधबार राती डीआर कंगोसँग खेल्दै छ। रोनाल्डोले हालसम्म विश्वकप जित्न सकेका छैनन्। उनले विश्वकपमा हालसम्म ८ गोल गरेका छन्।
अघिल्लो विश्वकपका प्रिक्वाटर र क्वाटरफाइनलमा उनलाई तत्कालिन प्रशिक्षक फर्नान्डो सान्तोसले सुरुवाती-११ मा समावेश गरेका थिएनन्। ४१ वर्षीय यी भेट्रान स्ट्राइकर आफ्नो सम्भवत अन्तिम विश्वकपलाई यादगार बनाउन चाह्नछन्। पहिलो खेलबाटै चम्किनु उनका लागि चुनौती हुने छ। रोनाल्डोको पनि यो छैटौँ विश्वकप हुने छ।

