काठमाडौं। विश्वकप फुटबलअन्तर्गत पछिल्ला खेलहरुमा इङ्ल्यान्डले क्रोएसियालाई ४-२ गोलले हराएको छ भने पोर्चुगलः ५२ वर्षपछि विश्वकप खेलिरहेको डीआर कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
इङ्ल्यान्डको जितमा हेरि केनले दुई तथा जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक एक गोल गरे। दुईपटक पछाडि परेको क्रोएसिया २-२ गोलको बराबरीमा पुगेपनि त्यसपछि इङ्ल्यान्डले लगातार दुई गोल थपेको थियो। केनले १२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। मार्टिन बातुरिनाले २६ औँ मिनेटमा क्रोएसियालाई बराबरीमा पुर्याए।

केनले ४२ औँ मिनेटमा पुन अग्रता दिलाए। पिटर मुसाले पहिलो हाफको इन्जुरी समयमै खेल बराबरीमा ल्याए। तर दोस्रो हाफमा इङ्ल्यान्डले दबाब बढायो। बेलिङ्घमले ४७ र रासफोर्डले ८५ औँ मिनेटमा गोल गरेका थिए।
यता पोर्चुगलले करिब ७५ प्रतिशत बल पोसेसन राखेर खेलेपनि कंगोसँग जित हात पार्न सकेन। जोवा नेभेसले पोर्चुगललाई छैटौँ मिनेटमा अग्रता दिलाएका थिए तर पहिलो हाफको इन्जुरी समयमा योवान विस्साले खेल बराबरीमा ल्याएका थिए। पोर्चुगलका कप्तान रोनाल्डोको प्रभाव यो खेलमा देखिएन।
लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डजस्ता खेलाडी चम्किएको दिन रोनाल्डो भने फिक्का भए।




